एउटा बगैँचामा एक गुलाफ छे
अचेल डराउँछे त्यो गुलाफ मसँग
मानौँ म त्यो राक्षस हुँ उसका ती पत्रहरु चुडाइलाने
मानौँ उसका काँडाहरुमा फेरि चस्स बिझाइजाने
ऊ सोच्दि हो
मै हुँ त्यो अपराधी जो उसको देह चोरी धुजा धुजा पार्ने
प्रिय गुलाब
म चोर्दिनँ तिम्रो देह
पार्दिनँ म धुजा धुजा
बन्दिनँ म अपराधी
जसरी
तिमी माटोबाट आयौ
म पनि आखिर त्यही माटै त हुँ नि
जसरी तिमीलाई आत्था हुन्छ आफ्नो गुमाउँदा
त्यो आत्था त मलाई पनि हुन्छ नि
एउटा माटोले अर्को माटोलाई चिथोरी निचोरी
लगे त लगे कहाँ?
आखिर हामी सकिने त त्यो माटोमै हो
तर फेरि एक सैतान छ म भित्र जो चाहन्छ
ती पत्रहरु आफ्ना होउन्
ती काँडाहरुमा फेरि पनि ऊ चाहन्छ बिझाइ राख्न
ऊ चाहन्छ निमोठ्न त्यो देह
फेरि पनि पार्न चाहन्छ धुजा धुजा
प्रिय गुलाब
नडराऊ तिमी अब
म बोलाउँछु मेरो ईश्वरलाई
प्रिय गुलाफ
नडराऊ तिमी अब
म बोलाउँछु मेरो ईश्वरलाई
जहाँ छौ टक्क उभिराख
म फकिर हिँड्दछु लुरुलुरु चोरी हिड्छु ती मुस्कानहरु
तर प्रिय गुलाफ याद गर
त्यो मुस्कान न त तिम्रो हो
न त मेरो नै
त्यो मुस्कान शाश्वत हो
त्यो मुस्कान प्रेम हो
त्यो मुस्कान मेरो ईश्वर हो
हो प्रिय गुलाब, यो फकिर हिँड्दछ ईश्वरको खोजिमा
हाँस्दिन्छ ऊ जहाँ भेट्दछ आफ्नो ईश्वर
अब भन प्रिय गुलाब
म आफ्नै ईश्वर कसरी चोरी लानु,
म आफ्नै ईश्वर कसरी भाँचिलानु!