हावा, हुरी, हुण्डरीले एकछिन बिसाउने छाँट देखाएपछि मेरो आत्माले कफी त पिला यार भन्नथाल्यो।
म शरीर लिएर यसो बाहिर निस्कें, र सबभन्दा नजिकमा भेटिएको क्याफेमा लुसुक्क छिरेँ।
काउण्टरमा घोप्टिरहेकी युवती उमेरकी अननोन् गर्ल, सिलौटो र लोहोरोसँग संघर्षरत् अधबैंसे पुरूष सायद साहुजी हुनुपर्छ र लसुनमा नङ गाढिरहेकी एक अधबैंसे महिला उनी साहुनी हुन् कि! यी तीनबाहेक अरू कोही थिएन त्यसबखत।
म चुपचाप भित्र छिरेँ र एउटा टेबलमा आधिपत्य जमाएँ।
केही क्षणमा तीन जना युवक कल्याङमल्याङ गर्दै भित्रिए। तीनमध्ये तीनै जना एकै समयमा बोलिरहेकाले कुन विषयमा यत्रो चर्को बहस चलिरहेको थियो मैले मेसै पाइनँ।
साहुजी बल्ल मेरो छेउमा आए।
कफी उच्चारणका खातिर मुख आँ… मात्र हुँदैथ्यो। ‘तपैँ पल्लो टेबिलाँ बस्दिनु न’ भनेर लगभग थर्काएर गए।
म खलिल जिब्रानले 'ह्वेर आर यू माई बिलभ्ड' भनेको ध्यान दिएर सुन्दै थिएँ।
जिब्रानकी प्रेमिकाको चिन्तामा थिएँ, साहुजीसँग वादविवाद गर्ने वा मन अमिलो बनाउने मुडमै थिइनँ चुपचाप सरेँ। र भनेँ, 'एउटा कफी है।'
ती तीनले तीन थान चिसो र तीनै थान चुरोट मगाए।
तीनको तीन चिसो र तीन चुरोट ढुवानी गर्ने साहुजीलाई फेरि मेरो कफी भनेर पुलुक्क हेरेँ।
आँखा जुध्यो, उहाँको आँखामा ‘यी खालास् कफी’ लेखेको छ कि झैं लाग्यो। खैर ‘लिभ इट’ यहाँ जिब्रानकी प्रेमिका हराइरहेकी छे, यो महत्वपूर्ण छ।
धेरैबेरपछि पनि सामुन्नेमा कफी नदेखेपछि तात्तिनुको सट्टा म स्वाट सुट्टै सेलाएँ। जिब्रान त जिल्ल नै पर्यो।
किचनतर्फ टाउको बटारेर पुलुक्क चियाएँ। फेरि साहुनीसँग आँखा जुधि त गयो।
हतासमा कफी फुत्कियो मुखबाट।
साहुनीको आवाज त सुनिनँ, कुन भनेजस्तो लाग्यो। ब्ल्याक भनें। केटाहरूको कल्याङमल्याङ सयको उनान्सय भएकै थिएन।
जिब्रान प्रेमिका खोज्न एकीकृत भएर लागेका थिए, नत्र ती केटाहरूको हल्ला सुनेर दिमाग खाए यार यिनले भन्थे होला पक्कै।
जिब्रान प्रेमिका खोजिरहेछन्।
‘प्रिय मलाई नबिर्स’ भनेर याचना गरिरहेछन्। यदि बिर्सियौ भने, म फेरि कहिल्यै नसम्झिने गरी बिर्सिदिन्छु भनेर घुक्र्याइ पनि रहेछन्। मलाई लाग्छ यिनीहरूको सानो निकै सानो कुरामा झगडा भएको हुनुपर्छ। वा जिब्रानको किचकिच सहन नसकेर प्रेमिका वाक्कदिक्क भएर जिब्रानबाट टाढा भएकी हुन सक्छिन्।
हुन त जिब्रान शान्त स्वभावका हुन्, तर प्रेमिकासँग बाह्रै काल यस्तो स्वभाव भइरहने अलौकिक कला जिब्रानले पनि नभेटेकै हुनुपर्छ, हगी?
साहुजी सेतो/गहुँगोरो हातमा हरियो मग, हरियो मगमा कालो कफी बोकेर प्रकट भए बल्ल र मगलाई टेबलमा, मेरो सम्मुखमा विराजमान गराइरहँदा साहुजीले मनमनै ‘कामधाम छैन लु खा कफी’ भनेको हुनुपर्छ।
कमसेकम साहुजीको अनुहार हेरेर मैले यस्तो अनुमान गरें।
मेरो जिब्रो र जिब्रानले सुरुप्प पार्नसाथ मुख, नाक, आँखा सबै एकाएक खुम्चिए। तर चुइँक्क बोलेनन्। बरू जिब्रानले प्रेमिका खोजिरह्यो, म सघाउँ कि, सघाउँ कि भन्दै सोचिरहें। कफी कस्तो थियो, अर्को एक दिनभरि गफ गरौंला स्वादबारे।
साहुजीले तातेर खरिएको तेलमा सुकेको खुर्सानी झ्वाँइ बनाए र चलाउन थाले उता किचनमा।
यता मेरो घाँटी खिर्यायो र खोक्नुपर्ने, हाच्छिउँ गर्नुपर्ने, स्याँक स्याँक, सुँकसुँक गर्नुपर्ने बाध्यता आइपर्यो।
तर, साहुजी साहुनीको अघिदेखिको प्रस्तुतीले त्रसित म केही गर्न सकिनँ।
बजारमा कोरोना छ, खोक्नु, हाच्छिउँ गर्न स्याँक स्याँक, सुँक सुँक गर्न मनाही छ। तर जिब्रान अन नोन् छ। ऊ डुबेको छ, प्रेमिका हराएकी छे।
उसले प्रेमिकालाई भन्नुपर्ने, याचना गर्नुपर्ने, र कसम खानुपर्ने जति सबै सकाएर बिदा लियो।
म साहुजीसँग बिदा माग्न बाहिर निस्केँ।
उता फर्केर खै के गर्दै गरेकी साहुनी दूरीमा नजिक देखेर कति भयो भन्ने शब्द पुकारेँ तर जवाफ आएन। एकछिन ठाडै अल्मल्लिइरहेँ। पुनः साहुजीसँगको दूरी अलिक घटाएर (जो अघि डढाएको खुर्सानीमाथि मासुजन्य पदार्थ खन्याएर मरीमरी असिनपसिन यताउता चलाइरहेका थिए, बडेमानको कराइमा) कति भयो भनें। उनको हात व्यस्त थियो, मुखको चोसो निकालेर यसो काउण्टरतिर फर्काए।
जहाँ युवती घोप्टिएको घोप्टियै थिई। नजिकै पुगेपछि बल्ल थाहा भयो, खासमा उसको काखमा मोबाइल फोनको स्क्रिन चलाएमान थियो। सिधा अगाडि ठिंग उभिएको म एकछिन ट्वाँ पर्दिएँ/एकोहोरिएँ।
अनुहार त थिएन सिधा अगाडि निहुँरिएको टाउको देख्न सकिन्थ्यो।
कतै जिब्रानकी हराएकी प्रेमिका त होइन यो नानी! मसँग बोल्दिन, हेर्दा नि हेर्दिन। म जिब्रान त होइन। म फकाउन आएको त झनै होइन। कि जिब्रानको खोजीमा साक्षी भएँ भनेर मसँग पनि रिसाएकी पो थिई कि!
एनि वे मेरो आजको सबसे बढी रिपिटेड डायलग ‘कति भयो’ उच्चारण गरेँ।
एकछिनको ग्याप राखेर, महाकाली जस्तो उग्र रूपझैं लाग्ने आँखाले पुलुक्क हेरी युवतीले र तत्कालै याचनासहितको तर डरलाग्दो नजर साहुजीतर्फ फ्याँली। ती साहुजी र साहुनी पक्कै श्रीमान-श्रीमती हुनुपर्छ र युवतीका बा, आमा भनेर अनुमान त सहजै लाउने चलनै छ। ठोकुवा गरे नि भो, नगरे नि भो।
साहुजीले वजनदार आवाजमा ‘६०’ भनेपछि, युवतीको एकदम बेवास्तापूर्ण र लापरबाही नजर मतिर घुम्यो।
मैले खल्तीबाट एकदम मेहनत गरेर, खोजेर, मिलाएर ट्याक्र्याक्कै ‘साठी’ नै रकम उनको हातमा थमाएँ।
सायद फिर्ता माग्ने साहसको धज्जिया उडिसकेको हुनुपर्छ मेरो। मन न हो के-के सोच्न बाध्य भैजान्छ कहिलेकाहीँ।
उनीहरूले थाहा नपाउन्, तर आज यी तीन जना मिलेर मेरो करङको गितार बजाउँछन् होलाझैं लाग्यो, हैट्।
हे प्रभु, त्यो युवती जिब्रानको हराएकी, गुमेकी प्रेमिका नहोस्, मेरो कामना छ। आमिन।