उही पुरानो सहर
उही पुरानो घर
उही पुरानो रहर
र उही पुरानो म।
बद्लिन्छन् सहरहरु
साथै मनका रहरहरु,
सपनाहरु, साथहरु,
महत्वकांक्षाहरु
दिनपछिका रातहरु
ती रातमा तिल्मिलाउने ताराहरु
तारा हेर्दै कोरिएका भावनाहरु
कोर्दै च्यात्दै फालिएर पल्टिएका खाली पन्नाहरु
बस म बद्लिएको छैन।
बद्लिन्छन ऋृतुहरु
आँसु पुछ्ने हातहरु
लर्बराएको बेला थाम्ने काँधहरु
तर सरेनन् मेरा रोकिएका पाइलाहरु
तोडिएनन् मनका बाँधहरु
छल्किएनन् मन भित्रका तरंगहरु
हिउँ जस्तै मन उस्तै छ
सफा, बेदाग, सुन्दर, नरम
न्यानो स्पर्शमा विलीन हुने
घाम झैँ न्यानो अनुभूति दिने
आफूमाथि परेका मायाका किरणहरु चारै तिर फैलाइदिने
जस्तै कठोर पाइलालाई पनि नरमता दिने
हरेक परिवर्तनसँग रमाउने, स-साना खुसीमा रम्ने
हो, म उस्तै छु, बद्लिएको छैन।
सिर्फ समय बद्लिएको छ, पात्रो पल्टिएका छन्
बाँकी सब उही
उही पुरानो सहर
उही पुरानो घर
उही पुरानो रहर
र उही पुरानो म।