घरको तल्लो तला बहालमा नलागेको महिनौं भयो। त्यस दुर्घटनादेखि यता यो तला खाली छ। त्यसमाथि पनि आमा कसैलाई पनि बिश्वास गर्नुहुन्न। प्रायः चुपचुप र गुमसुम बस्नुहुन्छ। सायद जीवनमा पहिलो पटक उहाँले आफ्नै आँखाले सुन्दर नकाब पछाडिको दानबी चेहरा देख्नु भा’को होला। त्यसैले उहाँ यो झड्काबाट अझै निस्कन सक्नु भा’को छैन।
कयौं मानिसको सही चेहरा नकाब भित्र छुपेको हुन्छ, चाहे त्यो पुरूष चेहरा होस्, या महिला। बाहिर हेर्दा सबको मन जित्ने मृदुलभाषी पनि आफ्नो घरको चार दिवार भित्र कति तिक्त, भयभायी र सामन्त हुनसक्छ, त्यो बाहिरका मानिसले अनुमान पनि लाउन सक्दैनन्। यस्ता मानिसहरु आफ्नो घरको चार दिवार भित्र त्यो सुन्दर नकाब उतारेर कसरी ताण्डव नाँच्छन्, त्यो त उसको परिवारलाई मात्र थाह हुन्छ। यसरी दुनियाँमा कति मानिसहरू दुई चेहरा लिएर बाँचेका हुन्छन् भन्ने मेरो सोझी आमालाई के थाहा?
तीन चार महीनाजति भयो होला, हाम्रो घरको तल्लो तलामा सूर्यको परिवार बसेको। आमालाई सूर्य पहिलोचोटि देख़्ने बित्तिकै खुबै मन परेको। ‘यो पाली भने बहालवाला सारै गतिलो पर्यो’, उहाँ बेला-बेलामा भन्नु हुन्थ्यो, ‘कति मिठो बोली, अनि अनुहार पनि सूर्य नै जस्तो, उजेलो अनि हँसमुख।’
हुन पनि साह्रै सहयोगी थिए सूर्य दा। जुनसुकै बेलामा पनि सहयोग गर्न तयार, ख्याल ठट्टा गरिरहनुपर्ने, सजिव मानिस लाग्थ्यो ऊ सबैलाई। छिमेकमा पनि चिन्ने जान्ने सबैले धेरै राम्रो मान्छे भन्दै गुण नै गाउथे उनको। तर उसको स्वास्नी बिनी भने ठ्याक्कै बिपरित स्वभावकी, कम बोल्ने, नहाँस्ने अनि मानिससँग घुलमिल पनि नगर्ने खाले।
सूर्य दा हाम्रोमा आईरहन्थे तर बिनी आउदिन थि’न। त्यसैले आमा बेलाबेलामा ‘सूर्य बाबु बिनीलाई पनि ल्याउनू नि चिया पिउन,’ भनेर उनीहहरू दुबैलाई माथि बोलाई रहनु हुन्थ्यो। आमाले भनेपछि सूर्य दा लेराउथे बिनीलाई। अनि आमा दंग पर्दै भन्नुहुन्थ्यो, ‘कस्तो टार्दैनन् मैले भनेको कुरा, यी सूर्य बाबु?’
मीठा ठट्टा गर्ने सूर्य दा, हाम्रोमा आएको बेला आमाकै अगाडि पनि बिनीलाई गिज्याई रहन्थे।
‘कती रसिक छन् यी बाबु’, यती भन्दै आमा बिनी तिर हेरी खुतखुत हाँस्नु हुन्थ्यो। तर सूर्यको ठट्टाप्रति बिनीको कुनै प्रतिक्रिया हुँदैनथ्यो।
‘ओहो त्यो आईमाई!’ उनीहरु जाने बित्तकै टाउको हल्लाउँदै आमा भन्नुहुन्छ, ‘के गर्नू? आफ्नो आफ्नो भाग्य! बानी अनुसारको भाग्य भन्थे, तर के को हुनु? ल हेर् त, यस्तो घोसे बिनी पनि कती भाग्यमानी! त्यस्तो अँधेरो मुखे स्वास्नीमान्छेलाई पनि कती खुसी र हँसमुख दुलाहा परेको? कती माया गर्दै जिस्क्याई रन्छन् सूर्य बाबु! ऊ भने ठसक्क परेर एकपल्ट मुसुक्क पनि गर्दिनँ!’ उहाँ एकछिन टोलाएपछि फेरि ओठ लेपार्दै सुरू गर्नुहुन्छ, ‘असल मान्छे सधै खराबकै फेला पर्ने चाही किन होला? भगवान पनि न्यायी त छैनन्, सत्य। बिचरा सूर्य बाबु।’
हुन पनि बिनी भाउजु सूर्यभन्दा निकै फरक थिईन्। कहिले खुसी नै नदेखिने, उदास उदास रहने। अनि अधिकांश समय घर भित्रै बस्ने र सबैसँग टाढिने स्वभाव थियो। हुन त कतिको स्वभाव नै त्यस्तै हुन्छ, गम्भीर प्रकारको। सायद उसलाई पनि गम्भीर भन्दा फरक नपर्ला। तर आमालाई भने उसको स्वभाव पटक्कै पच्दैनथ्यो।
‘यो बीनीको फेरि यहाँ आफन्त, नातागोता, ईस्टमित्र पनि कोही छैन रे। हुन पनि घरमा कहिले कोही पाहुना आएकै देख्दिनँ’, आमा यसै गुन्गुनाउनु हुन्छ।
खै आमाले सबैको इतिहास कहाँबाट पत्ता लाउनुहुन्छ त्यो उहाँ नै जान्नुहोस्। स्वास्नी मानिसको दूश्मन स्वास्नी मानिस भने झै, आमा न त आफ्नै बुहारीलाई राम्रो भन्नुहुन्छ न त बहालमा बस्नेको स्वास्नीलाई। छोरीहरू पनि कहिले सम्पूर्ण भएनन् उहाँको लागि।
‘के भो त, आफ्नो आ-आफ्नो स्वभावका हुन्छन्। बहालमा बसेका मान्छेहरू धेरै नजिएकै नराम्रो,‘ बुवा भन्नु हुन्थ्यो, ‘मिठो बोल्दैमा र नजिकिदैमा कोही आफ्नो हुँदैन। कस्ता हुन्? के हुन? हामीलाई के थाहा?’
हामी सबैभन्दा माथिल्लो तलामा बस्थ्यौं, त्यसैले सूर्य कहाँ जान्छ के गर्छ, कतिखेर आउँछ घरका कसैलाई थाहा थिएन। चट्ट सुट लगाएर हिँड्ने ऊ, निकै सफल ब्यपारी जस्तो देखिन्थ्यो। तर कसैलाई थाहा थिएन उ ठ्याक्कै के गर्छ भन्ने। त्यसमाथि अरूको ब्यक्तिगत कुराको बारेमा धेरै खानतलासी गर्नु त्यति उचित पनि होइन।
सानो छोरो थियो उनीहरूको, ६ वर्षको। सूर्य छोरालाई आफैं स्कूल छोड़ने र ल्याउने गर्छ भन्नुहुन्थ्यो आमा। बजारबाट किनमेल गर्ने सबै काम सूर्य नै गर्थ्यो रे। ‘पकाउने र घरको सरसफाई त्यति हो बिनीले गर्ने। दिउँसोभरि टिभी हेर्यो, बस्यो। बिनीलाई कती सुखै सुख’, आमा बेला बेलामा ईर्ष्या गर्नुहुन्थ्यो। ‘हाम्रो रश्मीलाई मात्र कस्तो केटा पर्यो, के गर्नु? भाग्यको लेखो कल्ले टार्न सक्छ? न आफूले सुख पाइयो न त छोरीले नै पाई। अब यसको भाग्यमा के छ?‘ मलाई हेर्दै टोलाउनुहुन्थ्यो उहाँ।
आमाको पनि खासै केही काम थिएन। दुई वटी बुहारीले सबै ढपक्क ढाकी दिँदा पनि उहाँ गनगन् गर्न छोड्नु हुन्न। हुँदा हुँदा आफूले जवानीमा पाएको दुःख सम्झँदै आँखामा पिलपिल आँसु पारी भन्नुहुन्छ, ‘अहिलेका आईमाईलाई कती सुख? लोग्नेले ढपक्कै ढाँकी दिन्छन्। सासु-ससुरा कसैको केही मान मर्यादै गर्न नपर्ने। बिहानभरि सुत्यो। बिहानको चिया पनि लोग्नेले बनाई बिछ्यौना मै लानुपर्ने! हामलाई कल्ले गर्ने त्यस्तो? बिमारी हुँदा त एक गिलास पानी कसैको हातबाट खान पाईएन!,’ एक छिन टोलाएर उहाँले फेरि भन्नुहुन्छ, ‘अरूको के कुरा आफ्नै छोराहरू नम्बरी जोईटिंग्रे छन्।‘
‘आमा पनि आफ्नो छोरीलाई चाही ज्वाईले त्यही गरेन भनेर कस्तो ज्वाई पर्यो भन्नुहुन्छ। अनि आफ्नो छोराले बुहारीलाई माया गर्यो त के को गनगन? हाम्रो भाउजुहरू असल हुनुहुन्छ। तपाई जे सुकै भन्नुहोस्।’
‘तलाई पनि खै के घोटेर पिलाका’छन् तिनले। तिनीहरूलाई केही भन्यो भने आफैंलाई भनेझै गरि झम्टिन्छे।’
अस्ति रश्मी दिदी फेरि घर छोडेर आएदेखि आमाको मन ठीक छैन। आफ्ना बुहारीलाई छोराले माया गरेको देख्दा जलन हुन्छ उहाँलाई। नहोस् पनि कसरी? आफ्नो छोरी महीनै पिच्छे ज्वाईसँग झगडा गरेर माईत आउँछे। उता बुहारीलाई भने छोराले च्यापेको च्यापै। एक रात बस्ने गरि माईतसम्म पनि जान दिँदैनन्। आमा दिक्क मान्नुहुन्छ, ‘कति झगडा गर्छन् यीनका जोडी पनि। बिहे गरेदेखि यत्तिकै छ। आफैंले रोजेर बिहे गरेको, त्यै पनि शान्ति छैन।’
पहिलो भेटमै हिराको हार दिएर मुटु चोरेका थिए भेनाले दिदीको। शरीरमा बैशको तातो रगत उम्लिरहेको बेला मानिसलाई कहाँ ज्ञान हुन्छ र आफ्नो लागि क्षणिक खुसी र सुख प्रदान गर्न खर्च गर्नेलाई भन्दा आफ्नो सम्वृद्धिको लागि लगानी गर्ने, सहयोग गर्ने अनि आफूलाई सम्मान र हेरबिचार गर्नेलाई जीवन दिनुपर्छ भन्ने? त्यसै भनेका हुन् र बुढ़ापाकाले ‘कुरकुरे बैंसमा दिमाखले कम अनि दिलले ज्यादा काम गर्छ’ भनेर।
विचरी रश्मी दी’को पनि के दोष? पहिलो भेटमै हिराको हार थम्माई दिए पछि त मनमा अपार विश्वास उत्पत्ति हुनु स्वभाविकै हो। माया नगर्नेले त्यत्रो महंगो उपहार किन दिन्छ?
सोचेभन्दा पनि उत्कृष्ट जीवन साथी भगवानले झोलीमा हालिदिए भनेर रश्मी दी देउतालाई आभार प्रकट गर्न कती धाई गणेशथान। गणेशलाई यति लड्डु चडाई कि त्यति लड्डु त आमाले पनि जीवनभर भगावानलाई चढाउनु भा’को छैन होला।
अहिले भेनासँगै जीवन बिताउन थालेपछि पो उसलाई महसुस भा’छ भगवानले के झोलीमा हालीदिए भनेर। हिराको हारको मूल्य एक एक गरी अब आफैं चुकाउँदैछे रश्मी।
हिजो आमा मामाघर गएर आएपछि अझै दिक्क हुनु भा’छ। मामाको दोस्रो स्वास्नी, हाम्री कान्छी माईजु फेरि अर्को मकुण्डोधारी परिछन्। पहिलो माइजु बितेपछि मामाले अर्को बिहे गर्न अलिकति पनि ढीला गरेनन्। अहिलेको माइजु पहिलो माइजुभन्दा जवान अनि राम्री। मामाको लोभी नजर। उहाँको दिमाखले अरू केही सोचेन। त्यसमाथि सबैले एकदम बयान गरेका थिए रे दोस्रो माइजुको। मामाको बिहे पक्का भएपछि ठूलीआमा भन्नुहुन्थ्यो, ‘कस्तो गजबको आईमाई लेखेको रै’छ दाईको भाग्यमा! बुढेसकालको बिहेमा पनि भन्या भन्दा बेसी पायो। जन्मनु त लोग्ने मानिस नै भएर, सत्य।’
केटी गुमाउँला भने झै पहिलो माईजुको मृत्युमा रसाएका आँखा ओभानो पनि नहुँदै हतारिएर बिहे गर्ने मामा अचेल मौन छन्। उनको खुसी चेहराबाट स्वात्त उत्रेको यसै महसुस हुन्छ। तर उनी बोल्दैनन्। उनको मौनताले आमालाई पोल्छ। माईती जाँदा जुन सन्तुष्टि मिल्थ्यो पहिले, अहिले त्यो केही मिल्दैन। त्यसैले खिन्न हुनुहुन्छ उहाँ प्रत्येक पटक मामा भेटेर आएपछि।
***
माइत आएर बसेको एक महिनापछि भेना र दिदीको आमाजु रश्मी दिदीलाई लिन आए भनेर घरमा एक किसिमको खुसीको प्रवाह भै’रहेथ्यो। रश्मी दी पनि भेनाले माया त गर्दो रै’छ, रिस मात्र चर्को उसको भन्ने सोची दंग पर्दै, अब आफ्नो घुर्क्याउने पालो ठानेर घुर्क्याउन ठिक्क परेर बसेकी थिई। सायद सोच्दै थिई होला, ‘उसले फकाउँछ अनि आफ्नो काम मनाएर घर फर्कन्छु।’
‘के हो ज्वाई यस्तो? रात दिनको झगडा?’ बुवाले अली कड्केर भन्नु’भो। ‘आफैं रोजेर, मन पराएर बिहे गरेको तपाईँहरूले। अहिले यो के तमासा?’
दिदीको आमाजुले भनिन्, ‘त्यै त। अब यो तमासा सधैंको लागि सिध्याउन हामी यहाँ आएका हौं।’
‘के हो तपाईँको भनाईको मतलब?’
‘मेरो भाइ पनि आजित भइसके यो सानोतिनो कुरामा तपाईँको छोरी रिसाउँदै घर छोड़ेको देखेर। सधै छुट्टै बसौं भन्छे रे। तपाईँ आफैं भन्नुहोस्, एक मात्र भएको छोरा रोगी बाउआमालाई छोडेर कसरी छुट्टै बस्ने?’
‘ऊ त अरू नै कुरा भन्दै थिइ त,’ बुवाले नरम भएर भन्नु’भो। ‘तपाईको भाइ त बिना कारण रिसाएर हाप्तौ नबोलेर, उसले पकाएको खाना मिल्काएर मानसिक यातना दिन्छ भनेर।’
‘भन्न त जे भने पनि भो। बरू सधैको लागि यी दुई नै छुट्टिए भने यी सबै समस्याको हल हुन्छ। तपाईँको छोरीले पनि अर्को भेटी हाल्छे। मेरो भाइलाई त झन केटीको के कमी?’
बुवा एकछिन केही बोल्न सक्नुहुन्न।
‘आवेगमा आएर निर्णय गर्न हुन्न। म सम्झाउँछु रश्मीलाई। यस्तो सानोतिनो झगडामा तहसनहस हुने कस्तो प्रेम हो तपाईहरूको?’ बुवा ज्वाईलाई हेर्नुहुन्छ, ‘तपाईहरू चिन्ता नगर्नुस्। यदि तपाईलेँ भने जस्तै हो भने म त्यस्तो नचाइने काम गर्न दिन्नँ, मेरो छोरीलाई। सासु ससुरा भनेको त उसको पनि दायित्व हो’, बुवा एकछिन भुईंमा हेरी टोलाउनु हुन्छ र फेरि दिदीको आमाजुलाई हेर्दै भन्नु हुन्छ, ‘अझै केटाकेटी जस्ती छ रश्मी। अल्लारे बुद्धि, तपाईले पो सम्झाउनु पर्ने नानी? तपाईले त झन भाइलाईसमेत उकासेर ल्याउनु भएछ।’
‘हैन, अब सोच्ने र सम्झाउने बेला गयो। आफैं जान्ने सुन्नेलाई कल्ले सम्झाउने?’
बुबाको चेहेराको रंग एकाएक खर्ल्याङ खुर्लुंङ उड़्छ।
‘यो त तपाईँको भनाई भो,’ बुवा भन्नु हुन्छ, ‘परिवारमा यस्ता सानातिना कलह भई’रन्छ नि। के ज्वाईको विचार पनि यही हो? अली अली सहने हिम्मत त सबैमा हुनु पर्यो नि। कम्प्रोमाइज भन्ने त सुन्नु भा’को होला। बिहे गरेपछि कम्प्रोमाइज गर्न सिक्नुपर्छ।’
भेना लाटा जसरी बस्छन्। बोल्ने काम सबै उनको दिदी गर्छिन्।
‘यसले मात्र कम्प्रोमाइज गर्नुपर्ने? उसले पर्दैन?,’ दिदीले पुनः भनिन्।
‘दुबैले पर्छ। म उसलाई त्यहीँ बुझाउन खोजिरहेछु। समय दिनुहोस्। म उसलाई सम्झाउँछु। अब त्यस्तो हुँदैन। विश्वास गर्नुहोस् मलाई,’ बुबाले भन्नुभयो।
भेना जुरूक्क उठेर भन्छन्, ‘नकाब भित्रको तपाईँको छोरीको चेहरा बिहे अघि देखेको भए, सत्य, म ऊसँग बिहे नै गर्दैनथेँ। ठिकै छ, सम्झाउनुस् छोरीलाई। हेरौं, कत्तिको सम्झन्छे।’
सिनेमा त क्लाईमेक्समै पुगे झै भयो। विजयको स्वर उनीहरूको थियो। घर चाही हाम्रो, गर्जन चाही उनीहरूकैं बढी थियो।
बुवा थाप्लोमा हात राखेर बस्नु’भो। रश्मी छानाबाट खसेझैं भई। के के भन्छु अनि कसरी काम बनाउँछु भन्ने योजना बनाएर बसेको हुँदी हो, सबै चकनाचुर भो। आमा फेरि आफ्नो अनि छोरीको भाग्यलाई सराप्न थाल्नु’भो।
‘आमाजु नै घर भडुवा जस्ती छ आमा। ज्वाईलाई त बोल्न दिएकी हैनन,’ भाउजुले भन्नुभयो, ‘चिया बनाएर लगेको पनि नखाई हिँडे।’
‘दिदीले सबै बोल्देपछि के बोल्थ्यो त ऊ? रगत पातलो र पानी बाक्लो कहाँ हुन्छ? नालायक,’ आमा अझै कड्कदै भन्नुहुन्छ, ‘हुन त, रिस आफ्नै छोरीको पनि कहाँ कम छ र? कति भनीसकेँ झगडा गर्दै घर छोडी नआउनू भनेर। माने पो? अनि परिवारका सबै मिलेर खोईरो नखनेर के गरून्? हामीले कति सह्यौ? यसै घर चल्छ?’
धन्न आमामा त्यति बुझ्ने ज्ञान चाही रै’छ भने झै के लाग्या’थ्यो फेरि आफूमा लगेर कुरा जोडी हाल्नु’भो। सायद बैंसमा हुँदा लागेका चोटले दुखाउन कहिले पनि नछोड़ने रै’छ।
अहिलेको बुवा हेर्दा त आमालाई जीवनमा कैले दुःख दिनु’भो होला जस्तै नलाग्ने। तर के गर्ने? मान्छेले नै मान्छेलाई चित्त दुखाउँछ। घात गर्छ। दुःख दिन्छ। अनि जसलाई सबै भम्दा बढ़ी माया गर्यो उसले नै औकात देखाउँछ।
सबैको विरह, बेदना, रिस, आक्रोस, असन्तुष्टि, झुठो प्रेम, अहंकार आदि इत्यादि देख्दा देख्दा र सुन्दा सुन्दा आजकाल त मलाई नै मया प्रेम घर परिवार भन्ने कुरा सबै ब्यर्थ झै लाग्न थालेको छ।
मनमा यस्तै कुरा खेलाउँदै म मेरो कोठाको झ्याल नजिकै उभिन्छु। पर डाँडा पारी सूर्य तल झरेर साँझ बोलाउँदै छ। सायद कागहरू पनि आफ्नो दिनचर्या सकेर घर फर्केका होलान्, रूख रुखमा बसी कोलाहाल मच्याउँदै छन्। रश्मी, लोग्नेले दिएको झटकामा अझै रन्थन्नी रहिछ। मेरो आँखा झलक्क तल घर पछाडि बगैचामा बिनी भाउजुले सुकाएको डोरीको लुगामा पर्छ। बिहानै सुकाएको लुगा त उनी मध्य दिनमा सधै उठाई सक्थिन्। बिनी भाउजुलाई बिसन्चो भए छ कि के हो? मलाई यस्तै लाग्यो।
बिहान लुगा सुकाउँदा उनको टाउको सबै पछ्यौराले छोपिएको थियो। अनुहार अली कस्तो कस्तो लागेथ्यो। तर लाग्यो, सूर्य दाले त्यस्तो माया गर्छन् बिनी भाउजुलाई। बिसन्चो नै भएको भए त त्यतीकै घरमा छोडेर कहाँ काममा जान्थे र?
भोलिपल्ट पनि बिहानै झ्याल खोल्दा देख्छु बिनी भाउजुले हिजो सुकाएको लुगा अझै बाहिरै छ। बिनी भाउजु कहिल्यै त्यसरी बाहिर लुगा छोडदिनथिइन्। सूर्य दा माथि नआएका पनि केही दिन भइसकेको थियो। ‘बिनी भाउजु बिरामी रै’छिन कि के हो, आमा?’ मैले भने, ‘सूर्य दा माथि नआएका पनि निकै दिन भयो।’
‘किन र? सूर्यलाई त बिहान मात्र छोरा लिएर मोटरसाइकलमा निस्केको देखे थेँ,’ आमाले भन्नु भयो।
‘हिजो बिनी भाउजुको अनुहार नियाउरो देखे’थे। लुगा सुकाउँदै हुनुहुन्थ्यो बाहिर। हिजो सुका’को लुगाहरू आज पनि यत्तिकै छन् डोरीमा।’
‘यसो गएर भेट न त’, आमाले भन्नुभो। ‘यस्तै गारो साह्रो परेको बेलामा हो मद्दत गर्ने। बिमारी रै’छिन् भने माथिबाट खाना ल्याई दिन्छु भन्नु नि।’
म तल झर्दै थिएँ, सूर्य दाको मोटरसाइकल खुर्रर गएको देखेँ। आमाले बिहान मात्र छोरा लिएर निस्केको देखे’थे भन्नु भा’थ्यो। सायद केही बिर्सेर फर्केका होलान्। छोरा पनि त छैन साथमा, म यस्तै सोचेर तल झरेँ। मुल ढोकामा बाहिरबाट ताल्चा लगाएको थियो तर भित्रबाट अनौठोको आवाज आईरहेथ्यो। यसो कान थापेको, पूरा बिश्वास भयो आवाज भित्रबाटै आएको भन्ने। मन कता कता चिसो भयो।
आवाज अचम्मको छ। घुरेको आवाज त पक्कै होइन, यति खेरसम्म बिनी भाउजु सुतेको हुने त सम्भावनै छैन। म घर पछाडि गएर पछाडिको झ्यालबाट चिहाउँछु। पर्दा सबै तिर बन्द थियो तर त्यो नमीठो आवाज आईनै रहेको थियो।
जिउ जीरिङ हुन्छ। म यसो कुना काप्चाबाट चिहाउँछु। बन्द दुई पर्दा बिचको टाँडबाट मैले जे भित्र देखेँ, त्यो दृश्यले मेरो मुटु रूक्न लागेझैं भयो। म हेर्न नसकेर दौड़दै माथि आउँछु।
‘के भो?’ आमा वाल्ल पर्दै हेर्नु हुन्छ।
‘बिनी भाउजु,’ म डाँको छोडेर रून्छु।
‘लौ के भो यसलाई? कुरै नभनी रून पो थाल्छे। के भो? किन आत्तिएको यस्तरी,’ आमाले भन्नु भयो।
म लामो सास फेरेर आँसु पुस्छु।
‘जताततै नीलडाम छ लुगा जम्मै च्यात्तिएको। खै के भा’ हो। रगतै रगत छ जता ततै। त्यस्तो स्वास्नी छोडेर किन गए सूर्य दा? कतै उनले नै कुटेछन् कि के हो? लौन, कसैले मद्दत गर्नुपर्यो। हस्पिटल लानपर्यो,’ म थर्रथर काँपिरहेथेँ।
आमा अकमक्क पर्दै मलाई हेर्नु’भो र भाउजुलाई बोलाउदै भन्नु’भो, ‘हिँड त एकपटक तल गएर हेरौं। खै के भन्छे यो।’
आमा र भाउजु तल गए। मैले भने फेरि बिनी भाउजुलाई हेर्ने आँट गर्न सकिनँ।
उनी मरणाशन्न अवस्थामा ढलिरहेकी थिईन्। दाइले पुलिस बोलायो। पुलिसले ढोका फोड्यो र एम्बुलेन्समा राखेर उनलाई हस्पिटल लग्यो।
घरमा सबैजना नतमस्तक छन्। सूर्य बेलुकी घर आएन। पुलिसले कोठाको खान तलासी गर्यो, खासै महत्वपूर्ण सामान केही बाँकी थिएन।
यो घटनाको कतिदिन पछि पनि आमा चुपचाप हुनुहुन्थ्यो। सायद अझैसम्म चकित हुनुहुन्छ उहाँ नकाब भित्रको सूर्यको चेहरा सम्झेर।
‘तपाईँ त एकदम चुपचाप हुनुहुन्छ कति दिनदेखि,’ मैले भने, ‘अब बिनीको बारेमा सोचेर बस्न छोडिदिनुहोस।’
‘बिचरी बिनी’, उहाँले भन्नुभो, ‘ती उदास आँखा अनि मौनता भित्र कती पीडा लुकेका रै’छन्। मैले भने सधै उसलाई नराम्रो नै ठाने, दोषि नै ठानेँ।’
‘तपाईको दोष होइन आमा। सूर्यले ब्वाँसोको चेहरालाई मुँकुण्डोले छोपेको रै’छ अनि तपाईँलाई त्यस्तो के थाहा? नकाब भित्रको मानिसलाई चिन्न कहाँ सजिलो हुन्छ? बाहिर हरपल मुस्काउँने, हसीलो रसिलो चेहरा आफ्नो ढोकाको चौकोस भित्र त्यस्तो शोषक र अत्याचारीमा हुनसक्छ, त्यो कसले कल्पना गर्न सक्छ? कति स्वास्नीमानिसहरू कसरी आफ्नै घर भित्र पनि असुरक्षित हुन्छन्? सारै दुःख लाग्दो कुरा।’
‘हो रै’छ। अरुको जीवनमा के गुज्रिरहेको छ, बाहिरबाट हेरेर मात्र थाह नलग्दो रै’छ। कती राम्रो सम्बन्धमा बाँधीएका जोडी झै लाग्थ्यो।’
‘मानव सम्बन्ध? झन त्यसमाथि पनि पुरुष र नारी बिचको सम्बन्ध त समानताको बुनियादमा कैले पनि अडेको हुँदैन। त्यसैले त दीगो अडेका सम्बन्धहरू प्राय सम्झौता मै अडेको हुन्छ। कतै कसले सम्झौता गर्छ, कतै कसैले। कतै जीवन भनेकै यही हो भनी सम्झौता गर्छन् त कतै भाग्य यस्तै भन्दै। बिचरी बिनी भाउजुले सायद भाग्यसँग सम्झौता गरेकी हुँदीहुन्। अरूले देख्दा ईर्ष्या लाग्ने जस्तो सम्बन्ध पनि भित्र भित्र धमिरा लागेको काठ झै हुन्छ। त्यसैले त भन्छन, ‘हरेक बन्द ढोका भित्र आफ्नै आफ्नै कहानी हुन्छ।’
आमा भन्नुहुन्छ, ‘हो रै’छ। बन्द ढोका भित्र सबैको आफ्नै कहानी। अनि खुला संसारमा कति होलान् सूर्यको जस्तै नकाबधारी मानिस अनि स्वास्नी मानिसहरू।
‘सही भन्नुभो आमा’, मैले भने, ‘यो दुनियाँमा पुरूष होस या नारी। जो कोही पनि मकुण्डो भिरेर हिँडेको हुनसक्छ। मानिसको स्वभाव, ऊ हुर्केको परिवेसले तय गर्छ। कास! मानिसको नकाब भित्रको चेहरा पनि एक्स रे मा जस्तै गरी बाहिरबाटै देखिने भए, सायद कसैले अत्याचार भोग्न पर्दैनथ्यो होला।’