आमा भन न, नढाँटी
म अब कसको सन्तान हुँ?
हिजोसम्म तिमीले भीमसेनका कुरा गर्थ्यौँ
वीरताका कुरा गर्थ्यौ
म दुई पटक ढलेर उठ्दा पनि मैले
भीमसेनलाई चिन्न सकिनँ
बहादुर कसलाई भनौँ, बुझ्नै सकिनँ
जन्माउने ठुलो होकि तेल घस्ने ठुलो हो
आमा, नदी ठुलो होकि पानीबिनाको कुलो ठुलो हो?
मलाई फेरि अहिले अग्लो बनाएर ठडाएका छन्
मेरा शिरमा करोडका सुनका गजुर लाएका छन्
गणतन्त्रका लागि जनता मरिरहेका बेला
अँध्यारा कोठामा बसेर
बयलगाडाका कथा सुनाउनेहरु
होलीवाइन खाएर हनुमानका पूजा गर्नेहरु
इतिहास बिर्सेका बैगुनी मान्छेहरु
अहिले मसँग साख्खै बन्न आएका छन्
आमा तिमी होची भएर
अपमान र तिरस्कार सहिरहँदा
तिमी रोगी भएर भुइँमा लडिरहँदा
म अग्लिएको सुहाउँछ र?
तिमी रोग, भोक र शोकले मरिरहँदा
कसैले मेरो नाम बेचेर समृद्धिको फूइँ लाउन हुन्छ र?
आमा म यति अग्लो भइरहँदा
अस्पतालहरु होँचिदै गएका छन्
एउटा एक्लो डाक्टर गत वर्षको महामारीको भत्ता माग्दै
माइतीघरमा पोखिँदै गएका छन्
भर्खरै तिम्रै छेवैँबाट
एम्बुलेन्सभरि बिरामी कोचिँदै गएका छन्
मेरो उचाइ देखेर सिंहदरबार मख्ख छ, बालुवाटार मख्ख छ
म जति अग्लिए पनि
मेरो लिपुलेक, लिम्पियाधुरा र कालापानी देखिएको छैन
त्रिपालले छोपिएको रेल देखिएको छैन
पानीजहाज हुँइकिएको
कोशी, गण्डकी र कर्णालीको भेल देखिएको छैन
केवल रोग देखिएको छ, भोक देखिएको छ, शोक देखिएको छ
बेइमानी र भ्रष्टाचार देखिएको छ
हरियो चस्मा पहिरी मेरो बुइँ चढेर
महामारीलाई गिज्याउँदै
बालुवाटार आयो र दूरबिन लगायो
समृद्धिका नौटंकी गीत गायो
आमा, तिमीलाई तिम्रा ढँटुवा सन्तानले
तिमीलाई नै दिग्भ्रमित बनाएका छन्
आफ्नै पार्टी र व्यवस्था भत्काउनेले
धरहरा उठाएको छु भन्दैमा तिमी दंग नपर है
म राजनीतिको धरहरा बन्न चाहन्नँ
भव्य र सभ्य सांस्कृतिक धरोहर बन्न चाहन्छु
तर आमा, खाडीबाट काठका बाकसमा आएका
भाइहरुको लासमाथि मलाई ठड्याइएको छ
बलात्कृत निर्मला बहिनीको रगतले
मलाई रंग्याउन खोजिएको छ
गरिब, निमुखा भुइँ मान्छेको खाली पेटमा टेकेर
बालुवाटारमा गरिएको हनुमान पूजाको प्रसादले
मेरा आँगनीमा उत्सव गरिएको छ
भनीदेऊ आमा, धरहरा तिम्रो मनमौजीको बालुवाटार हैन भनेर
म धरहरा हुँ
स्वाभिमानको, इमानको, इतिहासको र विचारको
तिम्रा दुर्गन्धले मलाई प्रदुषित नबनाऊ
मैले बनाएँ भनेर दुनियाँलाई नसुनाऊ
आफ्नै बच्चा खाने ढाडे बिरालोलाई
मैले कसरी विश्वास गर्न सक्छु र!
आफ्नै बच्चा निलेर रुने गोहीलाई
मैले कसरी विश्वास गर्न सक्छु र!
म धरहरा हुँ
स्वाभिमानको, इमानको, इतिहासको र विचारको।