म डाक्टर त होइन तर डाक्टरभन्दा कम छैन
म पत्रकार त होइन तर पत्रकारभन्दा पनि कम छैन।
वास्तवमा म को हुँ म आफैलाई थाहा छैन
मेरो हैसियत के हो मैले बिर्सिसकेँ
मलाई मेरो कामभन्दा बढी अरु चिज गर्न आनन्द लाग्छ
मलाई फेसबुकका भित्ताहरुमा ठूलो पल्टिन मन लाग्छ
राम्रो देखिन मन लाग्छ
मलाई नचाहिने चिजहरु सेयर गर्दा गर्व लाग्छ
त्यसैले त म कोरोनाभन्दा खतरनाक छु
जुन कुरा मलाई कत्ति पनि थाहा छैन
हो त्यही कुरामा बोल्न मन लाग्छ
जुन कुरा सबैलाई थाहा छ
त्यही कुरा सर्वविज्ञ बनेर लेख्न मन लाग्छ
जस्तो कि माक्स लगाऊ, सामाजिक दूरी कायम गर
यति मात्र हैन कोरोनाले मार्छ सोत्तर पार्छ
अर्को दिन छिमेकी भाइको बर्थ-डेमा जान्छु
माक्स गोली मारो, सामाजिक दूरी गोली मारो
ङिच्च दाँत देखाएर बिना सामाजिक दूरी बिना माक्स
फेसबुकमा फोटो पोष्ट गर्छु
'सरी फर लेट विस् भाइ, ह्याप्पी बर्थ डे टु यू'
त्यसैले त म कोरोनाभन्दा खतरनाक छु
कोरोनाले वर्षमा एकचोटि रुप फेर्छ
म दिनमै ५० औँ पटक रुप फेर्छु
मलाई एमसिसी के हो थाहा छैन
पढेको छैन सुनेको चाहिँ छु
बर्बाद पार्छ रे
म विरोध गर्न तम्सिहाल्छु
राम्रो नराम्रो केही थाहा छैन, बस् मलाई बोल्नु छ
लेख्नु छ, मलाई हिरो बन्नु छ
मलाई समाजसेवी बन्नु छ
मलाई अभियान्ता बन्नु छ
मलाई सबै बन्नु छ
तर मलाई म बन्नु छैन
मेरो काम गर्नु छैन
अन्तमा एउटा कुरा भन्छु
मबाट बच्नुस्, मेरा हर्कतबाट बच्नुस्
किनकि कोरोनाभन्दा खतरनाक त म छु।