जीवन र जगतका
यावत बिम्ब र प्रतिबिम्ब माझ
आफ्नो अस्तित्व कोर्ने उच्च अभिलासा
जिजीविषा माझ नै लुप्त हुँदा
हरेक प्रयासले असफलताको सिँढी चुम्दै गर्दा
एकै पटक नेपाली आकाशमा स्वच्छन्द उडिरहेको एउटा युवा म
बिरानो मरभूमिमा रगतको पसिना बगाउन विवश
त्यही नेपाल आमाको काखमा देखेको सपना पूरा गर्न
केही थान डलरसँग आफ्ना सपना साट्दै छु
रुमानी सपना जसले हिजो आज निदाउन दिँदैन मलाई
१२ घन्टाको अथक परिश्रम पश्चात पनि
थाकेका मेरा आँखा बन्द हुँदैनन्
लाग्छ छोड्दिम् सास फेर्न
बन्द गर्दिम् मुटुको धड्कन
प्रकृतिले पनि किन नराखेको हो
अन-अफ स्विच मानव शरीरमा
केही क्षण बन्द गरेर राख्नु छ मलाई
मेरो मन र मस्तिष्कलाई
मृत्युलाई नै अङ्गालिहाल्ने गरी कायर हुनु छैन मलाई
किनकि जिम्मेवारीको पहाडको भारी
कसले बोक्छ मेरो परिवारको
केही प्रतिशत भएपनि अर्थतन्त्र धान्न
कसले पठाउला रेमिट्यान्स
आफ्ना रुमानी सपनाहरु साटेर केही थान डलरसँग
अघिल्लो पटक पठाएको पैसाले सानीले
खरको छानो टिनसँग साटी रे
खर्च गर्ने पैसा छैन भन्दै थिई
म काठको बाकसमा फर्केँ भने!
अनि सरकारले संघीयता धान्न भनी
मेरो लासमाथि कर जारी गर्यो भने!
सानीले कसरी तिर्ली त्यो कर
सरकार त जहिले पनि निर्दयी न हो
मलाई पनि नन्दप्रसाद अधिकारी सँगै
टिचिङको मुर्दाघरमा कति महिना राख्ने हो
अहँ! म मेरो क्षणिक तनाव हटाउन
मेरी उनीलाई जिन्दगीभरि तनाव दिन चाहन्नँ
केवल जिजीविषा अर्धचेत भएको यो क्षण
केही क्षणलाई विश्राम मात्र चाहेको छु
त्यसैले मैले मेरो शरीरमा
अन-अफ स्विच चाहेको छु।