प्रधानमन्त्री केपी ओलीबाट धरहराको उद्घाटन भएको समचार पढेँ। मन एक सेकेन्डमै खुसी भएर दृष्टी धमिलो हुन भ्यायो। धरहरा शब्द सुन्छुकी म सुजन र सजनीलाई सम्झिन्छु अनि पूरा हुन नपाएको धरहरामाथि उनीहरुको तस्बिर खिचिदिने सपनामा बिलाउँछु।
धरहरा भत्केकै सालदेखि धरहरा बनेको समचारको पर्खाइमा थिएँ। सोही साल प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको दिन स्मृतिमा ताजै छ।
'म बनाउँछु मेरो धरहरा...!'
आवाज कानमा ठोक्कियो भूकम्प गएकै साल। तुरुन्तै भुइँमा विलय भयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दै गर्दा भनेको वचन रहेछ त्यो। कसैले मेरो कानमा सुनाइदिएको थियो।
'अब चाहिँ धरहरा बन्ने भयो,' फुरूंग भयो मन।
मैले अमूर्त सपना देखेँ- धरहरा ठडिएपछि टुप्पोमा पुगेर सुजन र सजनीको तस्बिर खिच्ने।
सपना नै सही, आस्वादित भयो मन।
दराजमा थियो एल्बम। पल्टाउँदै जाँदा भेटेँ, सुजन र सजनीको तस्बिर। मुसुक्क हाँसेर, एकले अर्काको हात समाएको।
आँखा आँसुले भरियो। तस्बिर अगाडि थियो। म अन्धकार देखिरहेको थिएँ, सबैतिर।
'जाडो बिदामा उद्घोषण, फोटोग्राफी लगायतको १५ दिने तालिम गराउँदै छौं, तपाईहरू कोही इच्छुक हुनुहुन्छ भने नाम र नम्बर टिपाउनुहोला।' कुनै पार्टीको दीर्घकालीन कारिन्दा कक्षा अगाडि ठिंग उभिएर जोडजोडले चिच्याइरहेको थियो।
'यो तपाईहरूकै खाली समय सदुपयोग होस् भनेर सञ्चालन गर्न लागेका हौं। नेपालका ख्यातीप्राप्त व्यक्तिहरूले तालिम दिनेछन्,' उसले अझ प्रष्ट्यायो।
आरआर कलेजमा पढाइ कम तालिम, कार्यक्रम, प्रशिक्षण ज्यादा हुन्छन्। कहिले कुन संस्था, कहिले कुन दल, बदलिइरहन्छन् आयोजक। आयोजक बदलिए पनि तिनको लवज र धुन बदलिँदैन।
कुनै महिना केही भएन भने पनि दुई मुक्केबाज संगठन साँढेझैँ जुधेर भए पनि मास आफूतिर आकर्षित गर्छन्।
कक्षामा भरिभराउ विद्यार्थी थिए। शिक्षकले अगाडि आदीम गुरूकुल शैलीमा प्रवचन दिइरहेका हुन्छन्।
पछाडि बस्ने आधुनिक विद्यार्थी फेसबुक वार्तालापमा औँला दौडाइरहेका हुन्छन्। कतिपय लडकालड्की प्रेमलापमा मस्त हुन्छन्।
तालिमको आवाज कक्षाकोठामा गुञ्जिएपछि खैलाबैला किन नहोस्? कोलाहलै भएपनि हामीले तामिलको आवाज टड्कारो सुन्यौँ। हामी मध्यभागतिरको बेन्चतिर हुँदा हौँ। हामी जस्तै अरुहरू पनि धेरैले सुनेँ।
खासमा हामी पत्रकारिताको विद्यार्थी भएकाले तालिम हामीलाई नै केन्द्रित गरेर ल्याइएको बुझ्न कठिन थिएन। दगुर्दै गएर नाम-नम्बर टिपाइहाल्यौँ।
हामी अर्थात् सुजन र म। ऊ र म बच्चैदेखिका मिल्ने साथी। सँगै लड्थ्यौँ। फेरि धुलो टक्टकयाउँदै उठ्थ्यौँ।
एकै महिनामा जन्मिएकाले होला, जुम्ल्याहाजस्तो देखिन्थ्यो जोडा। उमेरमा केही दिनले भाइ म। गाउँमा उसको र मेरो घरको दूरी हामी जन्मिएजत्ति पनि फरक छैन। जम्मा पाँच मिनेटको।
आगो नहुँदा हामी डाडु बोकेर जान्छौँ। रापिलो फिलिङ्गगो ल्याए चुल्हो तताउँछौँ। लोटा बोकेर मोही लिन जान्छौं। मीठो तरकारी पाक्दा कचौरा बोकेर साटसाट गर्छौं।
यति मात्र कहाँ हो र? जसको आमा चाँडो घाँसको भारी लिएर वनबाट फर्कनु हुन्थ्यो। दुवैलाई स्तन चुसाउन भुल्नु हुँदैन्थ्यो। अर्थात्, एउटै लाम्टोबाट पालित-पोषित भयौँ हामी। यस अर्थमा हामी दाजुभाइ पनि हौं।
अनुहार पनि मिल्दोजुल्दो छ। उचाई पनि उत्तिकै छ। एउटै ड्रेस, झोला र कपालको स्टाइल भएको बेलामा त सुजन र मलाई त उस्तै परे छुट्याउन सकिँदैन।
सँगै पढ्यौँ। सँगै काठमाडौँ आयौँ। हाम्रो योजना पनि एउटै छ, मास्टर्ससम्म पढ्ने। विषय पनि एउटै छ, पत्रकारिता। स्नातक पढ्न पत्रकारिता विषयका केन्द्र आरआर नै पुगेका छौँ।
आरआरको गेटबाट बाहिर निस्कन नपाउँदै सुजनले भन्यो, 'खुसीको खबर छ, सुन्छस्?'
'नसुन्ने कुरा हुन्छ, बरू के हो त्यो खुसीको खबर? छिटो भन्!'
'मैले उसको नम्बर ल्याएँ नि?' सुजनले मुस्कान छोड्दै भन्यो, 'बेलुकातिर फोन गर्नपर्छ है। अँ साँच्ची नाम पनि थाहा भयो यार। सजनी आचार्य।'
उसको अनुहारमा फेयर एन्ड लब्लीको चमक आयो। स्वप्निल।
कलेज सुरु गरेको दुई महिना भएको थियो। आरआरमा परीक्षाको अघिल्लो दिनसम्म नयाँ विद्यार्थी कक्षामा आउनुलाई नौलो मानिँदैन। हामीले पनि उसलाई देख्दा कुनै अनौठो त लागेन तर आर्कषित भने भयौँ।
संयोग उस्तै परेछ, सुजनले पनि उसैलाई मन पराएछ। सजनीलाई देख्नासाथ भित्री मनमा काउकुती पैदा भइहाल्थ्यो। आकर्षणको भिन्न रसायन चलायमान भएझैँ प्रतीत हुन्थ्यो।
साँढे चार फिट जतिको उचाई। डिम्पल पर्ने गाला। गहुँगोरो अनुहार। सिल्की कपाल। मिलेको जीउडाल। लजालु आँखा। गाजलु परेला। हिडाँइमा पनि भलाद्मीपन। पढाइमा पनि ठिकै। साँच्चै भन्ने हो भने उनको रुपमा ३१ गुण थियो।
एउटै गुणको कमी थियो, उसँग हामीजस्तो लक्का जवान थिएन। भित्रभित्रै काउकुत्तिन्थेँ म।
सजनी फोटो खिच्न खुब सोखिन। हुन त केटीहरू फोटो खिच्न र खिचाउन माहिर नै हुन्छन्। केटीहरूको पोज झनै गज्जबको हुन्छ। सजनीमा पनि त्यही रहरले फोटोग्राफी तालिमको लागि नाम र नम्बर लेखाएको हुनपर्छ।
चलाखी सुजनले दिलमा सजाउँदै नाम र नम्बरै मुखाग्र पारेछ। यो सुनेपछि मैले अलिकति खल्लो मनले खुसी साटेँ। र भनेँ, ‘सुजन, म आजैदेखि भगवानसँग प्रार्थना गर्छु यार सजनी आचार्यलाई मेरी भाउजू भन्न पाऊँ!'
सुजन र सजनीको पहिलो पटक कुरा भयो, फोनमा। तर सजनीले चिनिनँ। यद्यपि भर्खर कलेज आउन थालेकी सजनीले चिन्न सम्भवै कहाँ थियो र! त्यत्रो भिडमा उसले सुजनको अनुहार नै कसरी ठम्याउन सक्थी।
फेसबुकमा जोडिए कुरा भएकै दिन। एकअर्काले पूराना फोटोहरू खोजी खोजी हेरे। दुवैले एकअर्काको फोटोमा लाइक बटम दबाए। सुजनले सजनीलाई फोटोमा मात्र होइन, वास्तवमै लाइक गर्दथ्यो। फेसबुकमार्फत प्रकट हुनथाल्यो। भर्चुअल नै सही सुजनको माया छताछुल्ल हुन थाल्यो, सजनीको भित्तामा।
तर, सजनीको लाइक भने फोटोमा मात्रै। तैपनि काठमार्डौंकी सजनीलाई ओखलढुंगाको सुजनले पछ्याउन छाडेन। निरन्तर फोन गरिरह्यो। जादुयी आवाजले पछ्याइरह्यो। फेसबुकमा दैनिक एक घण्टा बिताउन नसक्ने सुजनले सजनीसँग जोडिएपछि दिनभर बिताउन पनि सक्ने भयो।
सुजन पनि चल्तीको ‘ह्याण्सम’ नै छ। कलेजमा होस् वा बाहिर, केही केटीहरूले उसलाई पनि कर्के नजर नतेर्स्याएका होइनन्। फेसबुकमा पनि केटीहरूले नम्बर नमागेका होइनन्। वातचितको नहर नपोखेका होइनन्।
'यी हेर्न यसले खुब लाइन मार्छे' फेसबुमा कुनै केटीले नम्बर मागेको साँझ यसै भन्थ्यो, ऊ।
उसको र मेरो बीचमा गोप्य केही थिएन। लुकाउनुपर्ने, छल्नु ढाँट्नु पर्ने।
यसैले फेसबुकमा केही केटीहरूले ‘फलो’ गर्दा पनि उसले वास्ता नगरेको मलाई प्रस्टै थियो। माया कोसँग, कहाँ र कति बेला बस्छ थाहा नहुँदो रहेछ। एकोहोरो मायाप्रीति बसेको डेढ वर्षपछि मात्रै सुजनलाई पछ्याउन थालेकी थिई, सजनीले।
'खुसीको कुरा छ,' मुस्कानको साथ सुजनले त्यो साँझ मलाई भन्यो, 'सजनीले मेरो प्रेम प्रस्ताव स्वीकार गरी।'
सजनीले फेसबुकमार्फत् सुजनलाई म्यासेज लेखेकी थिई। प्रेमको स्वीकृति जनाएकी थिई।
'डेढ वर्षसम्मको संगतले तिमीले साँच्चिकै मलाई माया गर्छौ भन्ने प्रमाणित गर्दछ। तिमीले मलाई हरेक कुरामा साथ दियौ। अब म तिमीलाई साथ दिनेछु। तिम्रो र मेरो साथ यस्तो होस् बाँच्दासँगै बाचौँ र मर्दा पनि सँगै मर्न पाऔँ। किनभने तिमीबिना म अधुरो हुनेछु। सुजन आई लभ यू।'
सुजनले म्यासेज देखाएपछि हामीले निकै खुसी मनायौं। क्याफे गएर सानोतिनो पार्टी नै गर्यौं। तर, त्यो पार्टीमा सजनी थिइन।
सजनी र मेरो चिनाजान पनि बाक्लिइसकेको थियो। खासमा सजनी र सुजनलाई प्रेमजालमा फसाउन मेरो पनि योगदान राम्रै थियो।
मलाई सजनीलाई भाउजू भनेर बोलाउन मन लागिसकेको थियो। खुसीले काउकुती लागे जस्तो भयो। मेरो कुरा भगवानले सुनेछन्, भने जस्तो लाग्यो।
'मैले सुरुको दिनमा सजनीलाई भाउजू भन्न पाऊँ भनेर भगवानसँग प्रार्थना गर्दछु भनेको थिएँ नि! याद छ?'
'यस्तो कुरा पनि भुल्छु त यार। सायद तँ थिइनस् भने सजनी र मेरो प्रेम नझाँगिन पनि सक्थ्यौं होला' सुजन मेरो सहयोगमा कृतज्ञ थियो। नहोस् पनि किन? धेरै पटक उनीहरुको भेटघाटको वातावरण मैले नै मिलाएको थिएँ।
बेलाबेलामा झगडा पर्दा मिलाउने पनि म हुन्थेँ। यति कि, क्याफेमा कफी पिएपछि बिल तिर्न पनि धेरै पटक पुगेको थिएँ म।
'अब साँच्चिकै भाउजू भनेर बोलाउन पाउनेचाहिँ कहिले हो?'
'सजनी मात्रै भएको बेला भाउजू भनेर सम्बोधन गर्दा फरक नपर्ला। सायद तैँले भाउजू भनेर बोलाउँदा रिसाउँदिनन् होला। भाउजू भन्ने बाटो त खुल्यो तर आधिकारिक भने होइन,' सुजनले गम्भीर नै भएर भनेपछि प्रश्नको खास उत्तर खोज्न सोधेँ, 'आधिकारिक कहिले त?'
'थर्ड एअरको एक्जामपछि' सुजनले केही सोचेन। फटाफट उत्तर दियो।
ह्याप्पी बर्थडे टु यू,' सजनी र म क्याफेमा बेस्करी करायौँ। क्याफेमा रहेका अरुहरुको आँखा हामीतिरै बजारिए। सजनीले ल्याएको केकमा लेखिएको थियो, 'ह्याप्पी बर्थ डे माई डियर!'
सजनीले सुजनको कानमा पनि खुसखुसाइन्- 'ह्याप्पी बर्थ डे माई डियर!' मैले पनि उसैगरी सुजनको कानमा खुसखुस गरेँ, 'ह्याप्पी बर्थ डे माई डियर!'
सुजनले केक काट्यो। केकको टुक्रा सजनीलाई खुवाउनुपर्ने मलाई पो खुवायो। मलाई अप्ठ्यारो महशुस भयो। कतै सजनी रिसाइन् कि! झसंग भएँ म।
'हामी दुई त हामी नै भैगयौँ नि! तपाई पो हाम्रो विशेष मान्छे त,' आश्चर्य सजनीमा पनि खुसीको सीमा थिएन।
मुस्कानसहित भनिन्, 'हामी दुवैको साथी!' सायद उनीहरू दुवै जनाको निर्णय मलाई नै पहिला केकबाट स्वादिष्ट तुल्याउने थियो।
सुजनलाई मुखैभरि केक दलिदियौं। सुजनले एक टुक्रा सजनीको निधारमा लगाई दियो।
'बर्थ डे' त तिम्रो हो डियर, मेरो होइन। सजनीले यति भनेपछि सुजनले मुस्कुराउँदै लजाएर भन्यो, 'सिन्दुर सम्झिनु नि!'
बर्थ डे निकै रमाइलो गरी मनायौं।
छुट्ने बेलामा म पनि उत्ताउलिएँ, 'आज त सिन्दुर हालेको दिन, सुहागरात मनाउनु पर्ला नि।'
'सुहागरात मनाइसक्यौँ!' सुजनले झिनो स्वरमा फ्याट्टै बोल्यो।
सजनीले सुजनलाई आँखा तर्दै हेरिन् र लजाउँदै मतिर फर्केर भनिन्, 'त्यो दिन पनि आउला, चाँडै।'
मस्त निन्द्रामा थिएँ। मोबाइलको घण्टी बज्यो। ब्यँझिएर हेरेको सुजनको फोन रहेछ। घडी हेरेको १२ बजेर दुई मिनेट मात्रै गएको छ। अत्तालिँदै फोन उठाएँ। उताबाट आवाज आयो, 'आज सजनीको बर्थ डे हो। विस गर, मैले त गरिसकेँ!'
विस गरेर सुतेँ। सजनीको रिप्लाई आयो, 'थ्याङक्यु सो मच मेरो बाबु!' फेरि अर्को म्यासेज थपियो। यसो हेरेको सजनीकै थियो, 'ह्याभ स्वीट ड्रिम।'
शनिबारको दिन थियो त्यो। वैशाख १२ गते। शनिबार आयो कि खुसी लाग्छ। बिहान उठ्नु पर्दैन। साथीहरुसँग घुम्न जान पाइन्छ। नभए अबेलासम्म ओछ्यानमा पल्टिइरहन।
सात बजेसम्म ओछ्यानमै थिएँ। सुजनको फोन आयो, 'सजनीलाई विस गरिस् त?'
'मैले विस गरेपछि सजनीले मेरो मिठो सपनाको समेत कामना गरिनन् तर यार मैले नमिठो सपना देखेँ,' मैले राति देखेको डर लाग्दो सपना सुनाएँ। सुजन पनि कहालियो। हामीले घरमा पो केही भयो कि भनेर फोन पनि गर्यौँ। सबै ठीकै रहेछ। बेठिक त त्यही सपना थियो।
सपनाको पछाडि दौडनु हुँदैन। सपना त आखिर सपना हो। बरु सजनीलाई कसरी ‘सप्राइज’ दिने भनेर हामी निर्णय गर्नतिर लाग्यौँ।
सजनीको जन्मोत्सव म जानुपर्ने त खास थिएन। सजनी मेरो हुनेवाला भाउजू हो। कक्षाकी सहपाठी पनि। योभन्दा पनि सुजन र म मिल्ने साथी हौँ। फेरि सजनीले मलाई लिएर आउनु भनेको छ रे! यस अर्थमा सुजन र म बसेर निर्णय गर्यौँ- 'बर्थ डे धुमधामले मनाउने। भरसक सप्राइज दिने।'
न्युरोडतिर घुमघाम गर्ने अनि ठमेलको कुनै एउटा क्याफेमा गएर बर्थ डे मनाउने योजना दुवैको सहमतिमा पारित भयो।
चाबहिलमा गएर सजनीलाई निकै बेर कुर्यौं। वैशाखको उखरमाउलो गर्मी थियो। घाममा कुर्दा हामीलाई कम्ता असहज भएको होइन? उनी बल्ल एक घण्टापछि हात हल्लाउँदै आइन् र भनिन्, ‘गाडी नपाएर क्या! समस्या भयो। बालाजुबाट अहिले चावहिलको गाडी पातलो चल्दो रहेछ। ट्याक्सीमै बतासिनुपर्यो।'
कुरा गर्दै हामी न्युरोडतिर लाग्यौँ। नूतन प्रेमजोडी। दुई जनाको बीचमा हिँड्नुपर्दा कता कता असहज हुन्थ्यो, मलाई। कवाबमा हड्डी बनिरहेको त छैन? आफैँलाई प्रश्न गर्थें। तर, मेरो असहजता देखेर उनीहरु सजक थिए।
न्युरोडको गेटमा पुगेपछि धरहरा चढ्ने योजना बनायौँ। यसपछि मेरो दिमागले सजनीलाई धरहरको टुप्पोमा लगेर केही उपहार दिने सोच बनाएँ। त्यो उपहार हुनेवाला भाउजू र अहिले साथीको नाताले अर्पण गर्न चाहन्थेँ, म।
मैले खुसुक्क सुजनलाई भनेँ, 'सजनी भाउजूलाई धरहराको टुप्पोमा लगेर केही उपहार अर्पण गर्न मन लाग्यो। तपाईहरु धरहरा चढ्दै गर्नुस्। म न्युरोडमा पुगेर आउँछु।'
सजनी तीन जनासँगै जाने भन्दै थिइन्। सुजनले र मैले मेरो व्यक्तिगत काम छ भनेर कुरा मिलायौँ। त्यसपछि सजनीले भनिन्, 'तपाई पनि उनीलाई लिएर आउनु नि! एक्लै धरहरा कसरी उक्लनू!'
म मुसुक्क हाँसेर न्युरोडतिर हानिएँ। उनीहरु धरहरा चढ्नतिर लागे।
शनिबारको दिन न्युरोडमा निकै भिडभाड थियो। पाइलो हाल्ने ठाउँ थिएन। रमाइलो पनि उत्तिकै। मलाई त्यो रमाइलोको कुनै प्रभाव थिएन। मेरो शरीर निकै शिथिल छ। विसञ्चो पनि छैन। अलिनो जस्तो। म एक तमासले न्युरोडमा निकैबेर टोल्हाएँ।
एउटा त उपहार के दिने भनेर थियो भने अर्कोचाहिँ मेरो दिमाग नै एकोहोरो जस्तो भएको थियो। शून्यतातिर पो डाहोरिएको थिएँ।
कता कता मैले राति देखेको सपनाले मलाई लाटो बनाएको थियो। बुबा आमाले त्यस्तो सपना देख्यो भने नराम्रो हुन्छ भन्ने सुनेको थियो। मनमा भयको आँधी चलिरहेको आभास हुन्थ्यो।
सुजनको नम्बरबाट फोन आयो। सजनी बोलिन्, 'बाबु छिटो आउनू, हामी धराहरको टुप्पोमा छौँ। हामी दुई जनाको फोटो खिच्न पर्यो हौ।'
सजनीले मलाई छेउमा हुँदा अनुहारमा हेरेर सम्बोधन गर्दथिन् भने फोनमा हुँदा बाबु भनेर बोलाउँथिन्। कक्षामा भने हामी त्यति गफगाफमा अल्मलिँदैनौँ। हामीले नियम जस्तै बनाएका छौँ, कक्षामा रहँदा ध्यान दिएर पढ्छौँ।
सजनीले फोन राखिन्। एक्कासी मेरो मन हल्लिन थाल्यो। जीउ हलिलएको महशुस गरेँ। यसो हेरेको अरु मान्छेहरु पनि लडिबुडी गर्न थाले। घरहरू हल्लिए। कोलाहल मच्चियो। भुइँचालो भनेर सबैजना कराउन थाले। सडकमा मान्छे असरल्ल सामानझैँ थुप्रिए। मान्छेमाथि मान्छे चढ्न थाले।
हल्लिन रोकिने बित्तिकै सुनियो, 'धरहरा ढल्यो!'
धरहरातिर आँखा लगाएँ, धुलोको मुस्लो मडारिइरहेको देखेँ।
त्यही धरहरासँग सजनी र सुजन ढले। मेरो दिमागले केही सोचेन। अर्धचेत भएँ म। होसमा आउँदा धरहरा ठाडो थिएन। धरहराबाट धुलो उडिरहेको थियो माथितिर। त्यही धुलोमा सुजन र सजनीको प्राण पनि उड्दै थियो सायद। कालो धब्बा आएर बस्यो मेरो आँखामा।
सुजन र सजनीलाई चिन्नै सकिनँ धुलोभित्र। कानमा गुन्जिरहेको थियो सजनीको आवाज, 'छिटो आउनु न, हामी दुईको फोटो खिच्नुपर्छ।'