राजधानी सहरको एक साँघुरो गल्ली। त्यहाँभित्र रहेको पुरानो शैलीको घर। अनि त्यसैको भुइँतल्लामा रहेको दुईटा कोठा। जहाँ अन्जुको सानो परिवार खुम्चिएर बसेको छ। रहरले हैन, बाध्यताले।
करिब डेढ वर्ष अघिसम्म सुविधासम्पन्न अपार्टमेन्टमा रमेका उनीहरु अझ धेरै कमाउने लालसाले चलिरहेको पसल बिक्री गरे। अझै त्यतिले समेत नपुगेर जोरजाम गरेका नगद गरगहना र जग्गा बिक्रीबाट प्राप्त रकम लगानी गरेर सपनाको देश अमेरिका भासिएसँगै विश्वव्यापी कोरोनाको चपेटामा पर्न थाले।
यता चलिरहेको पसल बिक्री गर्नु, मौज्दात रहेको नगद सम्पत्ति पनि विदेशी भिषाको लागि खर्चिनु परेपछि आर्थिक संकट देखा पर्यो। अमेरिका गएका अन्जुका लोग्ने विश्वव्यापी कोरोना महामारीका कारण जागिर गुमाइ खान बस्न समेत धौ धौ पर्ने स्थितिमा पुगेकाले उनीहरुको अवस्था साँच्चै नै दयनीय देखियो।
बुढाबुढीबीच फोन हुँदा अन्जुले 'पैसा कहिले पठाउँछौ?' भन्ने त उताबाट 'यस्तै चालले काम पाइनँ भने त फर्कनुको विकल्प छैन' भन्ने कुरा भइरहँदा कहिलेकाहीँ ठाकठुक समेत पर्थ्यो।
यसअघि कहिल्यै तीतोमुख नलगाउने उनीहरुबीच एकाएक मनमुटाव हुन थाल्थ्यो।
अभावले नै वास्तविकता उजागर गर्दोरहेछ। जसबाट उनीहरु पनि दूर रहुन् कसरी?
हरेक दुखसुखमा साथ दिने दिदी भिनाजुको यसपालि भने खुबै अभाव महशुस गरिरही अन्जु।
आँखामा आँसु टिलपिल पार्दै सम्झिरही मायालु दिदी र भिनाजु। साथी जस्तै खुबै मिल्ने सन्जु दिदी र स्नेही भिनाजु मानसपटलमा जति घुमिरहेपनि आज उस्को सामु नआउने भैसकेका थिए।
एकातिर घरबेटीलाई बुझाउनुपर्ने भाडा महिनैपिच्छे खप्टिरहेको थियो भने अर्कोतिर स्कुल पढ्ने दुईजना छोरछोरीको बिलले समेत बेलाबेला अत्याउँथ्यो। अमेरिकाबाट बुढाले पठाएपछि तिरौंला भनी उधारो ल्याउने रासन पसलको साहुजीले समेत बेलाबेला पैसा मागिरहन्थे।
चौतर्फीबाटै व्यवहारले च्यापिएपछि उस्को सम्पतिको नाममा रहेको र जीवनको अन्तिम पलसम्म पनि नबेच्ने वाचा गरेको एकमात्र नेकलेस पनि नाशिने अवस्था आइपर्न थाल्यो।
यसभन्दा अघि राम्रो मूल्य पाउँदा समेत नबेचेको र जीवनको जस्तोसुकै मोडमा पनि साथमा राखिरहने वाचा गरेपनि त्यो नेकलेस बेच्ने निर्णयमा पुग्छे अन्जु। गह्रुंगो मन बनाएर जीवनको एक अमूल्य उपहार बेच्नु पर्दा साह्रै दुखी भएको पीडाको भाव उस्को अनुहारमा प्रष्टै देखिन्थ्यो।
भिनाजुले अष्ट्रेलियाबाट ल्याइदिएको उपहार। त्यो अमूल्य उपहार दिने दिदी-भिनाजु आज यस धर्तीबाट पर हुँदा त्यो नै प्यारा दिदी भिनाजुको हरपल सम्झना दिलाउने एकमात्र चिनो भएकोले झनै प्यारो थियो उस्को लागि।
तर विवशता र बाध्यताको सामु प्रिय चीज पनि निरीह हुँदा रहेछन्, फिक्का बन्दा रहेछन्। जस्तो त्यो नेकलेस भैरहेको थियो।
जुत्ताको टक टक आवाजसँगै अन्जु झसंग हुन्छे। कोठासँगै बस्ने छिमेकीको ढोकानेरको जुत्तामा झट्ट नजर पुग्यो।
उबेला अन्जु १५/१६ वर्षकी हुँदी हो। जतिबेला उस्को घरमा नयाँ-नयाँ मान्छेको खुबै आउजाउ चलिरहन्थ्यो। सन्जु अर्थात् अन्जुकी दिदी। जो भर्खर १९ वसन्तमा प्रवेश गरेसँगै अर्को साल २० वर्ष लाग्ने र शून्य सालमा बिहे नगर्ने भन्ने परम्परागत रुढीबाढीले सकभर अहिल्यै नै बिहे गर्ने तम्तयारमा थिए- अन्जुका घरपरिवार पनि।
राम्रा ठाउँबाट बारम्बार केटाहरु सन्जुलाई माग्न आउने क्रम चलिरह्यो। अन्ततः अष्ट्रेलिया बस्दै आएको केटोसँग बिहे हुने पक्कापक्की नै भयो।
'उतैको पिआर पनि भएको केटो रे ऊ।'
'साह्रै भाग्यमानी रहिछे सन्जु मोरी।'
यस्तै यस्तै चर्चा परिचर्चा चलिरहन्थ्यो गाउँघर टोलतिर।
फागुन ११ गते शनिबार। सन्जुको बिहेको दिन।
शनिबार परेकोले स्कुल अफिस जानेहरु पनि बिहेमा सामेल हुँदा मान्छेहरुको बाक्लै उपस्थिति थियो। अझ त्यसैमाथि सन्जुका बाबुआमाले जेठीबाठी छोरीको धुमधामसँग बिहे गर्ने भनी अलि धेरै संख्यामा जन्ती मागेकोले पनि हुनसक्छ बिहेका दुवै तर्फकाको उपस्थिति व्यापक नै थियो।
बेहुली सन्जुको श्रृंगारपटारभन्दा कम थिएन अन्जुको पनि। बिहानैदेखि ब्युटीपार्लर धाएर त्यो यौवनले भरिएको मुहारमा अझै क्रान्ति ल्याएकी थिई।
त्यो दिन ऊ अरु दिनभन्दा धपक्कै बलेकी थिई। अन्जु बिहेका दिन नयाँ लेहेङ्गा लगाउन पाउँदा खुबै मख्ख थिई।
उस्की साथी अप्सराले आफ्नो दाइको बिहेमा लेहङ्गा लगाएको देखेबाट नै असाध्यै रहराएकी थिई ऊ। उस्को एउटा बहुप्रतिक्षित धोको बल्ल पूरा भएकोमा भित्रैदेखि फुरफुर पनि थिई।
विवाहमा जन्ती पक्ष आइसकेपछि बेहुलालाई वरणी गर्ने बेला फुकालेको जुत्ता च्याप्प समाएर भागेसँगै उस्लाई चिन्न कुनै समस्या नै रहेन।
सबैले 'ऊ जुत्ता चोरेर भागिन् साली' भन्दै ऊप्रति नजर हानिरहेका थिए।
बिहेको सबै विधि सकेपश्चात् अन्त्यमा बेहुला हिँड्ने बेलासम्म जुत्ता नपाएपछि जुत्ताको खोजी जारी रह्यो।
जुत्ता त सालीले लुकाएको र जुत्ता फिर्ता लिन पचास हजार तिर्नुपर्ने भनी केटी पक्षका युवतीहरुले अडान लिए। त्यसपछि केटा पक्षका युवकहरु र केटी पक्षका युवतीहरुबीच जुत्ताको मूल्य बार्गेनिङको सिलसिलामा जिस्किने क्रम चलिरह्यो।
केही युवा त साली र जुत्तासँगै लैजाने भनी जोश देखाइरहन्थे पनि। उता अन्जु भने साथीहरुको उक्साहटमा पचास हजार घटेर कसै नदिने भनी अड्डी कसिरहेकी थिई।
दुवै पक्ष टसकामस् नहुँदा सहमति जुट्ला जस्तो नदेखिएपनि अन्तमा बीस हजारमा जुत्ता दिने सहमति भएको। भिनाजुले कट्कटाउँदा हजारका नोट गनेर अन्जुको हातमा थमाइदिएपछि जुत्ता फिर्ता पाएर बेहुला पक्ष बेहुली सहित घरतर्फ लागेका थिए।
समयको क्रमसँगै भिनाजु ससुराली आउँदा जाँदा अन्जुको भिनाजुसँगको हेलमेल बढिरह्यो र ऊ भिनाजुसँग मजाले झ्याम्मिएकी थिई। कुनैबेला भिनाजुले घर फर्कने भन्दा ऊ पहिलै भिनाजुको जुत्ता लुकाएर त्यो दिन बस्न बाध्य पार्थी।
भिनाजुले पनि मजाक गर्दै बिहेको दिनदेखि जुत्ता लुकाएसी पैसा पाइन्छ भन्ने यिनको बानी परिसक्यो भन्दै जिस्क्याउँथे।
साली! आज विवाहको दिनजति त दिन सक्दिनँ बरु थोरै थोरै दिन्छु, जुत्ता लेऊ भन्दै फकाउँथे पनि। तर त्यो दिन अन्जुले पैसाभन्दा पनि भिनाजुलाई बसाउने उद्देश्यले गरेकी हुन्थी।
भोलिपल्ट भिनाजुले हिँड्ने बेला सालीलाई मायाले १००० को नोट हातमा दिएर हिँड्थे। त्यतिबेला भने अन्जुले लिन साह्रै अफ्ठ्यारो मान्थी र भेनाले निकै करकाप गरेपछि गरुङ्गो मनले समात्थी।
कहिलेकाहीं सन्जुले साली भिनाजुको सामिप्यतामाथि छेड हान्थी।
'मोरी, मेरै सौता भएरै आउलिस् नि।'
'आइछु भने मिलेर बसौँला नि! हुन्न? 'बिर्स्यौ दिदी? हामी सानैदेखि नछुट्टी बस्ने भनेको।'
अन्जु उल्टै प्रतिप्रश्न गर्दै जिस्कीरहन्थी।
'अन्जु! अन्जु! हैन तिमी कता छौ, अघिदेखि फोन पनि उठ्दैन त?'
पल्लो घरमा बस्ने साथी रिनाको आवाजले झसंग हुन्छे। ऊ त मस्त कल्पनामा हुन्छे। विगतमा रमाइरहेकी। छिमेकी कोठाको ढोका बाहिर रहेको जुत्ता देखेर अन्जुलाई विगतको झल्कोले सताइरहेको। त्यसैले त अन्जुलाई त्यो जुत्ताले विगततर्फ धकेलेको र दिदी भिनाजुसँगका पलहरु यादगर भई आइरहेका।
'अन्जु निस्कने बेला भएन र?'
'म त नेकलेस बेच्न गहना पसल जाने कि भनेर आकी। फोन नउठेपछि म यतै आको नि।'
'सुन्न रिना! खासमा कुरा के भन्दा नि, यो नेकलेस अहिले नै बेची नहालूँ कि!'
'उताबाट बुढाले २/४ दिनमा पैसा पठाम्छन कि जस्तो छ। अहिले बेचेर के गर्नू, पछि जोड्नै गाह्रो।'
रिना अचम्मित हुन्छे। हिजोसम्म 'लौ न रिना मलाई ऋणले गर्दा व्यवहार चलाउनै मुस्किल भो। तिम्ले चिनेको सुन पसल छ भने यो हार बेचेर व्यवहार मिलाउन पर्यो। मिलाएर दाम दिन्छन् कि? भोलि बच्चा स्कुल पठाएर एकछिन जाउँ न है' भनी उसैले आग्रह गरेकी हुन्छे।
तर आज अर्कै कुरा!
रिना केहीबेर बसी घरको काम सम्झेर निस्की हाल्छे।
रिना गएपछि अन्जु विगत सम्झेर हराउन खोज्छे। दिदी भिनाजुले अष्ट्रेलियाबाट ल्याइदिएको त्यो हार हत्केलामा राखेर एक तमासले हेर्छे।
विस्तारै छातीसम्म पुर्याएर पटक-पटक चुम्बन गर्छे। अनि फेरि प्रण गर्छे, म कसरी यस्लाई गुमाउन सकूँला। सधैं साथमा राख्नेछु। आज मेरो दिदी-भिनाजु नभएपनि उहाँहरुले दिएको यो अमूल्य उपहारलाई सम्झना आइरहने गरी राख्नेछु।
लगभग २ वर्षअघि अष्ट्रेलियामा कार दुर्घटना भई ज्यान गुमाउन पुगेका उस्का दिदी र भिनाजुले पछिल्लो पटक नेपाल आउँदा उस्लाई ल्याइदिएको कोसेली थियो त्यो।
अन्जुलाई भिनाजु र भिनाजुसँगका याद दिलाउने त्यो जुत्ता देख्दा, त्यो जुत्तालाई छुन मन लाग्छ। केही क्षणको निम्ती लुकाउन मन लाग्छ अनि भिनाजुसँग जुत्ताको बहानामा जिस्किन मन लाग्छ।
तर वास्तविकता बेग्लै छ। किनकि त्यो जुत्ता लगाउने उस्को भिनाजु नभई छिमेकीमा आएका पाहुनाको थियो।
भिनाजु पछिल्लो पटक अष्ट्रेलिया जानु अघि ससुराल भेट्न आउँदा लगाको जुत्ता उस्तै थियो। त्यही ब्राण्ड, उही डिजाइन र रंग पनि उस्तै। फरक त थियो केवल लगाउने व्यक्ति मात्रै। केहीबेरमै पल्ला कोठाका अपरिचित पाहुना प्रस्थान गरेसँगै अन्जुको नजरबाट टाढिन्छ तर स्मृतिमा भने अमीट छाप भएर बस्छ।
स्कुल छुट्टी भएर बच्चाबच्ची आएसँगै अन्जुको व्यस्तता बढ्दै जान्छ। त्यही बेला छोराले झोलाको सानो खल्तीबाट निकालेर दिएको बिलले पुनः एक पटक अन्जुलाई नमज्जाले झस्काउँछ। सानो क्लासको छोराको ३/४ महिनाको बिलले त्रसित भएकी अन्जु छोरीको ठूलो रकमको भारी बिलले उस्लाई झनै थिच्छ।
अनि फेरी मनमा बेचैनी सुरु हुन थाल्छ।
खाजा ख्वाएर पढ्न जाऊ भनेका छोराछोरी स्कुलको फी पर्सिसम्म नबुझाए अबको परीक्षा दिन नपाइने भन्ने पिरलोले रोइरहेको देख्छे। तब अन्जुलाई फेरि व्यवहारको पिरलोले डसिरहन्छ। हार बेचूँ, एक अमूल्य उपहार अनि सम्झना! नबेचूँ त व्यवहारले यसरी थिचेको छ कि सायद उठ्नै गाह्रो हुने गरी।
के के सोच्दै आकाशतिर फर्केर बरण्डामा टहलिरहेकि हुन्छे अन्जु।
'ममी! बाबाको फोन।'
छोरीको आवाजसँगै झसंग हुन्छे अन्जु। केही आशा र केही त्राससँगै ऊ फोनमा कुरा गर्नतर्फ लम्किन्छे।