ठडियो धरहरा
ठडियो हाम्रो धरोहर
तरसँगै ठडियो
उसको सत्ता र अहमताको आयु
ऊ गर्वले छाती फुलाउँदै
वर्षौंको इतिहास बिर्से झैँ गरेर
चोक चोकमा उर्दी जारी गर्दैछ
र फगत फुग्दैछ
विजय उत्सवको शंख।
म बुद्धभूमिको मान्छे
मलाई कोलाहल मन पर्दैन
म हेर्छु र मौन छु
धरहराले अझै बिर्सिएको छैन
आफ्नो धरातल
तर उसका रैति अनि आसेपासेहरु
आफ्नै धरातल बिर्सिएर
नाचिरहेछन् शंखको तालमा
मदारीले बाँदरलाई नचाए सरह
चोक चोक अनि गल्लीहरुमा।
अचेल
गल्लीहरु सुनसान छन्
चित्कार छ चारैतिर
मृत्युको कालो बादल
मडारिरहेछ गरिबका बस्तीहरुमा
एकनाससँग कराइरहेका छन्
हाप्सीलोहरु
आकाशमा उडिरहेछन् एक हुल गिद्धहरु
शान्त अनि मौन छ
सुसाउने राप्ती नदी पनि
तर पनि ऊ आफूलाई सर्वश्व ठान्छ
तैपनि उसलाई प्रवाह छैन
चित्कार र लासका माथि
बनाइरहेछ आफ्नो साम्राज्य।
अनि म हेर्छु ठडिएको धरहरा
सम्झन्छु उसलाई
कानमै गुञ्जन्छन्
उसका देशभक्तिका खोक्रा भाषणहरु
अनि सम्झन्छु मेरो देशलाई
अझै पनि
सत्ताको पराकम्पनमा हल्लिरहेछ
जो प्रकृतिको भूकम्पभन्दा
सयौँ गुणा घातक छ
र त भत्किरहेछन् आस्था अनि विश्वासहरु
भग्नावशेषमा विलीन हुँदैछन्
सहिदका बलिदानका गाथाहरु
र सँगै विलीन हुँदैछन्
नयाँ नेपालका सपनाहरु।