फेरि हिँड्नेछ मजदुर,
खाली पैतला,
पूर्व-पश्चिम राजमार्ग,
फेरि हामी,
कोर्नेछौं देशको नक्सा।
थुप्रै अखबारहरुमा अब
उसका रगताम्य पैतलाका
डोबहरु हुनेछन्,
केही दिनका हेडलाइन,
केहीछिनका समवेदना,
उफ्! सम-वेदनाको नाटक।
न उसको मन्दिरको देवता
आफ्नो भयो,
हे भगवान!
अक्षर बिलाउँछ हावामा,
न उसको लागि सरकार
आफ्नो भयो,
हे सरकार,
फगत अक्षर-ध्वनी घाँटीमै सुक्छ,
संविधानका गिज्याइरहने
काला अक्षर,
उसैको लागि भैसी बराबर!
दम घुटेर आखरी सास फेर्दा,
उसले कसलाई पुकार्छ होला?
माटोमा निधार ठोक्दै गर्दा
माटोलाई सराप्छ कि सराप्दैन उसले?