हाम्रो माया र सम्बन्धको सवारीबाट,
जीवनको राजमार्गमा
तिम्ले मलाई जुन बिन्दुमा झारेर हिँडेकी थियौ
म त्यही बिन्दुमा बसिरहेँ,
कति पनि थकाइ नमानी
तिम्लाई निरन्तर पर्खिरहेँ।
तिमी मलाई लिन आउँछ्यौ भन्ने आशमा
अलिकति पनि नहल्लिकन
दायाँबायाँ कतै पनि नहेरिकन
भेटिएका अन्य कुनै सवारी नचढिकन
तिम्रो बाटो हेरिरहेँ, तिम्लाई निरन्तर पर्खिरहे।
पुग्नुपर्ने गन्तव्य त धेरै टाढाको थियो
तर तिमी हिँडेपछि म जहाँ थिएँ,
त्यसैलाई मैले मेरो गन्तव्य बनाइदिएँ।
किनकि, यदि तिमी आउँथ्यौ भने
म जहाँ थिएँ त्यहीँ आउने थियौ
तिमी आउने थिएनौ भने
म जहाँ थिएँ त्यहीँ ओइलीजाने थिएँ
आखिर फूलको अन्तिम गन्तव्य पनि ओइलीजाने न हो
जीवनको अन्तिम गन्तव्य भनेकै मृत्युवरण न हो
त्यसैले म जहाँ थिएँ,
त्यसैलाई मैले मेरो गन्तव्य बनाइदिएँ
किनकि, तिमीभन्दा पर म पुग्नुपर्ने
कुनै अर्को ठाउँ छैन।
तिमीबिना म कहीं पुग्नु र नपुग्नुको
कुनै अर्थ देखेको छैन ।
त्यसैले त
तिम्ले मलाई जुन बिन्दुमा छोडेर हिँडेकी थियौ
म त्यही बिन्दुमा बसिरहेँ।
कत्ति पनि थकाइ नमानी
तिम्लाई निरन्तर पर्खिरहेँ।
हुरी चल्यो, आकाश गर्जियो
पानी पर्यो, बाढी उर्लियो
हिउँद लाग्यो, चिसोले कठ्याङ्ग्रायो
गर्मी पस्यो, घामल खायो।
वाल्मीकिको झैँ जीउमा धमिराले घर बनायो
वर्षहरू बिते, सेतो कपाल पलायो
जवानी गयो, बुढेसकाल छायो
अलि अलि गर्दै, काल मुखमै आयो
तर म,
अलिकति पनि नहल्लिकन
दायाँबायाँ कतै पनि नहेरिकन
भेटिएका कुनै सवारी नचढिकन
त्यही बिन्दुमा बसिरहेँ,
कत्ति पनि थकाइ नमानी
तिम्रो सवारी पर्खिरहेँ।
आँखाले अन्तिम चोटी संसार
हेर्ने बेलासम्म पनि तिम्रो बाटो हेरिरहेँ।
फोक्सोले अन्तिम श्वास फेर्ने बेलासम्म पनि
तिम्रो नाम जपिरहेँ।
हाम्रो माया र सम्बन्धको सवारीबाट,
जीवनको राजमार्गमा
तिम्ले मलाई जुन बिन्दुमा झारेर हिँडेकी थियौ
म त्यही बिन्दुमा बसी तिम्लाई पर्खिरहेँ।