तिम्रो सहरले खिचेको
मेरो सहरको पुरानो नक्सालाई
कहिल्यै नाप्न खोज्दैन,
प्यासको गहिरो कुवाहरूसँग !!
तिम्रो सहरको सोकेसले
मेरो सहरको बरन्डालाई
कहिल्यै राख्न जान्दैन,
आम्दानी सानो वासलातहरूसँग!!
तिम्रो सहरको कृत्रिम छिमेकीले
मेरो सहरको इमान, आदर्शलाई
कहिल्यै अँगाल्न सक्दैन,
मानवताका मधुर अवतारहरूसँग !!
तिम्रो सहरको हरेक चित्कारले
मेरो सहरको मौन प्रकृतिलाई
कहिल्यै छाप्न सोच्दैन,
बाध्यताका सगुनी तस्बिरहरूसँग!!
तिम्रो सहरको भव्य महलले
मेरो सहरको खुला आकाशलाई
कहिल्यै ढाक्न मान्दैन,
सितलताको भव्य चौतारीहरूसँग !!
तिम्रो सहरमा छर्किएको अत्तरले
मेरो सहरको जीवित आवरणलाई
कहिल्यै देख्न जान्दैन,
स्निग्ध बान्कीका श्रृङ्गारहरूसँग !!