'आज त हाम्रो स्कुलमा नयाँ मिस आउँदै हुनुहुन्छ रे। सुन् त भोके ! हाजिर हुन नपाउँदै भोक लाग्यो नभनेस् नि फेरि! मिस पढाउनै छाडेर तलाईं भात पकाइदिन जालिन्।'
कक्षाका सबैजना उसको मजाक बनाएर गलल्ल हाँस्छन्। ठूले घोसेमुन्टो लगाएर केही नसुनेजस्तो गरी बस्छ।
कक्षामा मिस प्रवेश गर्छिन्। साँच्चै हाजिर सकाउन नपाउँदै ठूलेले 'मिस भोक लाग्यो' भन्छ।
सबै हाँस्छन्।
तर ती नयाँ मिसलाई उसको रांगिएको अनुहार, कलेटी परेको ओठ, फुटेका खुट्टा, बढेका नङ अनि नङभित्र भरिएको फोहोरले निकै मुटुभित्र पुग्ने गरी अर्लाम लगाउँछ।
नयाँ स्कुल, नयाँ परिवेश। उनले स्कुलका हेडमास्टरसँग ठूलेका बारेमा बुझ्छिन्।
ठूले झन्डै एक घन्टा परबाट पैदलयात्रा गरेर स्कुल आउँदो रहेछ। घरमा बाथरोग लागेकी बुढी हजुरआमा छिन्। बाउ सधैं मदिरा सेवन गर्ने। सम्बन्ध विच्छेद गरेर आमा अर्कैसँग बिहे गरेर बसेकी छिन्। ठूले स्कुल आउँछ। पहिलो पिरियडमै भोक लाग्यो भन्छ। त्यसैले साथीहरू 'भोके' भनेर बोलाउँछन्।
प्रधानाध्यापकबाट सबै थाहा पाएपछि मिस कक्षामा प्रवेश गर्छिन्। कक्षामा ठूले आएको थिएन।
पछाडिबाट रौनकले भन्छ 'टिचन, मिस आज हामीलाई कथा सुनाउनुस् न।'
नयाँ मिसलाई सबै विद्यार्थी टिचन मिस भन्थे।
मिसले भनिन्, 'कथा? ल सुन....!
एउटा गाउँमा रवि र मोती बस्थे। उनीहरूका सात सन्तान भइसकेका थिए। रवि निकै सोझो र इमानदार थियो। ज्यालादारी गरेर जसोतसो गर्जो टारेको थियो।
सातौं सन्तानपछि नचाहँदा नचाहँदै उसको घरमा छोरी जन्मिन्छिन्। छोरीको जन्मपछि उसकी श्रीमती निकै बिरामी हुन्छे। न त सुत्केरीको स्याहार हुन्छ न ती नाबालिकाको। रवि श्रीमतीको उपचारका लागि रकम जुटाउन हड्डी पेलिने गरी ज्यालादारी गर्छ। केही रकम लिएर अस्पताल पुग्छ।
छोरीलाई होटलमा बस्ने एक महिलाले भैंसीको दूध खुवाएर सुताउँदै थिइन्। यत्तिकैमा रविले छोरीको अनुहारमा नहेरी भन्छ, 'बाँचे ठीकै भो, मरे फाल्दिउँला।'
बिचरा जन्मेका अरू सन्तान कसरी पालोस्। एउटा सहारा त्यही श्रीमती थिई। ऊ नरहे जीवन कस्तो बन्ने हो? चिन्तित थियो रवि।
भगवानको आशीर्वाद, आमाछोरी दुवै ठीक भएर घर आए। छोरी हुर्किँदै गई, नजिकैको सामुदायिक विद्यालयमा पढ्न थाली। ऊ पढाइमा सधैं प्रथम हुन्थी बाबुआमाले कहिल्यै कापीकलम किनिदिनुपरेन।
विद्यालय जाँदा ऊ धेरैजसो भोकै जान्थी। तर साथीहरूले उसलाई निकै माया गर्थे। आफ्नो टिफिनको केही नास्ता उसलाई दिन्थे। उसको स्वरूपलाई कहिल्यै मजाक गरेनन्। पानी पर्थ्यो। सबै छाता ओढ्थे, ऊ भने गाभाको पातको सहारामा ओतिन्थी।
साथीहरूले जाडो मौसममा आफ्ना पुराना स्विटरहरू दिन्थे। विद्यालयका शिक्षकले पनि उसको अनुशासन र लगनशीलता देखेर सधैं सम्मान गर्थे। उसलाई आफू गरिब भए पनि सबैको माया र साथले पुल्पुलाएको थियो। त्यसैले कहिल्यै स्कुल छुटाइन।
साथी भनेको सबैभन्दा माथिको हुन्छ। तिमीहरूलाई थाहा छ? गरिबीले मानिसलाई बेइमान बनाउँछ। भोकमरीले चोर। अनि अपमान र घृणाले तिरस्कृत बनाउँछ। तर ती बालिकालाई सबैको साथले कर्मठ बनाउँदै लग्यो।
कक्षा दसमा पढ्दै थिई। सबै साथीहरू ट्युसन पढ्थे तर ऊ भने घरमै ढोका थुनेर पढ्थी। किनकी पढ्न पैसा त थिएन। उसँग निकै मिल्ने साथीहरू पनि थिए। कहिलेकाहीँ नोट बनाउने कापी पनि किनिदिन्थे। बाटोमा हिँड्दा समेत नोट बनाएर पढिरहन्थी।
रिजल्ट आउँछ। ऊ प्रथम हुन्छे। घरमा स्याबासी दिनेको भीड लाग्छ। पढाइ त राम्रै थियो तर रविले खर्च गरेर छोरी पढाउन सक्ने हैसियत थिएन। त्यसैले गाउँको कलेजमा निःशुल्क अध्ययन गर्न पठाउँछ। कलेजबाट पनि चित्तबुझ्दो रिजल्ट आउँछ।
उसले अझै मेहनत गर्छे। उसको लगनशीलताले गर्दा शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल हुन्छे। छोरीको यो सफलता देखेर रवि निकै खुसी हुन्छ। आशा मारेकी छोरी गाउँमै सरकारी जागिरे छे अहिले।
'मरे फालिदिउँला' भनेको थियो ऊ बेला उसले। तर उसैले आज शिर ठाडो पारिदिई। समयको खेल, अरू सबै छोराछोरी पैसाका लागि परदेशिए। परदेशिनु उनीहरूको मजबुरी थियो। तर आज पैसा छ सन्तानको साथ छैन।
आज त्यही मरिसकेको आशा नै बाँच्ने आधार बनेको छ भन्दै रवि डल्लु दाइसँग भलाकुसारी गर्छ।'
मिस कथा भन्दै थिइन्। तर बीचमै अड्किइन्।
रौनकले भन्छ, 'मिस, बाँकी कथा भन्नु न। त्यो मिस को हो?।'
एकछिन पछि मुस्कुराउँदै भन्छिन्, 'त्यो मिस अरू कोही नभएर तिमीहरूकै टिचन मिस हुन्।'
कक्षाका सबै विद्यार्थीहरू मिसको अनुहार हेर्दै निधार खुम्च्याएर आँखाबाट बरर्र आँसु झार्छन्।
एकछिनपछि टिचन मिसले भन्छिन्, 'तिमीहरूले यो कथाबाट के शिक्षा पायौ? ल भन त।'
ममता भन्छे, 'छोरीलाई हेला गर्नुहुन्न।'
मीरा भन्छे, 'गरिबलाई माया गर्नुपर्छ।'
ध्रुव भन्छ, 'साथीलाई सहयोग गर्नुपर्छ।'
'हो स्याबास ! तिमीहरूको कक्षामा छ नि ठूले। भोलिबाट सबैले माया गर्नेछौ। ऊ भोकै आउँछ। थोरै टिफिन भए पनि तिमीहरूले उसलाई दिनेछौ। उसको मजाक कहिल्यै गर्ने छैनौ। उसलाई स्कुलबाट भाग्ने होइन, स्कुल भनेपछि जाग्ने बनाउनुपर्छ। जीवनमा योभन्दा ठूलो पुण्य अरू केही छैन।'
मिसले भन्दै गइन्, 'आफ्नो साथले असहाय बेसहाराको मुहारमा थोरै खुसी थपिदिन सक्नु महानता हो। ठूलो मान्छे बन्न ठूलो मान्छेलाई ज्यूज्यू गर्नुभन्दा आफूभन्दा तल परेका र जिउनका लागि अघि बढ्दा बढ्दै धेरैपटक लडेका ती हातलाई आफ्नो हात दिन सक्यौ भने आफू सफल भएको ठान्नू।'
कक्षाको पछाडिपट्टि रहेको झ्यालबाट ठूलेले मिसको कथा सुनिरहेको थियो। साथीहरूको कुरा सुनेर खुसी पनि भएको थियो।
ऊ दौडिँदै आएर मिसलाई अँगालो हाल्दै रून थाल्छ।
अनि भन्छ, 'मलाई माफ गरिदिनुस् मिस। हिजो पढाउँदा थाहा नपाउने गरी मैले तपाईंको ब्यागबाट दस रुपैयाँ झिकेको थिएँ। पाउरोटी खाएँ। म ठूलो भएपछि कमाएर दिन्छु मिस। म यस्तो काम कहिल्यै गर्ने छैन। स्कुल सधैं आउँछु।'
टिचन मिसले आफूलाई सम्हाल्दै ठूलेलाई सम्झाउँछिन्। उसले झिकेको पैसा देखेर पनि नदेखेजस्तै गरेकी थिइन् उनले। किनकी उनलाई थाहा थियो उसको मजबुरी र गरिबीले उसलाई बेइमान बनाएको हो!