भो अन्त्य गरिदेऊ अब
बरु लैजाऊ यी हातहरु र
टाँगिदेऊ लगेर शुलीमा,
आश्वासन नदेऊ
बरु काटेर लैजाऊ सुन्ने यी कानहरु,
यी आँखाहरुले देख्न नपरोस् फेरि फेरि त्यही अन्यायहरु,
हतार गर्दिनँ म बरु!
ढिलै होस् तर रोकिदेऊ अब
सुन्दिनँ फेरि ती तालीहरु
बजाउन बन्द गरिदेऊ
बरु सक्छौ काटिदेऊ यी हत्केलाहरु,
मेटाइदेऊ यी अक्षरहरु
यदि क्रान्ती देख्छौ भने।
म बोल्दिनँ अब
तिमी सुन्दैनौ कहिल्यै थाहा छ मलाई,
लेख्दैन अब बालुवाटार सम्झी
त्यो सिंहदरबार सम्झी,
सम्झिएर लेख्दा यदि विद्रोह मान्छौ भने
लगेर गाडिदेऊ मलाई,
म बोल्दिनँ अब तिम्रो सामु,
लगेर फ्याकिदेऊ यी कलमहरु
यदि यी कलमहरु काँडाझैँ बिझ्छन् भने!
मलाई मेरो हजार मृत्यु स्वीकार छन्
यदि अब तिमी रोकिन्छौ भने,
हरेक पटक देश सम्झी देह त्याग्न तयार छु
यदि तिमी एक पटक मात्रै देश सम्झिन्छौ भने,
भो अन्त्य गरिदेऊ अब यी खेलहरु...।