ऊ बोल्छ, तिमी सुन
ऊ भाषण गर्छ, तिमी ताली बजाऊ
ऊ निर्देशन दिन्छ, तिमी निर्देशन पालन गर
ऊ यसो गर भन्छ, तिमी हस् हुन्छ भन
अनिमात्र तिम्रो पद जोगिन्छ, पेशा जोगिन्छ
प्रतिष्ठा जोगिन्छ, इज्जत जोगिन्छ
यदि प्रतिवाद गर्यौं भने
प्रतिप्रश्न गर्यौं भने
सवाल जवाफमा उत्रियौ भने
सत्य बोल्यौ भने
थाहा छैन खै के-के हुन्छ?
त्यसैले तिमी चुप बस, नबोल उस्को अपमान हुन्छ
कानेखुसी पनि नगर साथी भित्ताहरुको पनि कान हुन्छ।
तिमी आस्था फरक भएको कारण
विचार फरक भएको कारण
सत्यलाई सत्य भनेको कारण
सेतोलाई रातो नभनेको कारण
योग्य भएर पनि अयोग्य बन्छौ
इमान्दार भएर पनि वैमान बन्छौ
तिमीलाई हिजोका हात्तीछाप चप्पलेहरु
राजधानीमा दरबार बनाएपछि
भ्रष्टाचार गर्नु हुँदैन भन्छन्
सम्धीसम्मलाई पद बाँडेर
नातावाद कृपावाद चल्दैन भन्छन्
राष्ट्रिय उद्योगहरु धरासायी बनाएर
अन्तर्राष्ट्रिय उद्योग स्थापित गरेपछि
आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्छन्
हिजोका सडकछापहरु
सुकुम्बासीका बस्तीहरुमा डोजर चलाउँछन्
गरिबका झुपडीमा आगो लगाउँछन्
हिजो निरंकुश व्यवस्था ढाल्नेहरु
आज पिर्के सलामी लिँदैछन्
सुविधा बिनाको कर बढाएर
निमुखाको चरम शोषण गर्दैछन्
गणतन्त्रमा यो संस्कारले कसरी जनताको सम्मान हुन्छ
बिस्तारै बोल साथी भित्ताहरुको पनि कान हुन्छ।
राजनीतिलाई पेशा बनाउनेहरु
राजनीति गरेर अकुत कमाउनेहरु
राजनीतिक नियुक्तिमा भागबण्डा गर्छन्
ठेक्कापट्टामा लडाइँ-झगडा गर्छन्
स्रोतसाधनको चरम दोहन गर्छन्
गरिबी हटाउने जनतामा भ्रम छर्छन्
यहाँ श्रोतमा जनताको पहुँच हुँदैन
वास्तविक किसानले अनुदान पाउँदैन
सबै पार्टीका आफ्नै अखबार छन्
पार्टीका मुखपत्र झैँ आफ्नै समचार छन्
दिग्भ्रमित पारेर जनतालाई मिसन पूरा गर्ने अरू छन्
देशको पर्वाह छैन, कमिशनमा काम गर्नेहरु छन्
बेथिती कति छन् कति हर ठाउँमा
नेता जाँदैनन् फर्केर चुनाव जितेपछि गाउँमा
उत्पीडनका साङ्लाहरु चुडाउन
दमनका पर्खालहरु भत्काउन अब क्रान्ति घमासान हुन्छ
विस्तारै बोल साथी भित्ताहरुको पनि कान हुन्छ।