घर साहुलाई
बन्धकी राखी
काखीमा राहदानी
च्यापी
परदेशीएको म
सखारै आँखामा
आँसु टिलपिल पार्दै
निधारमा रातो
टीका लगाई
बिदाइ गर्दैगर्दा
आमाले भनेकी थिइन्
'बाबु, आफ्नो ख्याल गर्नु है!'
बा
विमानस्थल आएका थिए
मलाई परदेश उडाउन
म प्रस्ट देख्न सक्थेँ
बाका आँखामा
त्यो साहुलाई
बन्धकी राखेको
लालपुर्जा
अनि भविष्यको
स्वर्णीम सपना
बा!
गएँ है भन्दै
म भित्र प्रवेश गर्दै गर्दा
आँखामा आँसु टिलपिल पार्दै
म ओझेल नपरुन्जेल
दूरदूरसम्म चिहाइरहे
ती बुढा आँखाले
हवाई जहाजमा
म परदेश
उड्दै गर्दा
उडेको थ्यो
सँगै मेरो जवानी
उडेका थिए
मेरा आफ्ना
सपनाहरु
जुन मैले बालापनमा
देख्ने गरेको थिएँ
उडेका थिएँ सबै मेरा
रहरहरु।