फेरि हिँड्नेछ मजदुर
खाली पैतला
पूर्व-पश्चिम राजमार्ग
फेरि हामी
कोर्नेछौ देशको नक्सा
थुप्रै अखबारहरूमा अब
उसका रगताम्य पैतलाका
डोबहरू हुनेछन्
केही दिनका हेडलाइन
केही छिनका समवेदना
उफ् सम-वेदनाको नाटक
न उसको मन्दिरको देवता
आफ्नो भयो
हे भगवान!
अक्षर बिलाउँछ हावामा
न उसको लागि सरकार
आफ्नो भयो
हे सरकार!
फगत अक्षर-ध्वनी घाटीमै सुक्छ
संविधानका गिज्याइरहने
काला अक्षर
उसैको लागी भैसी बराबर
दम घुटेर आखरी सास फेर्दा
उसले कसलाई पुकार्छ होला?
माटोमा निधार ठोक्दै गर्दा
माटोलाई सराप्छ कि सराप्दैन उसले?