मेरो कथा चराहरु उड्दै गरेको बिहानीबाट सुरु हुन्छ
तर अब गोली लागि खसिसकेका चराहरुले
मेरो कथा न त सुन्न सक्छन् न त भन्न नै
मेरो कथा मेरो साथीले थामेको मेरो हातबाट सुरु हुन्छ
तर अब मेरो साथीको आलो चिहानले
मेरो कथा न त देख्न सक्छ न त लेख्न नै
मेरो कथा बुद्धले तपस्या गरेको बोध वृक्षबाट सुरु हुन्छ
तर अब काँधमा बन्दुक भिरेको बुद्धले
मेरो कथा न त सहन सक्छ न सम्झाउन नै
मेरो कथा अविरल बग्ने इन्द्रावतीबाट सुरु हुन्छ
तर अब रगत लिएर बग्ने इन्द्रावतीले
मेरो कथा न त थाम्न सक्छ न त बगाउन नै
त्यसैले आजभोलि
सुनसान देउरालीको रक्ताम्य चौतारीमा
म आफ्नो कथा आफैलाई सुनाउँछु
आफ्नो साथी आफैलाई बनाउँछु
किनकि,
म आफ्नो कथा सुन्न सक्छु, भन्न सक्छु
म आफ्नो कथा देख्न सक्छु, लेख्न सक्छु
हिमाल झैं अटल छाती लिई
म मेरो कथा सहन सक्छु
आफ्नो मनलाई सान्त्वना दिंदै
म मेरो कथा सम्झाउन सक्छु
पत्थरिलो हृदयहरुबीच
म मेरो कथा थाम्न सक्छु
अविरल अश्रुधाराहरुमा
म मेरो कथा बगाउन सक्छु।