हिजो आकाश रंगिन थिएन
नवबधुलाई घरमै छोडी
परदेशिन लागेको नव-वर झैँ
अँध्यारो र निन्याउरो थियो।
हिजो आकाश शान्त थिएन
आमालाई घुर्क्याउँदै गरेको
एक नाबालक झैँ, आकाश
गड्याङ्गुडुङ गर्दै थियो।
सारा जीवन आ-आफ्नो
शिर लुकाउने ठाउँ खोज्दै थिए
चराचुरुङ्गी, कमिला, छेपारोदेखि
मानव, घर भित्र पस्दै थिए।
हाम्रा गाउँघरका डाँडापाखा
रङ्गविहीन फुस्रा बनेका थिए
त्यही समय, सेतो तन्ना ओछ्याएझैँ
धर्ती चम्कियो, चाँदी झैँ हिउँले।
अनि सुनौलो घाम उदायो
आफ्नो पारिलो किरणहरु छर्दै
सारा जीवन रमाउन थाले
आ-आफ्नो कर्म गर्न निस्किन थाले।
रुखहरुमा नयाँ पालुवा खेल्न थाले
नाङ्गा डाँडाहरु हरिया फर्किन थाले
खोलाको कल-कल झरनाको झर-झरले
गीत गाउँदा डाँफे भ्याकुर नाच्न थाले।
गुँरास र डोइलीको पत्रपत्रमा
पुतलीले पङ्ख फिजाउन थाले
मनहरुमा नौलो उमंग छायो
सुन्दर प्रकृतिले मनै चोरी लग्यो।