डियर स्मार्टफोन,
तिम्रा लागि प्रेम पत्र त अर्बौं आए होलान्, तर म भने तिमीलाई ब्रेकअप पत्र लेख्दै छु।
तिमीले मलाई कहिल्यै पनि स्पेस नै दिइनौ। जतिबेला नि मसँगै हुनु पर्ने। म कहाँ गएँ, कसलाई भेटेँ, के खाएँ, के-के गरेँ सबै कुरा थाहा हुनु पर्ने तिमीलाई?
मैले तिमीलाई एकछिन इग्नोर गर्योकी, तिमी ठुस्किएर अनेक नोटिफिकेशनको आवाज निकाल्दै, मलाई फेरि तिमी तिरै बोलाउँथ्यौ। मैले त आफ्नो जीवन सजिलोसँग चलाउन तिमीलाई रोजेको थिएँ। तर उल्टै तिमीले मलाई चलाउन थाल्यौ।
तिमीलाई थाहा छ, तिम्रा पुस्ता त तारले बाँधिएका हुन्थे र मेरा पुस्ता स्वतन्त्र हुन्थे। तर आज उल्टो छ, तिमी स्वतन्त्र छौ, तिमीलाई बाँध्ने कुनै तार छैन। उल्टो तिमीले मलाई बाधेका छौ। तिम्रो पुस्ता त प्रायःजसो बैठक कोठाको एउटा कुनामा बस्थ्यो। तर आज तिम्रो बसाइँको कुनै टुंगो छैन।
आज तिमी पुग्न हुने ठाउँ, पुग्न नहुने ठाउँ सबैमा पुगेका छौ। सास बचाउने अस्पतालको खाटदेखि लास जलाउने घाटसम्म तिमी पुग्छौ। पेट भित्र खाना हाल्दा होस् वा पेट बाहिर खाना फाल्दा, साथमा तिमी नै हुन्छौ। किताब पढ्ने पुस्तकालयदेखि भगवान बस्ने शिवालयसम्म तिमी नै सुनिन्छौ।
तिमी त मेरो समय जोगाइदिन भनेर आएकी होइनौ र? तर खै तिमी आएदेखि मसँग समय नै कहाँ छ र? समय मात्र हैन आजकल त मैले महशुस गर्ने भावना पनि छोटिँदै गएका छन्।
मलाई सबै अक्षर काला नै लाग्छ भन्ने मेरी आमा, फेसबुकसँग अहिलेसम्म फेस टु फेस हुनु भएको छैन। तर म भने आमाको मुख हेर्ने दिन, तिम्रो फेसबुक पानाको मुख हेर्दै, तिमीलाई 'ह्यापी मदर्स डे' भन्दै शुभकामना दिन्छु।
साथीको जन्मदिनमा उपहार लगेर शुभकामना दिने त्यति लामो भावना खै कहाँ छ र मसँग अब? बरु म उसको फेसबुक वालमा 'एचबिडी' लेख्छु। दिमागको रोगले रुँदै शोक गर्दै, मेरो बिजोग भो भन्दै, मलाई सहयोग गरिदे भन्ने साथीलाई 'लिभ इन पिस' भन्न पनि मलाई कुन सोख हुँदैन।
जब रोगको झोकमा साथीले आफ्नै जीवनमा रोक लगाउँछ म हतार हतार फेसबुकमा 'आरआईपी' पोस्ट गर्छु। बसमा केटीलाई अरूले दुर्व्यवहार गर्दा चुप लागेर मुन्टो लुकाउने म, पब्जीमा गुन्डा मार्दै हिँड्छु।
मेरो शरीरका अंगहरूमा पनि तिमी र तिम्रै एप्सहरुको हक लाग्छ पहिले। खानाका दाना मेरो पेटमा तब मात्र डाउनलोड हुन पाउँछ, जब खानाको फोटो इन्स्टाको पानामा अपलोड हुन्छ। बिहान मेरो आँखा खुलेपछि उसले आफ्नो वरिपरि तब मात्र हेर्न पाउँछ जब ऊ तिम्रो स्क्रिनमा माथिदेखि तल गरी संसारभरिका स्टोरी हेरी अघाउँछ।
म बिरामी हुँदा मलाई शरीरमा रगतका पाउन्डभन्दा मेरो पोस्टमा आउने लाइक्सको काउन्ट चाहिन्छ। भावका रेखाहरू तब मात्र मेरो अनुहारमा देखिन पाउँछ, जब म हाँसेको, रिसाएको इमोजीले लेखेर भ्याउँछ। कहीँ जाँदा मेरो पाइला तब मात्र बिगिन हुन्छ जब त्यो ठाउँ फेसबुकमा चेक इन हुन्छ।
साथीसँग बिताएको साथ तब मात्र मेरो दिमागमा याद भई बस्छ जब त्यो एउटा पलको सय वटा टिकटक बन्छ। म पनि जिउँदै छु भन्ने तब मात्र पुष्टि हुन्छ जब मैले फेर्ने सासदेखि खाने गाँससम्म, सबैको हिसाब किताब सामाजिक सञ्जालले पास गरिदिनु पर्छ।
तिमी जति जति स्मार्ट हुँदै गयौ, म उति नै डम्ब हुँदै गएँ। मलाई आजकल आफ्नै फोन नम्बर नि कन्ट्याक्ट लिस्टमा खोज्नु पर्छ। बुवाको जन्मदिन पनि मलाई फेसबुकले सम्झाइदिनु पर्छ। आमाको ओखती किन्न नि रिमाइन्डर राख्नु पर्छ। खुसी कसरी हुने भनेर गुगललाई सोध्नु पर्छ।
दुई प्लस दुई जोड्न नि क्यालकुलेटर एप चाहिन्छ। आफ्नै घर जान नि गुगल म्याप हेर्नु पर्छ। म आफू राम्रो देखिन्छु कि भनेर दश दश मिनेटमा सेल्फी खिच्नु पर्छ।
स्मार्ट फोन, तिमीसँग जति मेरो लगाव गाढा हुँदै गयो, उति नै म सबैसँग टाढा हुँदै गएँ। म एक्लै हुँदा त तिमीसँग हुन्छु नै। तर अरूसँग हुँदा पनि म तिमीसँग मात्रै भैइरहेँ। एउटै सहरको साथीले भेट्ने रहर गरेर मसँग कुरा गर्दै गर्दा म भने सागरभन्दा परको पराइसँग च्याट मै व्यस्त हुन्छु।
परिवारका हामी सात जना एउटै रुममा बसेर दुख सुखका बात बाँड्दै गर्दा, म भने च्याट रुममा सात जनासँग मिम साट्दै हुन्छु।
तिमी आएपछि मलाई आफ्नोभन्दा बढी तिम्रो माया लाग्न थाल्यो। तिमी एकछिन मात्र कतै हराउँदा म आत्तिँदै तिमीलाई सबै ठाउँमा खोज्छु। तर म दिन दिनै तिमीमै हराउँदै जाँदा पनि आफूलाई खोज्नु त परको कुरा, म आफैँ हराउँदै छु भनेर मेसो समेत पाउँदिनँ।
कतै ठोकिएर तिम्रो स्क्रिन सानो ठाउँमा फुट्दा पनि मेरो मुटु चस्स दुख्छ। तर म तिमीसँग जोडिएपछि मेरा ठुला ठुला सपनाहरू टुट्दै गएको समेत म वास्तै गर्दिनँ। तिमीले जब रातो बत्ती बाल्दै थकानको संकेत दिन्छौ, तब म तिमीलाई चार्जमा जोडेर आराम गर्न छोडिदिन्छु।
तर मेरो ज्यानलाई पनि थकान हुन्छ, यसलाई नि आराम, ध्यान, व्यायाम गरेर चार्ज गर्नु पर्छ भनेर बिर्सिँदै जान्छु। तिमीलाई कतै छोडिहाल्छु कि भनेर म सधैँ हातमा बोकेर हिँड्छु। तर स्तारै मेरो जिन्दगी नै आफ्नै हातबाट छुट्दै गएको पत्तै पाउँदिनँ।
स्मार्ट फोन, तिम्रो संगत धेरै गर्दा म पनि तिमी जस्तै मेसिन हुँदै गएँ। मेरो अस्तित्व र पहिचान नै संकटमा पर्न थाल्यो। तिमीलाई धेरै माया गर्दा मैले आफैँलाई र मेरा आफ्नाहरूलाई गुमाउँदै गएँ। त्यसैले नराम्रो नमान ल, म तिमीलाई ब्रेकअप दिदैं छु।
-उही तिम्रो प्रेमी।