उडिरहेका छन् हेलिकप्टरहरू
दौडिरहेका छन् एम्बुलेन्सहरू
विपत्तिका साइरन बजाउँदै।
अखबारका डिजिटल पानाहरूमा
पल पल छापिएका छन्
रोगग्रस्त मानिस
र
तिनका असह्य पीडाका खबरहरू
वेदनाका चित्कारहरू
आफन्तका क्रन्दनहरू,
समवेदनाका तस्बिरहरू।
तर फेरि पनि
उठ्नै पर्नेछ
दुःखको भवसागरबाट
भुल्नै पर्नेछ असीम पीडाका घाउहरू
उठाउनै पर्नेछ मनका धरोहरहरू
र फर्काउनै पर्नेछ
जिन्दगीको यात्रालाई
पुरानै लयमा।
र
गर्वसाथ सुनाउनै पर्नेछ
सन्ततिहरूलाई
मानव सभ्यताले फेरि पनि दैवी प्रकोप जस्तै
महामारीलाई पनि
डटेर सामना गरेको
एउटा नवीन अध्याय।