भेरीमा जातको भेलले बगाउनुभन्दा
शरीरलाई तेजाबको रापले जलाउनुभन्दा
न्यायको ढुंगा कसैले त न्यायलयबाट झारोस्
मर्नु नै अन्तिम अस्त्र हो भने बरु कोरोनाले नि मारोस्।
जोगीलाई शुलीमा चढाउने पापीहरु
अपराधीलाई फुली बढाउने पाजीहरू
फलेको फल नपाकी बतासले झार्छ भने झारोस्
तड्पिएर घरि घरि बाच्नुभन्दा बरु कोरोनाले नि मारोस्
निर्मलालाई उखु घारीमा चिथोर्नेहरु
भागरथीलाई अक्करे भिरबाट धक्लनेहरू
तिम्रो अपराधलाई कसैले त पासोमा पारोस्
यसो गरे नि मर्नू, उसो गरे नि मर्नू, बरु कोरोनाले नि मारोस्।
धरहराको टुप्पोबाट त सब समान देखिन्छ
एकपटक भुइँबाट त हेर असमानता कति छ
यस्ता विभेदीलाई त कसैले सिँडीबाट झारोस्
हेपिएर, थिचिएर बाच्नुभन्दा बरु कोरोनाले नि मारोस्।