तिमी सहिद भई बाँचेर आयौ भने
तिम्रो सालिक मेरो हृदयमा राखुँला
तिमी काँतर भै भागेर आयौ भने
मैले तिमीलाई वीरङ्गना बनाउन सकिनँ भनुँला।
साँझ घर फर्किएका मलेवाका बथानहरु
मलाई औधी मनपर्छ
तिमीलाई डर लाग्ने सहिदका चिहानहरु
मलाई औधी मनपर्छ।
मैले तिमीलाई दिएको
देशको झण्डाको रातो रङ
नियालेर हेर
मैले सहिदका रगतका लाभाहरु बटुलेर
तयार पारेको हुँ।
अनि चम्किला सूर्य र चन्द्रको प्रतिबिम्ब
मेरो देशको हिमालसँग हिउँ सापटी मागेर
तयार गरेको हुँ।
मेरो देशको झण्डाको किनाराको निलो रङ
मैले क्यानभासमा
झण्डाको चित्र कोर्न लाग्दा
मलाई मेरो देशको आकाशले उपहार दिएको हो।
आज त्यही झण्डा तिमीलाई दिएर
टिष्टा काङ्गडाको छातीमा पठाएको छु
तिमी सहिद भई बाँचेर आयौ भने
तिम्रो सालिक मेरो हृदयमा राखुँला
तिमी काँतर भै भागेर आयौ भने
मैले तिमीलाई वीरङ्गना बनाउन सकिन भनुँला।