बारीको कान्लामा अडिएका डोकोहरुसँग
गाँठो परेका मेरो बुवाको चौडा निधारसँग,
फराकिलो आँगनमा सुकाएको बिस्कुनहरुसँग
खै! कसरी सम्हाल्न सकिएला,
सुख दु:खका भारीहरु!
मुजै मुजा परेका आमाका कोमल मनसँग
छियै छिया परेका गोडाका कुरकुच्चाहरुसँग,
सपनै सपनाले भरिएका आमाका बलेनीहरुसँग
खै! कसरी सम्हाल्न सकिएला,
जिम्मेवारीका पगरीहरु!
भकारीभरि भरिएका अन्नका भण्डारहरुसँग
शितल चौतारीमा गाँसिएका फराकिला छातीहरुसँग,
मेलापातमा हालिएका सुरिला सुस्केराहरुसँग
खै! कसरी सम्हाल्न सकिएला,
यात्रामा गरिएका समरीहरु!
वल्लो पल्लो छिमेकीका मिठा भलाकुसारीसँग
प्यास मेटाउने आमैका अनेकौं कथाहरुसँग,
उज्यालो जीवनका मनोहर जुनकीरीहरुसँग
खै! कसरी सम्हाल्न सकिएला,
दायित्वका भकारीहरु!
सानो परिधिभित्रको विशाल तस्बिरहरुसँग
मेरा अभ्यन्तरका साक्षात महतारीहरुसँग,
लडिबडी गरी खेलिएका प्रिय मन्जरीहरुसँग
खै! कसरी सम्हाल्न सकिएला,
दायित्वका थुप्रै कटेरीहरु!
बलापनका हृदयी लँगौटिया यारहरुसँग
प्रखर अनि उर्वर सृजनशील पाखुराहरुसँग,
मधुर दिव्य दर्शनको भव्य योजनाहरुसँग
खै! कसरी सम्हाल्न सकिएला,
जीवनका अनेकौं खडेरीहरु!
पाखा पखेरामा छिचोलिएका भिरहरुसँग
पानी पँधेरोमा पैंठेजोरी खेलिएला सहयात्रीहरुसँग,
वेतुकका निहुँमा धारे हात लगाइएकाहरुसँग
खै! कसरी सम्हाल्न सकिएला,
मित्रता मिठा भूमरीहरु!
उकाली ओरालीमा हुने मौसमी यादहरुसँग
मेला पर्वमा हुने आफन्तका बेग्लै रौनकहरुसँग,
भविष्य खोजिरहेका मेरा नयाँ पाइलाहरुसँग
खै! कसरी सम्हाल्न सकिएला,
नयाँ पाइलाका चिनारीहरु!