बिहानी घामको किरणसँगै
लठ्ठित मेरा आँखाहरु
तिम्रो आकृति लिएर जुरुक्क उठेँ!
आँखाका कोष-कोषमा बिराजिएकी तिमीलाई
बिहानै चिसोपानी छ्यापेर ब्युझाइदिन्थे
अनि सुरु हुन्थे
मेरा दिन।
तिमी मेरो नाम लेखेको
मेहेन्दी बनाएर गाउँ गाउँ डुल्थ्यौ!
तोरीको बोटमा घुमिरहेका भमराहरु
टक्क रोकिएर
तिमी तिर फर्किन्थे!
भमराहरु अन्जान थिए
तोरीको फूलको रसभन्दा रसिली थियौ तिमी
भुनभुन आवाजमा निस्कने गीतभन्दा सुरिली थियौ तिमी
त्यसैले त खास थियौ तिमी।
जुनेली रात
आकाशको छानो बनाई
सपनाका महलहरु नियाल्दै
मेरो कुममा शिर अडाउँदै
लजाउँदै भनेकी थियौ
'कास! यो समय यही रोकिन्थ्यो!
ताराहरु हामीलाई हेरिरहेका थिए
तिमीसँग आँखा जुधाउन नसकी
जुन बादलसँग लुकामारी गर्दै थियो।
अनायसै मेरा मनहरु बहकिन थाले
आखिर समय रोक्न सकिन्थ्यो भने?
घडीको सुई रोकेर समय
रोकिन्थ्यो भने कति खुसी हुन्थ्यौँ हामी!
वास्तवमा भन्नु पर्दा चाहेको पनि त यही हो
तर असम्भव छ।
थाहा छैन किन डराइरहेकी छौ तिमी
कुनै बेला तिम्रो मन त्यो बादलजस्तै निडर थियो हैन र?
कुनैबेला तिम्रो साहस पूर्णिामामा जुन सामुन्ने चम्किने
ताराजस्तै थियो हैन र?
कर्कलाको पातमाथि
पानी अड्याउन लगाउँथ्यौ अनि भन्थ्यौ
'तिमीले त मलाई प्रेम नै गर्दैनौ।'
कति लाटी छौ तिमी
प्रेमबिना त सृष्टि अधुरो छ
प्रेम त एक भावना हो
जस्ले बुझ्छ
ऊ सधैँ प्रेममा रमाउन चाहन्छ
बिना जातको प्रेम
बिना धर्मको प्रेम
मैले बुझेको थिएँ सायद तिमीले पनि।
यो समाज कति निर्दयी छ!
निश्वार्थ भावनामा अडिक
हामी दुईबीच फाटो ल्याउने काम गर्छ
एकपटक हामी दुईको आँखाले त हेरोस!
अनि सम्झिने छ, प्रेम बुझ्ने छ प्रेमको बारेमा
तिमी र मलाई अलग देख्ने समाजले
सायद अलग्गै देख्छन् होला
मुना-मदनलाई
लैला-मज्नुलाई
रोमियो-जुलियटलाई
हामीबीचको प्रेम त
समुन्द्रलाई भेट्ने आशले बगिरहेको नदी जस्तो
पहाडसँग ठोक्किने आशले बहिरहेको हावा जस्तो
वचनलाई पूरारुप दिन अडिग वाचाहरु जस्तो!
कहिल्यै रोकिने छैन
कहिल्यै तोडिन छैन।