आज धेरैपछि हृदयको एल्बम पल्टाएको, सबैभन्दा धेरै तिम्रै तस्बिर रहेछ। साथी! साँच्चै साथीको परिभाषा के हो भनेर कसैले हजुरलाई सोध्यो भने के भन्नुहुन्छ?
आ-आफ्नो जिन्दगीको भोगाइको आधारमा हामी सबैको परिभाषा फरक होला। तिमी यो जीवनमा आउनुपूर्व ‘साथी’ शब्दको खासै महत्व थिएन। तिमीले नै सिकायौ यसको परिभाषा, महत्व र योसँग जोडिएको आत्मियता।
'एक्स्क्युज मि! यो सिट खालि हो? म यहाँ बस्दा हुन्छ?' तिमीले मसँग गरेको पहिलो संवाद आजपनि ताजा छ। खै! के थियो तिमीमा, पहिलो दिन नै आफ्नोपन महशुस भएको थियो।
म धेरै बोल्न नरुचाउने, तिमी बोलि रहनुपर्ने। म एकान्त रुचाउने, तिमीलाई मास चाहिने। म आफ्ना भावना डायरीको पानामा लेख्ने, तिमी चिच्याई चिच्याई अरुलाई भन्ने। केही समानता थिएन हामीबीच। सायद त्यही भएर एकअर्कालाई खास थियौं हामी। तिमीलाई सुन्ने साथी चाहिने, मलाई बोल्ने, खुब मिलेको थियो हाम्रो जोडी।
समय सधैँ एउटै हुने रहेनछ। जीवनमा आईपर्ने परिस्थितिले गर्दा मान्छेको व्यवहार नै परिवर्तन हुने रहेछ। सधैं हाँसिरहने तिमीले आफ्नो पकेटमा भिजेको रुमाल लुकाइ हिँडेका रहेछौ। मुटुमा चोट, मनमा पिर तर पनि ओठमा मन्द मुस्कान यसरी नै बाँचेका रहेछौ।
कति सकरात्मक थियौ तिमी, म एकोहोरिएर बस्दा यो टेन्सन लिने बानी आजैबाट छोड् त, वर्तमानमा बाच्न सक्नुपर्छ पछि जे हुन्छ त्यो त्यतिबेला नै व्यहोरिन्छ भन्ने तिमी आफ्नो जीवनमा किन लागु गरेनौ?
विश्वमा करिब ८०५ मानिस डिप्रेसन र मानसिक रोगको शिकार बन्न पुग्छन्। त्यसमध्ये ८ लाख मान्छे वर्षेनी आत्महत्या गर्छन्। १५ देखि २९ वर्षसम्मका मान्छेको मृत्यु हुनुको दोस्रो मुख्य कारणको रुपमा आत्महत्यालाई लिइन्छ।
मैले कहिले कल्पना पनि गरेकी थिइन, ती ८ लाखमा एकजना मेरो प्रिय मान्छे पनि हुनेछ। जिन्दगी एक युद्ध न हो जुन युद्ध तिमीले लड्नु अघि नै हार मान्यौ।
तिमीले छोडिगएको यतिका दिन भैसक्यो तर आज पनि ताजै छ त्यो अन्तिम फोन कल।
मः कता छौ? म कलंकी छु, आऊ न भेट्न। धेरै भयो नभेटेको।
ऊः घरमै छु। अहिले आउन पाउँदिन, घरमै आऊ न।
मः घरमा त अहिले नआउनी। एग्जाम छ, सकेपछि आउँछु नि ल।
ऊः हुन्छ, नर्बिसी आऊ ल, म पर्खिरहन्छु।
कसले सोचेको थियो यो नै तिमीसँगको अन्तिम फोन कल हुनेछ भनेर! यो कल भएको चार दिनपछि मैले तिम्रो मृत्युको खबर सुन्छु भनेर कल्पना नि गरेकी थिइनँ। सायद तिमीले अरु दुई दिन पर्खेको भए त म आउने थिए नि। अरु केही गर्न नसके पनि तिम्रो मनको भारी बिसाउने शितल चौतारी बनिदिन्थेँ तर तिमीले त त्यो मौका पनि दिएनौ।
मोबाइलको ब्राइटनेश घटाएर ब्याट्री टिकाए जस्तो सजिलै सकेनौ तिमीले आफ्नो खुसीहरु टिकाउन। थाहा थियो टुट्दै थियौ तिमी तर सधैँ टुट्नुको मतलब खतम हुनु भन्ने त हुँदैनथ्यो। कहिले काहीँ टुट्दा जिन्दगीको नयाँ सुरुआत नि हुन सक्थ्यो तर तिमीले बाटो नै फर्यौ।
साथी मात्र थिएनौ तिमी, मेरो मार्गदर्शक, एक्लोपनको सहारा, मेरा लेखहरुको प्रशंसक र सधैं हौसला दिने प्ररणाको स्रोत थियौ। थाहा छ मलाई मेरो लेखको प्रतिक्षा गर्ने कोही छैन वा मैले लेख्न छोड्दा यो टपिकमा लेख भनेर हुकुम दिने नि कोही छैन। एक्लोपनमा रमाउने म आज त्यसैसित टाढा भाग्दै छु किनकि थाहा छ मलाई 'कति एक्लै बस्छेस्, छिटो मेरो घर आइजा' भन्ने कोही छैन।
याद आउँछ धेरै तर बोलेको वचन, बगेको खोला, बिताएको समय, टुटेको विश्वास, छुटेको सम्बन्ध र मरेको मान्छे कहिल्यै फर्किएर आउने रहेनछन्।
सायद फर्कि आउँथ्यौ त सोध्थेँ 'किन प्रतिक्षा गरेनौ?' जिन्दगीमा हरेक कुराको एउटा समय हुन्छ। छायाको साथ चाहिन्छ भने सूर्यलाई पर्खिनै पर्छ। हुन त पल पल मर्नुभन्दा एकैपटक मर्नु उचित ठान्यौ होला तर अलि समय प्रतिक्षा गरेको भए आजको पीडा सम्झेर भोलि हाँस्ने दिन पनि आउँथ्यो कि।
तिमी छँदा त हरेक दिन नयाँ कुरा सिकाउँथ्यौ तर जाँदा पनि नयाँ पाठ सिकाएर गयौ। आजभोलि मैले ओठको मुस्कानमा छिटै विश्वास गर्न छाडेकी छु किनकि जति कुरा यसले बताउँछ नि त्योभन्दा धेरै लुकाउने रहेछ।
यो हृदयले भन्न चाहेको कुरा शब्दमा बयान गर्दै छु। यहाँ बयान गर्न नसकेको तिमी आफैँ बुझ ल। जहाँ छौ आज तिमी खुसी रहनु है! धेरै धेरै सम्झना।