एकदिन नातिले
कखरा लेख्दै थियो
हजुरबाका आँखा नातिले लेखेको
घ्यूकमिले कपुरी 'क' मा परे।
'बाबु, हाम्रा पालाँ त
कति खाइलाग्दो हुन्थ्यो
यो कपुरी क
दुस्मनसँग कति जाइलाग्दो हुन्थ्यो
यो कपुरी क
कति हृष्टपुष्ट थियो
कति तन्दुरुस्त थियो
यो कपुरी क
हेर अचेल
सुकेनासले खाएजस्तै भएछ
कमलपित्त लाएजस्तै भएछ
ऊ बेला कहिल्यै झुकेन बाबु
यसरी त कहिल्यै सुकेन बाबु
यो कपुरी 'क'।
हो, हजुरबा आजकल,
कपुरी 'क' का पोषक तत्वहरु
नव-पोषित शोषकहरुले सोसिदिँदा
नव-आगन्तुकहरुले खुराक सबै खोसिदिँदा
'कपुरी क' को सिकुवामा
एबिसिडीहरुको भेल पसिदिँदा
तिमीहरु त हाम्रै हौ भनी
मझेरी कब्जा गरी बसिदिँदा
उसको निन्द्रा हराम छ हजुरबा
उभिएको अस्थिपञ्जरमा पनि
अन्तैको कसिलो लगाम छ हजुरबा।
हजुरबा आजकल
'कपुरी क' ले
हजुरले सम्याएका चाक्ला ब्याडहरुमा
डायमोनियम फस्फेटसँगै
ठूल्दाइले एबिसिडीहरुको बिउ छरिरहेको देख्छ
मादल, मुर्चुङ्गा र खैंजडीहरुमा
ड्रमसेटको धुन भरिरहेको देख्छ।
जता मल्को उतै ढल्क्यो
र त पिर छ हजुरबा
बुढी मरिन् भन्दापनि काल पल्क्यो
र त पिर छ हजुरबा!
हजुरबा,
आजकल त 'कपुरी क' ले पनि
हिप्पीहरुकै गीत गुन्गुनाएको पाउँछु
लाहुरेहरुकै बखान सुनाएको पाउँछु।
हजुरबा,
भरोसाको ग्रेटवाल चढेर हेर्दा
अन्ध गल्छीमा गढेर हेर्दा
आजकल कखराहरु
'कपुरी क' लाई बोकेर
थाग्ने बगरमा बौरेठा बनी
हुत्याइएको देख्दा मन खिन्न हुन्छ
धुम-धुममा राष्ट्रभक्ति
उडाइरहेको देख्दा झन् खन्न हुन्छ
तैपनि यहाँ,
यस्तो भयो भनेर कहाँ भन्न हुन्छ हजुरबा?
हजुरबा,
'कपुरी क'हरु पनि आजकल
लिपुलेकको बलियो ईंजार चुँडालेर
हिमालको सफेद दौरा-सुरुवाल फुकालेर
मिनिस्कर्ट लगाएर
सीमापारि भाग्लान् कि भन्ने पिर छ हजुरबा
देश खोज्दै उतै लाग्लान् कि भन्ने पिर छ हजुरबा।