एक्काइसौं शताब्दीको प्रेम अर्थात् सामाजिक संजालको प्रेम अझै भनूँ फेसबुके प्रेम। अहिले फेसबुकले नछोएको मान्छे को पो होला र? कोही छन् भने अक्षरै नचिन्ने वृद्धवृद्धाहरु हजुरबा-हजुरआमाहरु होलान्।
फेसबुकले प्रेम जुराए पनि नजुराए पनि फेसबुकसँग त हरेकको प्रेम जुरेकै छ। बिहान उठेर बाथरूम जानु पहिले मोबाइलमा फेसबुक खोलेर नहेरी त दिनको सुरुआत नै हुँदैन, सायद बिहानै उठेर फेसबुक नहेर्ने हो भने पछि सुर्योदय नै पो हुँदैन कि जस्तो पो लाग्छ।
अनि साँझ सुत्ने बेला बेडमा पल्टिसकेपछि एकछिन फेसबुक नखोले निद्रा लाग्ने त कुरै छोड्दिम्, मलाई लाग्छ रात नै पर्दैन।
खाना खाएकोदेखि ट्वाइलेट गएको सम्म। यहाँसम्म कि 'गाइज, आज मलाई कब्जियत भयो हेर्नुहोस् त यस्तो दिशा आयो, गाइज आज मलाई पखाला लाग्यो हेर्नुहोस् त यस्तो दिशा आयो, गाइज हेर्नुस् है यो चाहि म:म खाएको दिशा' भन्दै गुको फोटोले सम्म स्थान पाउँछ।
यो त भयो फेसबुकसँग जुरेको प्रेम। जुन प्रेमको अनुभव नभएको कोही छँदै छैन त अहिले कुरो पनि के गर्नू।
फेसबुकसँगको प्रेम त छ नै फेसबुकले अरु मान्छेसँगको प्रेम जुराएको पनि छ, चोराएको पनि छ। प्रेम नै चोराएको कुरा त चोरिएकैले गरे राम्रो होला म त कुरा गर्दै छु मन चोराएको अनि प्रेम जुराएको कुरा।
कति सजिलो के खोज्न पनि, फ्याट्ट नाम सर्च गर्यो अनि याड फ्रेन्ड थिच्यो एसेप्ट भयो अनि 'हाइ'बाट सुरु भयो अनि कहाँ पुग्यो पुग्यो।
अँ साँच्ची! यसलाई त फेसबुकले जुराको नभनम् होला र मेरो कुरा त यो पनि होइन। फेसबुक चलाउँदा हजुरले एउटा कुरा याद गर्नु भा छ? पक्कै याद गर्नु भा छ। आउँछ नि कहिले काहीँ बज्छ नि फलानोको फ्रेन्ड सजेसन भनेर नोटिफिकेसनको घन्टी।
त्यस्तै 'पिपुल यू मे नो' भनेर केही मान्छेहरुको फोटो देखाउँदै फेसबुकले नै गरेको सजेसन। हो, यसरी जुरेको प्रेमलाई भन्दै छु मैले फेसबुकले जुराको प्रेम।
दुनियाँका ऐरे गैरे साथीहरुका नाना भाती फोटो र पोस्टमा टुच्च-टुच्च रियाक्ट थिच्दै जाँदा केहीका प्रोफाइल देखाउँदै पिपुल यू मे नो भनेर फेसबुकले भनेपछि लाग्यो कतै चिनेको पो छु कि? थोरै सारेर हेरेँ।
बीचैमा आएर एउटा प्रोफाइलमा नजर रोकियो। केही म्युचुअल फ्रेन्ड पनि छन्। को हो? प्रोफाइल पुरै खोलेर हेरेँ। हेर्दा हेर्दै एकै पटकमा के भयो के भयो। फोटो आकर्षक रहेछ।
फोटोले नै आकर्षण गर्यो भनम् भने पनि त्यस्ता कति फोटोमा रियाक्ट थिचियो थिचियो। अरे कुनै ठुलै सेलेब्रेटी रहिछ भनेर लोभ लागेको पनि हैन। ओहो! यो त यस्तो रहेछ योसँग नजिकिए भने त यो पो पाउँछु, मलाई यस्तो फाइदा हुन्छ त्यो पनि छैन। जे होस् उसँग जोडिन मन लाग्यो, रिक्वेस्ट पठाएँ।
१ घण्टा त उस्कै बारेमा सोचेरै बित्यो। फेरि फेसबुक खोलेर हेरेँ, अरे वाह! रिक्वेस्ट एसेप्ट भएछ। साह्रै खुसी लाग्यो। त्यति खुसी कि, कुनै दिन बाटोमा हिँडिरहँदा अचानक बाटोमा हात्ती भएका २/४ वटा नोट भेटिँदा नि नलागेको।
कहिल्यै केटीसँग नबोलेको म उसँग भने नबोली बस्न मनै मानेन। लेखिहालेँ 'हाइ!' उस्को रिप्लाई पनि आयो। अब त झनै खुसीको सीमा हुने कुरै भएन। राम्रोसँग चिन्जान भएको छैन, मनले भने कहाँ पुर्याइ सक्यो सक्यो। दायाँ बायाँ कतै केही सोच्न सकेन मनले, जम्मै उसैलाई सम्झिन र कल्पिन थाल्यो।
कल्पना र सम्झिने त कुरा नगरेकै बेस होला, जीवनमा पहिलो पटक यस्तो फिल हुँदैछ। त्यो फिल बयान गरेर कहाँ सकिन्छ र! केही दिन अलि-अलि बोलचाल भयो। मलाई त बोलिरहन मन लाग्थ्यो तर उस्लाई सायद थिएन होला, त्यसैले मैले प्रश्न गर्थेँ। उस्को जवाफ आउथ्यो, त्यो पनि मैले पहिले नै भनेको जस्तो कि एक शब्दमा जवाफ दिनुहोस्।
लौन मलाई पनि कति हतार भएको न देखेको मान्छे हो न भेटेको मान्छे हो, फेसबुकमा भेटियो २/४ दिनका केही कुरापछि सिधैँ माया गर्छु पो भनिदिएँ। उस्ले के सोच्यो होला? कस्तो मान्छे ठान्यो होला? अरु सबै कुरा छोडेर उस्को पछि लागेको मनले दिमागले ऊ बाहेक अरु केही सोच्न नि सकेन।
अघिसम्म बुरुक-बुरुक उफ्रेको मन अब खिन्न पो हुन थाल्यो। मेरो मेसेज सिन भयो। रिप्लाई आएन। रिप्लाईको आशा छ तर सिन भयो रिप्लाई आएन। कताकता गल्ती गरेजस्तो पनि लाग्न थाल्यो, आजै नभनेको भए पनि हुन्थ्यो, उस्ले के सोच्यो होला अनेक थरी कुराहरु मनमा खेल्न थाले।
यस्तै कुराहरुले सताइरहे, घरि उस्को प्रोफाइल हेर्ने घरी मेसेजहरु हेर्ने गरीगरी दिन कट्थे। तेश्रो दिन फेरि नबोली बस्न नि सकेन। 'सरी' भनेर बोलेँ। 'इट्स ओके'को रिप्लाई पनि पाएँ। उस्लाई मन पर्दैन भनेर जवाफ पनी पाएँ।
साह्रै नरमाइलो लाग्यो। आजसम्मको सबै खुसी एकैछिनमा घोप्टियो। मैले ऊबाट सुन्न नचाहेको जवाफ सुनेँ। म केही बुझ्न नि सकिनँ अल्लमल्लमा परेँ। मनमा निराशा छायो। बोलूँ बोलूँ लाग्छ तर त्यही कुराले फेरि बोल्न पनि अप्ठ्यारो लाग्न थाल्यो।
पहिले कहिल्यै सोचिनँ कि ऊ अरु कसैसँग सम्बन्धमा छ कि भनेर। उस्लाई भनिसकेपछि पो आयो दिमागमा। सायद अरु कसैसँग सम्बन्धमा छ कि भनेर अड्कल पनि काटेकै हो।
तर एक मनले अरुकै सम्बन्धमा छ होला भने पनि अर्को मनले कहिल्यै मान्दै मानेन। उस्लाई सम्झिन र उस्का लागि अनेक कुराहरु सोच्न मनले कहिल्यै छोडेन। बोल्न भने अप्ठ्यरो लाग्थ्यो, त्यही पनि पुर्ने आएजस्तै कहिलेकही बोली हाल्थेँ।
बोल्दा उसैको करमा हजुरको सम्बोधनबाट म तिमीमा पुगेको थिएँ। उसँग नबोले पनि उस्को प्रोफाइल नहेरेको दिन सायद आजसम्म छैन। हरेक दिनजसो उस्को प्रोफाइलमा स्याड पोस्टहरु नै सेयर भएको हुन्थे। त्यो पोस्ट सेयर गर्दा ऊ स्याड थिई थिइन, थाहा छैन।
म भने स्याड नभएको दिनै छैन। उस्का पोस्ट मात्रै हैन, आएका कमेन्टहरु समेत एकएक गरी हेर्थेँ तर आफूले न रियाक्ट न कमेन्ट केही गर्दैन थेँ। उस्का पोस्टको कमेन्टहरुमा उस्का केही साथीहरुले अर्कै कसैलाई जोडिरहेका हुन्थे। देख्दा कता-कता नरमाइलो पनि लाग्थ्यो।
उस्को प्रोफाइलको फिचर फोटोमा ९ वटा मध्ये एउटा फोटो थियो, 'तु हि यार मेरा' लेखिएको उसैको फोटो जस्लाई उस्का साथीहरुले जोडिरहन्छन्। पछि एकदिन मैले त्यस्तै सम्बन्धित एउटा पोस्ट सेयर गरेको थिएँ, त्यसपछि त्यो फोटोको स्थान अझै खाली छ।
अरु कसैले सेयर गर्दा मन नपरेका पोस्टहरु उसको प्रोफाइलमा देख्दा मन छुन थाले। अरुको प्रोफाइलमा देख्दा केही फील नै नहुने पोस्ट उस्को प्रोफाइलमा देख्दा मनै बिगारी दिन्थेँ। अझै कहिल्यै उस्ले बिरामी भएको पोस्ट गर्दाको छट्पटीको त झनै के कुरा गरम र!
कहिले काहीँ उसैलाई डेडिकेट गरेर मुक्तकहरु लेखेर पोस्ट गरी उस्ले कतिबेला हेर्छे भनेर गरेको त्यो प्रतिक्षा। अझै उस्को रियाक्ट आउँदा त झन् खुसीको सीमा पो कहाँ रहन्छ र! त्यसैमाथि झन् कमेन्ट आउँदा त खुसीले उफ्रेर एक फन्को नाचेर बसेकोसम्म नि आफैँलाई पत्तो नै हुँदैन।
अनि कहिल्यै उसैलाई गरेको पोस्ट, कतिबेला हेर्छे भनेर प्रतिक्षा गर्दा गर्दा उस्ले नहेरेरै जाँदाको खिन्नता। कस्तो अचम्म, न खुसी हुन बेर न दुखी हुन। यो प्रेमको शक्ति पनि कस्तो गज्जबको। एकैछिनमा बाच्ने आशा जगाइदिन्छ एकैछिनमा बाच्ने आशै भगाइदिन्छ। एकैछिनमा संसार जित्ने आत्मबल दिन्छ, एकैछिनमा आफैसँग हराइदिन्छ।
बेलाबेलामा ऊ फेसबुक बन्द गरेर हराउँथी। नबोले पनि उस्को प्रोफाइल हेर्ने बानी परेको म उस्ले फेसबुक बन्द गरेको दिन झन् कति छट्पटी। उस्को अर्को आइडी पनि भेटएँ उस्कै नामको तर ३/४ वर्ष यता चलाएको छैन, त्यही केही साथीहरुले गरेका बर्थ डे विसका पोस्ट मात्रै देखिन्थे।
र अर्को एउटा नि रहेछ मुस्कान नामको। उस्को नामको आइडी बन्द हुँदा मुस्कान नामको आइडी पनि हेर्थेँ। कहिले काहीँ केही पोस्ट सेयर भएका हुन्थे। अनि उस्को टिकटक हेरेर समय बित्थ्यो। उस्को टिकटक हेरिरहँदा उस्को आवाज सुन्न पाउछु कि भन्ने आशा हुन्थ्यो तर खै कहिल्यै भेटिनँ।
हरेक दिन पर्खिँदा पर्खिँदा १० महिनापछि बल्ल उस्को आवाज सुन्न पाएँ। कतिपटक सुनेँ मलाई पनि थाहा छैन। यति धेरै प्रतिक्षा गरेर सुन्न पाएको आवाज कति प्यारो लाग्यो, जति सुनुँ सुनिरहूँ लाग्ने।
कोठाको ताला फोड्दैगर्दा ताला खोलेपछि 'अन्टी भयो' भनेको डाइलग थियो। त्यही शब्द सुन्न पनि मलाई कति मजा लागेको। उस्को त्यही बोलीलाई अलार्म बनाइदिएँ। त्यसपछि त सपनीमा उसैसँग रमाइरहँदा ब्युझाउने काम पनि उसैको भयो।
उस्को आवाज सुनेपछि निन्द्राबाट त ब्युझिन्छु तर उस्को बोली भने सुनिरहूँ जस्तो लाग्छ। ब्युझिसकेपनि अलार्म बजाएर सुनिरहेको हुन्छु। गीत सुनेको थिएँ 'सँगै जिउने सँगै मर्ने चाह हुँदो रहेछ' साँची आफै प्रेममा परेपछि पो थाहा हुँदो रहेछ।
कहिले त आफैलाई देखेर आफैसँग पनि दिक्क लाग्न थाल्यो। आफैलाई प्रश्न गर्न मन लाग्छ, हैन म के भएको यस्तो? किन यस्तो भैरहेको छु? जस्लाई मेरो कुनै मतलब छैन, मप्रति कुनै फिलिङ्स छैन म भने उसैलाई किन सम्झिरहेको छु?
आफ्ना प्रश्नहरुको जवाफ आफैले पाउँदैन। हुन त अंगालोमै भएको मान्छेले त एक अर्कालाई बुझ्न सक्दैनन्, झनै ऊ त न भेटेको न देखेको। फेसबुकमा भेटेको मान्छे न हो, मलाई बुझेन भनेर गुनासो पनि के गर्नू?
कहिल्यै उसैलाई पाउँ भनेर त कहिल्यै उस्को सम्झना कहिल्यै नआओस भन्दै कुनै भगवान पुकार्न बाँकी पनि राखिनँ।
अब त उस्को बारेमा केही सोच्दै सोच्दैन भनेर बस्छु तर झन् धेरै सम्झिन्छु। हरेक रात निदाउन अघिको सम्झना बिहान ब्युझिँदाको पहिलो सम्झना पनि उही। हरेक दिन बिपनीमा उसैको सम्झना हरेक रात सपनीमा उसैको साथ।
उसको सपनी बिनाको निद्रा छैन, कहिले त लाग्छ बिहानी कहिल्यै नभए पनि हुन्थ्यो। सपनीमै भएपनि उस्को साथमा त हुन्छु।
मैले उस्लाई जोइन गर्दा उस्को प्रोफाइलमा इंलिशमा लेखिएको बायो थियो 'यदि तिमीलाई म मन पर्दैन तर पनि मलाई फलो गरिरहन्छौ भने तिमी मेरो फ्यान हौ।' अब केही सोच्दै सोच्दैन भन्दा पनि उसैलाई सम्झिरहेको छु। सायद म पनि उस्को लागि फ्यान नै भएँ।