मनले खोजेजस्तो म हुने चाहना बोकी
जगले रोजेजस्तो म बन्न पुगेछु
ला! फलानाले के भन्यो होला?
आमा! ढिस्कानाले के सोच्यो होला?
दुनियाँको वास्ता गर्दा-गर्दै
आफ्नो चासो गर्ननै भुलेछु।
‘होला’ का दास भन्ने सुनेथेँ
तर
आफैंले दासत्व गरेको बुझी-बुझी
संसारलाई आफ्नो स्वामीत्व सुम्पेछु।
पवित्र मनले चाहेको मेरो मात्र ‘म’
हवस् र हजुरको चक्रव्यूहमा अल्झीरहेछ,
निस्काम सोचले जाने-बुझेको ‘म’
आफ्ना र अरु भन्दै पिल्सीरहेछ,
मलाई चिने हामी चिनिने जान्दा-जान्दै
पनि
किन आफैंलाई भन्दा अरुलाई
जान्ने कुचेष्टा गरिरहेछ?
खोजे र रोजे बिचको खाडल पुर्दा-पुर्दै
जीवन साङ्लामा जकडिएछ,
अरुले चाहेको पुर्याउँदैमा
मन अनमयासै अमिलिएर कुँडिएछ।
तर भो पुग्यो अब
र
तृप्त भयो जग रिझाउने प्यास
म स्वयंको ‘म’ ब्रम्ह भई
सृष्टी स्वयंको लागि गर्नेछु।
आवारा बनाई यी मन
अनवरत जीवनयात्रामा होमिनेछु
‘म’, मेरो एकमात्र निष्ठावान सहयात्री
हो उसैलाई निरन्तर खोज्नेछु
बन्नेछु म आफूले चाहेजस्तो ‘म’
अनि
आफ्नो अन्तरआत्माकै भक्ती गरी
स्वयं आफूलाई गौरवले पुज्नेछु।