एउटा मित्र थियो, गयो मुलुक यो छोडेर टाढा भयो
आफ्नै भाग्य बनाउने रहरमा नेपाल छोडी गयो
छोरीको ममता लिएर मनमा आँसु खसाली गयो
न्यानो काख यहीँ थियो प्रियतमा छोडेर एक्लै गयो।
आमाको मन भित्र घाउ छ कठै! चर्को बनाई गयो
आफ्नै भाग्य बनाउने रहरमा नेपाल छोडी गयो।
चौतारी बरको दुबो चउरको वैशाखको यामको
सेता शैल हिमालको शितलता छोडेर खाडी गयो।
तिम्रो निम्ति यहाँ अथाह चिज छन् तिम्रै भकारीभरि
आफै मालिक हौ, कठै नियतिले जोगी बनाए पनि।
यो छोरी टुहुरी भई अब तिमी सम्झेर आऊ घर
तिम्रो आँगनमा छ फूल कलिलो फर्केर आऊ घर।