आकाश चिथोरेर फोर्नु, जुनको उज्यालोलाई छेक्नु उस्तै कुरा हुन्। गर्नै नसकिने। सहरका बाक्ला बस्ती। लाखौंलाख मानिसका बीचमा एक्लै सानी। युगौंदेखि अधिकार र हकको खोजीमा छन्।
उनलाई हक र अधिकारका विषयमा त महिला अधिकारकर्मीले धेरै पटक सुझाए। बुझाए। तर त्यसपछिको परिणामका बारेमा भने कसैले वास्ता नै गरेनन्। एउटा पुरुषको महत्वकांक्षी योजना।
यौन लतले कति धेरै मानिसको जीवनमा प्रभाव पार्छ सायद यो त भोग्याहरुलाई मात्र थाहा हुन्छ। भोग्नुको पनि त सीमा हुन्छ। त्यो कति पीडादायी हुन्छ।
माया त्याग हो रे भन्छन्, समर्पण पनि हो रे। तर, सानी! वर्षौंदेखि यी बाक्ला बस्तीका बीचमा माया भनेको पुरुषले महिलालाई यौन खेलाउनका रुपमा प्रयाग गर्ने सिँढी मात्र हो भन्छिन्। कहिले सडकका किनार त कहिले पाटीमा रात गुजार्छिन् सयौं पुरुषको यौन खेलाउना भएर।
एक दिन बाटोमा मैले सानीलाई भेटेँ। बागमती किनारतिर। मैले सोधेँ, ‘दिदी कता?’
नदीलाई देखाउँदै भनिन्, ‘मलाई के सोध्छेऊ बैनी! ऊ त्यो नदीलाई सोध न। त्यो पनि नभए तिम्रो लोग्ने भनाउँदो पुरुषले तिम्रो नारी र टाउकोमा टोकेर गाडेको दाँतका डोबलाई सोध न, उत्तर पाइहाल्छेऊ नि! मलाई भुत्रो गर्न सोधेछ्यौ’ आमै उनले झर्कँदै भनिन्।
उनको जवाफले म निरुत्तर भएँ। सम्झिएँ सबै। १७ वर्ष पहिला एउटा पुरुष बेसाहरा बनेर आफ्नै जीवनमा देखा पर्यो। भित्रियो। सबै रित्याएर पुनः एउटा बाँझो मरुभूमि बनाएर गयो। सबै आँखा अगाडि पर्दा बनेर नाचे।
उसलाई १७ वर्षपछि मात्र याद आयो घरमा स्वास्नी, छोराछोरी छन् भन्ने कुरा। बैँसको उन्मातमा उसले मेरो अस्मितासँग रमाई-रमाई खेलेको याद आयो। 'घर लैजाऊ। सामाजिक स्वीकृति खै? सन्तान खै?' भन्दा उस्ले मलाई उत्तरमा दिएको निलडाम माथिको प्रश्नले मलाई मृत्युको आभास गराइदियो।
एक मनले भन्यो, सबै छाड्यौं। मरिहालौं। तर त्यसो गर्न पनि कहाँ सक्थ्यो र मन! अहिलेसम्मको अथक परिश्रम र निर्भीक जीवन यापनका कारण दुई/चार जनालाई चिन्थेँ। उनीहरुको हँसिलो अनुहार, व्यवहारको याद आयो। मर्न सकिनँ।
छेउकै बागमतीमा बगिरहेको दुर्गन्धित पानीको फोहोरा जस्तै निरर्थक लाग्यो जिन्दगी। कहीँ कतै पुगे पनि उतै त्यतैको जमिनलाई बन्जर बनाउने। विशाक्त!
आजभोलि हाँस्न खोज्दा आँखा रसाउँछन्। रुदाँरुँदै रित्तिएका आँखाको कोष पानीको अभावमा भतभति पोल्छन्। खोज्छु आफैँभित्र। पाउँछु सबैतिर दोषी। वर्षौंसम्म ऊसँग बिताएका पलले आफैँलाई सराप्यो। वर्षौं मैले गरेको निस्वार्थ मायाको उत्तरमा हिजो मात्र उसले मलाई ‘भालु’ उपाधि दियो, सयौं मानिसको बीचमा।
उसका छोरीले तिर रुपी वचनले मलाई प्रहार गरे। उनीहरुको लागि मैले निस्वार्थ गरेको त्यागको उत्तरमा उपाधि जोडियो भालु र घर भाँडुवाई।
वास्तवमा घर भाँडुवी को हो? हक, अधिकारले सुसज्जित उसकी धर्मपत्नी कि ऊ कि म? म भए कसरी? प्रश्नै प्रश्नले डेरा जमायो। उत्तर भेटिनँ। सरासर युएन पार्कतिर गएँ।
साँझ त्यस्तै सात बजेको हुँदो हो। धेरै युगल जोडीहरु प्रेमलिलामा व्यस्त थिए। बेपर्वाह। उन्मत्त। यो सबै देखेर झन् पुरुषप्रति घृणा जागेर आयो। हिजो आफू सक्षम भएर पैसाका बिटाले उसलाई पुरिदिँदा म सबैको राम्री थिएँ।
उसकी भालु हैन, श्रीमती नै थिएँ। मायालु नै थिएँ तर आज मसँग पैसाको नाममा फुट्टी कौडी नभएपछि म सबै भएँ। भालु, घरभडुवी, खुसी खोस्ने के... के!
वर्षौंदेखि बागमती उसरी नै बगिरहेको छ। अविरल। अविछिन्न। उस्तै रफ्तार र वेगमा। तर मेरो जीवन त्यसरी कहाँ चल्न सक्यो र? बीचैमा सामाजिक सञ्जालले जोडेको सम्बन्धले टुक्राटुक्रा पारेर पत्झड बनाइदियो।
ऊ खुसी भएर गयो। उसका ती सबै खुसी भए। कसैले सोधेनन् अब यसको के हुन्छ भनेर? कसेले के भने कसैले के। रमाए र गए।
आजभोलि म खोज्न थालेको छु मायाको अर्थ र परिभाषा। दुनियाँका अनुसन्धान गर्दै हिँड्न थालेको छु। म माया कसैले आफूलाईभन्दा अरुलाई गरेको पाउँदिनँ। मेरो जीवनमा मसँग जोडिएको त्यो पुरुषले पनि आफैंलाई माया गर्यो।
बैँसको उन्मात हुन्जेल भेटिजति सबै आइमाइसँग सहबास गर्यो। पाए ती आमाइमाईसँग पैसा लुटेर खायो। नपाए दुई/चार वर्ष यौन प्यास मेटायो र गयो। यो आधुनिक समाजको प्रतिनिधि पुरुष हो।
आजभोलि म अरु पनि त्यस्ता धेरै पुरुष देख्न थालेको छु। उमेरले ६० वसन्त नाघेको भएपनि उसलाई सहबासका लागि नयाँ जोडी चाहिन्छ? फरक जात र स्वभावका।
जानी नजानी फेसबुकका भित्तामा आइमाई साथी खोज्छ। टुटेफुटेका नेपालीमा र ‘ऊ’ भन्दा ‘सु’ बुझिने गरिका अंग्रेजीमै म्यासेज गरिदिन्छ। दुईचार पटक उपहारका नाममा सस्ता-मस्ता सामग्री पठाउँछ। फुलेका दारीमा कालो धस्छ। भेट्छ ३०-३५ का युवती।
कोही विदेशमा श्रीमान भएका। कोही अविवाहित। दुईचार पटक उसको शरीरसँग खेल्छ र आफ्नै दुनियाँमा फर्कन्छ। फरक यति मात्र हो। कोही वर्षौंसम्म यही परम्परा जारी राख्छन्। कोही दुईचार सहबासपछि बिर्सिदिन्छन्।
कस्तो निर्दयी यो पुरुष सत्ता कि आइमाइको पुरुष मोह म छुट्यादिन। किनकि आजभोलि मलाई पुरुष बागमतीको दुर्गन्धित फोहोरभन्दा बढी गनाउँछ। मैले एउटा पुरुषसँग सहरा खोजेको थिएँ। मायाको बदलामा माया मागेको थिएँ।
उत्तरमा पाएँ सामाजिक अपमान, तिरस्कार र लाल्छना। त्यसैले मलाई पुरुष गनाउँछ।