दधिरामले ‘छलाङ’ हानेको समय थियो त्यो। ऊ हमेसा सरकारको कुनै न कुनै महत्वपूर्ण जिम्मेवारीमा रहने गर्दथ्यो। आफ्नो विषयमा पूर्ण दक्ष थियो दधिराम।
विभागीय मन्त्रीलाई पनि गोल घुम्तीमा गाडी घुमेजस्तै घुमाउने सामर्थ्य राख्थ्यो ऊ। यही दक्षताका कारण मानिसहरु उसलाई शिर झुकाई अभिवादन टक्र्याउँथे। उसकोमा जाँदा खालिहात जाँदैनथे।
चाकरीमा धाउनेहरु विवाहको साइपाटो ल्याएजसरी सामानले भरिभराउ कार्टुन बोकेर जान्थे। ठुला व्यवसायीहरु शुभलाभ दिलाइदिए बापत युरोप-अमेरिकाको निशुल्क भ्रमण गराउँथे।
उसको घर जुम्लाको स्याउ, हुम्लाको राडीपाखी, रसुवाको ट्राउट माछा, तराईको माल्दह आँप, वन्यजन्तु आरक्ष र निकुञ्जका मृग, बँदेल, कालिज आदिको सुकुटी-मासुले भरिभराउ हुन्थ्यो।
भित्ताको सोकेश विदेशी महंगा मदिराले भरिएको हुन्थ्यो। गहकिलो ब्रिफकेश बोकी आउने सेवाग्राह्रीको संख्या पनि उल्लेख्य हुन्थ्यो दधिरामकोमा। छोटे भिआइपीहरु साँझ परेपछि डान्सबार र स्टार होटलमा रोमान्समा लैजान हानाथाप गर्थे।
बिछट्टै शक्तिशाली थियो दधिराम। उसलाई एकपटक मृगको शिकार लिएर आउँदै गर्दा निकुञ्जको सिपाहीले रोकतोक गरेको रहेछ। एकहप्ता नबित्दै लागु औषध कारोबारको अभियोगमा उक्त सिपाहीको हातमा हतकडी लाग्यो।
ऊ सोसियल मेडियाको पनि राम्रै उपयोग गर्थ्यो। उसले राखेको फेसबुक स्ट्याटस् पोष्ट गरेको केहीबेरमैँ भाइरल हुन्थ्यो। एक दिन दधिरामले लोकप्रियता परीक्षण गर्ने मनसायले ‘मुखबाट अमिलो पानी आएको’ समाचार फेसबुकमा राखेको मात्र के थियो, संक्रामक रोगले जस्तै भाइरल स्वरुप ग्रहण गर्यो।
बैँकहरुमा अथाह रकम थियो ऊसँग। तथापि जम्मा गरेको पैसा झिकेर घरखर्च चलाउन मरेतुल्य लाग्थ्यो दधिरामलाई। बैँकबाट पैसा झिक्दा कब्जियतको बिरामीले मलत्याग गर्दाको जस्तै पीडा हुन्थ्यो।
नहोस् पनि कसरी, दधिरामले विगत पन्ध्र वर्षदेखि बैँकबाट झिकेर घरखर्च चलाउन परेकै थिएन। श्रीमतीको करकापमा परी कार नकिनेको कहाँ हो र उसले। तर ऊ हत्तपत्त निजी सवारी साधनमा घरबाहिर निस्किदैनथ्यो। श्रीमतीदेखि सालासाली घुमाउन दुई-दुई वटा सरकारी गाडी छँदै थिए।
बिहानदेखि साँझसम्म उसको आसपास मेला लागेझैँ हुन्थ्यो। नमस्कार फर्काउनेसम्म फुर्सद हुँदैन्थ्यो उसलाई। व्यस्तताकै कारण अति निकट व्यक्तिको बाहेक अरुको फोन कमै उठाउँथ्यो दधिराम।
केही मानिसहरु उसलाई विगतको दुःखमा साथ दिनेहरुलाई बिर्सन थालेको आरोप पनि लगाउँथे। हरेक दिन सयौँ जनासँग उठबस हुने गर्दथ्यो दधिरामको। त्यस अवस्थामा उसले विगतदेखि वर्तमानसम्मका सबैजना सम्झिन सकोस् पनि कसरी?
मानिसको दिमागले कम्प्युटरले जसरी सतप्रतिशत मेमोरी संग्रह गर्न सक्दैन भन्ने नबुझिदिनेसँग दुःखी पनि हुन्थ्यो ऊ!
समयक्रममा दधिरामको जागिरे जीवन डाँडामाथिको घामझैँ भयो। सेवा प्रवेश गर्दाको सर्टिफिकेट अनुसार कर्मचारी रेकर्ड शाखाले उसको उमेर ५८ वर्ष पूरा हुन लागेको जानाउ दियो। नचाहँदा नचाहँदै दधिरामले शक्तिशाली पदीय जिम्मेवारीबाट बिमुख हुने समय आइपुग्यो।
जागिरको अन्तिम दिन कार्यालयले उसको सम्मानमा बिदाइ कार्यक्रमको आयोजना गर्यो। दधिराम मलिन अनुहारका साथ कार्यक्रममा सहभागी भयो। वरिष्ठ तथा कनिष्ठ अधिकारीहरुले बिदाइ मन्तव्यमा दधिरामको मिलनसारिता र कर्तव्यनिष्ठताको दिल खोलेर प्रशंसा गरे।
रातको नौ बजे ऊ गलामा माला, निधारमा अबिर, हातमा पशुपतिनाथको मूर्तिसहित घर पुग्यो। अविर-मालामा पुरिएको लोग्नेलाई देखेर उसकी श्रीमती सरु किञ्चित उत्साहित भइन। बरु उल्टै सुँक्क सुँक्क गर्दै रुन थाली।
दधिरामलाई त्यस दिन आधारात नघर्किँदै निद्रा खुल्यो। ऊभित्र विगतका दृष्यहरु फिल्मको रिल झैँ घुम्न थाले। सोच्दा सोच्दै उसलाई आँत जलेको अनुभूति हुन थाल्यो। उसले बोतल उठाएर धितरुन्जेल पानी पियो।
जागिरबाट विश्राम लिएको रात दधिरामलाई आफ्नो शरीर कपासको भुवाजस्तो हलुङ्गो महशुस भैरहेको थियो। आफ्नो शरीर त्यतिको हलुङ्गो कहिल्यै लागेको थिएन उसलाई।
अवकाशपछिको छ महिना आइएनजिओमा काम गर्दै बितायो दधिरामले। ‘बर्मा गएपनि कर्मसँगै’ भनेजस्तै नेपाली ब्युरोक्रेसीको सिखरमा रही सिंहझैँ राज गरेको आनिबानी कसरी छुटोस्!
त्यहाँ पनि ऊ सहकर्मीहरुबाट चाकडी-चाप्लुसी र सुभलाभको अपेक्षा गर्दथ्यो। चाकडी नगर्नेप्रति कठोर वचन प्रहार गर्दथ्यो। एक रात मदिराको मातमा महिला सहकर्मीको इज्जतमाथि धावा पनि बोल्यो दधिरामले।
‘मैले बोलाउँदा किन आउँदिनस्? म भूतपूर्व सचिव हुँ बुझिस्। उखानै छ, हिङ नभए पनि हिङ बाँधेको टालो।’ आक्रामक हाउभाउका साथ उसले ती महिलालाई भनेको थियो।
उक्त कर्तुतका कारण महिलासँग माफि नमागे कामबाट हात धुनुपर्ने भयो उसले। तर गल्तीप्रति क्षमा याचना गर्न जानेकै थिएन दधिरामले। अन्ततः ऊ छोटै समयमा गृहप्रवासमा फर्कियो।
आइएनजिओबाट फर्केपछि उच्च राजनैतिक र संवैधानिक नियुक्तिको लागि भरमग्दुर प्रयास पनि गर्यो दधिरामले। लिन मात्र जान्ने, दिन नजान्ने भएपछि पद हात परोस् कसरी! दर्जनौँ प्रयासका बाबजुद उसको मनसुवा सोम शर्माको कथा जस्तै अधुरो रह्यो। त्यसले गर्दा उसको मानसपटलमा राजनैतिक दलहरुप्रति घोर वितृष्णा छाउन थाल्यो।
अब ऊसँग पहिलेको जस्तो शक्ति थिएन। शक्तिविहीन भएपछि उसको निवास हरदम सुनसान रहन्थ्यो। पदमा छँदा घेरा हालेर बस्ने उसका ध्यान तथा सेवकहरु कता हराए कता! पहिले उज्यालो हुन नपाउँदै फोन उठाउन भ्याइनभ्याइ हुन्थ्यो।
आजकल भने दिनभरमा मुस्किलले एक/दुई कल फोन आउँथ्यो दधिरामको मोबाइलमा। अन्तर्मनको सन्नाटा घनिभूत हुँदै जाँदा ऊ सोकेशमा सजाएर राखिएका विदेशी मदिरातर्फ नजर लाउँथ्यो। श्रीमती सरु सहानुभूति दर्शाउँदै बँदेल, मृग र कालिजको रहलपहल सुकुटी भुट्भाट गरी सितन तयार गरिदिन्थी।
दिनहरु यसरी नै बित्दै गए।
लगातारको गृह प्रवाशले वाक्क दिक्क हुन थाल्यो दधिराम। उसको हालत पानीबाट निकालेको माछाको जस्तै थियो। मानसिक शान्तिको खोजिमा ऊ १५ दिन लामो पहाडी पदयात्रामा निक्लियो।
पदयात्राबाट फर्किने क्रममा ऊ खाइखेलेको पुरानो अफिसमा बास बस्न पुग्यो। ऊ पुग्दा गेटमा चौकिदारबाहेक अरु कोही थिएन। पाँच बजिसकेकोले कार्यालय परिसर सुनसान थियो। उसले चौकिदारसँग आफ्नो परिचय भूतपूर्व सचिवका रुपमा दियो।
दधिरामले चौकिदारसँग अँगालो हाली फोटो खिच्यो अनि उक्त फोटो फेसबुकमा पोष्ट गर्यो। खाना खाएर सुत्ने तर्खरमा थियो दधिराम, कार्यालय प्रमुख रमेश रक्सीको नशामा लरखराउँदै आइपुग्यो।
‘सरको खानपिन अतिथि गृहमैँ गराउने विचार थियो। कामको टेन्सनले भुसुक्कै बिर्सेछु। सेवकले भोलि पनि समय दिन नभ्याउने भयो। बिहानै जरुरी मिटिङमा जानु छ’ रमेशले भन्यो।
दधिराम बिहानै अतिथि गृहको बिल चुक्ता गरी त्यहाँबाट हिँड्यो। काठमाडौँ फर्किँदै गर्दा प्रमुख रमेशको फोन आयो।
‘सरले अतिथि गृहमा पिउनु भएको तीन बोतल पानीको बिल चुक्ता गर्न बाँकी रहेछ! थप साठी रुपैयाँ दिनपर्नेभो सर!’ उसले भन्यो।
ऊ त्यही रमेश थियो जो भ्रष्टाचारजन्य कसुरमा विभागीय कारबाहीको निकट पुग्दा दधिरामले नै उन्मुक्ति दिलाइदिएको थियो। त्यही व्यक्तिले अतिथिगृहमा पिएको तीन बोतल पानीको पैसा मागेको देख्दा दधिरामको मन नराम्ररी कुँढियो।
त्यस घटनापछि दधिराम एक किसिमको मानसिक व्याधीको शिकार हुन पुग्यो। ऊ विगतसँग वर्तमानको तुलना गर्थ्यो। हिजोको हराभरा जीवनसँग वर्तमान निरश पलको तुलना गर्दा उसको मुटु भक्कानिएर आउँथ्यो। डाँको छोडेर रुन मन लाग्थ्यो।
दधिरामले हालसालै मन्त्रालयका सचिवहरुको सेवा निवृत्तिपछिको आयुबारे एउटा अनुसन्धानात्मक आलेख पढेको थियो। जसमा अधिकांश सचिवहरु सेवानिवृत्त भएको सात वर्षभित्रै मरेको निष्कर्ष पेश गरिएको थियो।
उक्त अनुसन्धानात्मक आलेख पढेपछि दधिराम मानसिकरुपमा थप असन्तुलित हुन थाल्यो। कहिलेकाहीँ त असुरक्षा र भयको चिन्ताले चितासम्मै पुर्याउला जस्तो गर्थ्यो। अनि त मानसिक जलनको मलमपट्टी गर्ने बहानामा दधिरामले मदिरासँगको सहकार्य बढाउन थाल्यो। उसको सोकेशमा पदमा छँदा संकलित मदिराका बोतल बाँकी नै थिए।
दधिराम बेलाबेलामा पागलजस्तै व्यवहार देखाउँथ्यो। बिहानको खाना खानुअघि दौरा-सुरुवाल, कोटसहितको निजामती पोशाकमा ठाँटिएर भान्सामा जान्थ्यो। सडकमा गाडी हुइँकेको आवाज सुन्दा ‘ड्राइभर लिन आइसक्यो, छिटो खाना पस्क भन्दै श्रीमतीलाई कराउँथ्यो।
लोग्नेको बिग्रँदो स्वास्थ्यका कारण सरु चिन्तित थिई। ऊ दधिरामलाई लिएर डक्टरकोमा पुगी। अनुसन्धानपछि डक्टरले ऊभित्र गहिरो मानसिक असन्तुलन रहेको जानकारी दियो।
दधिराम सपना पनि नराम्रो देख्ने गर्थ्यो। पार्टी-भोजभतेरमा जान छोडिसकेको थियो। मानसिक बेचैनीविरुद्धको युद्धमा एन्जाइटी नासक चक्की उसको एक मात्र सहारा थियो। कहिलेकाहीँ त डक्टरले तोकेभन्दा बढी डोज औषधि निलिदिन्थ्यो ऊ। हुँदाहुँदै उसको अवस्था त्यतिले पनि नछुने बिन्दुमा पुग्यो।
नयाँ वर्षको आगमनले उसमा उत्साह हैन, मृत्युभय थप्ने गर्दथ्यो। आकाशमा उदाएको नयाँ वर्षको सूर्य कहिल्यै नअस्तावस् भनी भगवानसँग प्रार्थना गर्थ्यो ऊ। दधिरामलाई सबैभन्दा धेरै भय मृत्युको थियो।
कतै आफू पनि अनुसन्धान आलेखमा उल्लेख भएजस्तै अवकाशको सात वर्षभित्रै मरिहाल्छु कि भन्ने डरले सिन्काझैँ भैसकेको थियो ऊ। श्रीमती सरुको ढाडसको बावजुद उभित्रको डर दिन दुईगुना, रात चौगुना बढ्दै जान्थ्यो।
सेवानिवृत्त भएको छैटौँ वर्षसम्ममा ऊ शारीरिक रुपमा पनि जीर्ण भैसकेको थियो। सातौँ वर्ष कहिल्यै नआवस् भन्ने चाहन्थ्यो दधिराम! तर आइछोड्यो।
सेवानिवृत्त भएको सात वर्ष पुग्न एक हप्ता बाँकी थियो। अन्तिम अवस्थामा पुग्यो दधिराम। श्रीमती सरुले लोग्नेको अन्तिम इच्छा सोधी।
‘पैसा! पैसा!’ सासको आवाजमा दधिरामले आन्तरिक इच्छा जाहेर गर्यो।
‘मर्ने बेलामा पैसा-पैसा किन भन्दैछ दधिराम! के कुनै दण्ड चुक्ता गर्न बाँकी थियो दधिरामले?’ कुरुवा बसेका छरछिमेकीले खासखुस गरे। तर त्यसको ठोस जवाफ चित्रगुप्तबाहेक अरुसँग थिएन।
लोग्नेले भन्यो भन्दैमा मुखमा पैसा कसरी राख्नू! अन्कनाई सरु। सिक्का मुखमा नराखिदिँदासम्म सजिलोसित प्राण नजाने भयो दधिरामको।
बलिन्द्रधारा आँसु झार्दै सरुले दधिरामको मुखमा तामाको सिक्का राखिदिई। तब मात्र दधिराम कहिल्यै नबौरिने चीर निद्रा निदायो।