म हेर्दै थिएँ
जीवनको सुन्दरता
म लेख्दै थिएँ
जिन्दगीका आयामहरू
कोर्दै थिएँ
गन्तव्यको परिदृश्य
म रोकिन्छु कतै
यात्रा पनि रोकिन्छ
तर अहँ!
यो समय रोकिन्न
बिम्ब प्रतिबिम्ब
घामछाया बन्दै
प्रश्नहरू खडा गर्छन्
ओ हेल्लो!
कहाँ लेख्यौ तिमीले?
तिलस्मी कथाहरू
यथार्थको धरातल
जीवनका रंगहरु!
उज्यालोबिनाको छाया
खुसीबिनाको मुस्कान
कहाँ देख्यौ तिमीले?
शब्दबिनाको अनुभूति
के लेख्न सक्यौ र?
हिँड्ने पथ त उस्तै हो
कयौं ऋतुहरु बद्लिन्छन्
हत्केलाहरुका रेखाजस्तै
सरल त कहाँ हुन्छ र
जीवनका गोरेटाहरु!
यी अक्षरहरुमा
यी शब्द शब्दमा
खोज्दै थिएँ
मायालु काँधहरु
सभ्यताको मार्ग
अनि
हाँसोका फोहोराहरू
पाइलाहरु नरोकियोस्
उसै नि जीवन त सुन्दर छ
सजिन्छन् फूलहरुले जब
सारा पर्यावरण
पत्रपत्र मिलेर सुन्दर बन्छ
बाटाहरु,
यस्तो लाग्छ कि
हिँडेर जाउँ दूरदूर
सम्झनाका पल संगालुझैँ
यो मौसम
साकुराको बहारजस्तै
आहा! जीवनको छट्टा
सायद, यस्तै भैदिए
मनमा या आँखामा सजाउँ?
कविता या गजलमा कोरुँ?
यो सौन्दर्य कहाँ पोखुँ!
भन, फूलहरु केशमा कि हृदयमा?
यी पहाडका शान्त थुम्काहरु
चाँदीका घेराझैं बादलहरुबीच
कोरिएका छन् शब्दभावले
हरेक दिन, हरेक पल
सूर्यका किरणहरुले स्पर्श गर्दा हुन्
ती पलहरु हरेक दिन
अग्ला हरिया रुखजस्तै
शितलता दिंदै
सपनाहरु जस्तै
चाहनाहरु जस्तै
जीवन्त रहन सक्लान् र?
हाम्रा ती जीवनका यादहरु!
लाग्छ,
रंगिन प्वाँखजस्ता हुँदा रहेछन्
आकाश छुँदै
सुसाउँदै गरेका समयहरु
लता र लहराको पल्लवीझैं
निलो आकाश उही छ
वसन्त र कोकिलको प्रित त्यहीं
खुलेको आत्मिय मुस्कान उही
अटल भई टल्केको हिमाल उस्तै
बितोस् सदियौं पल जस्तै लाग्छ
तर,
हावामा बहकिँदै होस्
आभाष आफ्नाहरुको सामिप्यताको
नत्र,
के अर्थ ती कालखण्डहरुको?
रश्मिला पहाडहरुको?
सुवास बोकी समीर सुसेल्न खोज्छन्
तब त्यहाँ सौन्दर्य मग्मगाउँछन्
मुस्कानभित्रको स्निग्धता
पत्रपत्रमा यायावर
रङ अनि जीवनका यी गुलाबी रंगहरु
अविच्छिन्न यात्राहरु
आकाशको नीलिमाझैं
रोमाञ्चक प्रीतहरु
आँखामा, अनुहारमा
प्रतिबिम्बित गर्दै
प्रस्फुटन हुँदा
वसन्त आएझैं लाग्छ
आँखाको प्रेम
मुटुको आभाष
सुन्दरताको यो लहरसंगै
हिँडिरहुँ लाग्छ
गन्तव्य नपुगुन्जेल
साँच्ची, भन न जीवन
तिमी कहाँ छौ?