साहित्यकार
पत्रकार
चित्रकार
मूर्तिकार
संगीतकार
आख्यानकार
गैर आख्यानकार
लेख्छन् सबैले
शब्दमा
रंगमा
माटोमा
धातुमा
बाद्यबाधनमा
आ-आफ्ना मनका अभिव्यक्ति
त्यसैले ती सबै लेखक नै हुन्।
मरुभूमि बन्दै गएको काठमाडौँमा
लेखक मर्दै गएको छ
सिर्जना सुक्दै गएको छ
एक गिलास चिसो पानी पिउन नपाएर
एकैछिन शितल छायामा सुस्ताउन नपाएर।
लेखक विहीन समाजको परिकल्पना
कसरी गर्दै छौ तिमी?
समाजवाद उन्मुख हाम्रो देशमा
लेखकको आत्मा क्रमश: सुक्दैछ
तिमी भन्दै छौ विकाश क्रमश: हुँदै छ
राजनीति मोटाएकै छ
तर
के प्रजातन्त्र फस्टाएकै छ?
समाजवाद नि?
होस् गर है!
लेखक मर्दै छ नि, दिन प्रतिदिन
नपत्याएको?
हेर त
लेखकको हुलिया
लेखकका परिवार
सब काज क्रियामा झोक्राएर बसे जस्ता छैनन् त?
दुई छाक, एक सरो कपडा र सिटामोल
छोराछोरीको शिक्षा दिक्षाको लागि
थोत्रे घर
बिहेको श्रीमतीको तिलहरी
अथवा श्रीमानको त्यो औँठी
बन्धक राख्न
खोजिरहेछ
साहु महाजन
परापूर्वकालदेखि उही लेखक।
त्यसैले
बनाइदेऊ एउटा कुनो
प्रत्येक सहरमा
खरकै भए पनि छानो हाली
प्रत्येक
भोजनालयमा
अस्पतालमा
पार्कमा
विद्यालयमा
विश्वविद्यालयमा
सिनेमा घरमा
नाट्यशालामा
भट्टीमा
गाडीमा
हवाइजहाजमा
राखीदेऊ केही थान कुर्सीहरू
स्वर्गीय लेखकको सम्झनामा
जहाँ
जीवित लेखक निस्फिक्री निशुल्क बसी
थपि थपि कालो चिया, एक टपरी मकै, नुन र खोर्सानी
बिरामी भएमा सुति सुति सिटामोल अनि सलाइन पानी
सोच्न सकोस्
लेख्न सकोस् निस्फिक्री
सारा संसार बिर्सेर
समाजवाद उन्मुख समाजको हितको लागि।