प्रिय डाक्टर,
कस्तो छ तिमीलाई?
सञ्चै छौ नि ?
***
आजकाल त,
सञ्चो बिसञ्चो सोध्न पनि डर लाग्छ
इरिटेड हुन्छौं कि जस्तो लाग्छ ।
***
थाहा छ मलाई
बिसञ्चो छ तिमीलाई
हतार छ, बिरामी हेर्न
बेड मिलाईदिन
अक्सिजनको जोहो गर्न
बिरामी र आफन्तको फोन उठाउन।
म बुझ्छु तिम्रो व्यस्तता
त्यसैले त हिजोआज
हाम्रो कुराकानी प्रायः एकोहोरो मात्रै भएको छ
नपत्याए हेर त तिम्रो मोबाइलको मेसेज बक्स
***
प्रिय डाक्टर !
कहिलेकाही त
तिम्रो रिप्लाई कुर्दाकुर्दै निदाउँछु म ।
तर, कुनै गुनासो छैन तिमीसँग
गुनासो गर्नेछैन, कहिल्यै
तिमी त युद्वमा खटिएको सिपाही हौ
जित्नु छ तिमीले, यो युद्व ।
बचाँउनु छ, हजारौं प्राणहरुलाई ।
आशा भर्नु छ, ती बिछिप्त मनहरूमा ।
***
सक्ने भए म,
तिम्रो लागि ४८ घण्टाको दिन बनाइदिन्थेँ
४८ घण्टाकै रात पनि
ता कि,
थुप्रै पीसीआरका रिपोर्टहरू हेर्न सकौ
आइसोलेसनमा भएकाहरूलाई बाँच्ने आशा भर्न सकौ
अक्सिजनको जोहो गर्न सकौ
इमर्जेन्सी, आइसीयू र भेन्टिलेटरसँगको दुरी कायम गर्न सकौ
***
नसके पनि
यो समयलाई पक्रन
म तिम्रो बाटो कुरिरहन सक्छु,
पर्खिरहन सक्छु तिमीलाई ।
तिम्रो यादमा कयौं दिनहरू यसै काटिदिन सक्छु।
त्यही दिन,
पैसा, समय र सँगसँगै भइएन भनेर रिसाउन पाइदैन नि?
भनेर तिमीले गरेको प्रश्नमा
‘हुन्छ’को ल्याप्चे लगाएकी हुँ मैले।
म असाध्यै खुशी छु,
युद्वमा खटिएका सिपाहीहरूको कमाण्डर हौ तिमी ।
जुनीभर तिम्रो साथ नछोड्ने कसम खाएको छु,
यी केही वर्षहरू त के हुन् र ?
***
मन त छ,
मृत्युलाई नजिकैबाट नियाल्दै
होपलेस भएका तिमीलाई बेस्सरी अंगालोमा कसौं
रसाएका आँखाहरू नजिकैबाट नियालौं
र तिम्रो शिर आफ्नो काँधमा राखेर भन्न सकौं,
नरोऊ ! सब ठीक हुन्छ ।
१९ घण्टासम्म लगाउँदा ति प्लाष्टिकका पन्जाहरू
पट पट फुटेका तिम्रा हातका औंलाहरूलाई सुम्सुम्याउँदै
महसुस गर्न सकौं दुखाई ।
पुछ्दै पसिना पसिना भएको तिम्रो अनुहार,
मीठो चुम्बन गरेर निधारमा
सुन्न सकौं ढुकढुकीको चाल र, भन्न सकौं
नआत्त, सब ठीक हुन्छ ।
***
तर, परिस्थिति बिल्कुलै यस्तो छैन
महिनौंसम्म अस्पतालको बसाइ,
न साँझ, न बिहान, न राति
न बार, न गते
एक तमास तिमी काममै खटिएका छौ ।
म तिमीसँग रिसाएको छैन, कत्ति पनि
खाली आज तिम्रो यादमा केही शब्द कोरेको मात्रै हुँ !
समिप आउन नपाए पनि तिम्रो
टाढैबाट
यो आकाश भन्दा ठूलो,
नदीभन्दा लामो,
बादलभन्दा धेरै
समुन्द्रभन्दा गहिरो
मायाको पोको पठाएको छु ।
जब निराशाहरूले,
डेरा जमाउन थाल्छ नि मस्तिष्कमा.....
सम्झनु, तिमीसँगै छे तिम्री मायालु,
तिमीले राउन्ड लगाउँदै गरेको वार्डमा
घुमिरहेकी छे।