एकैछिन मात्रै ओझेल पर्दा कतै
छोराछोरी आफ्ना आँखाबाट
एकैछिन आवाज नआउँदा तिनैको
चकचक गरेर खेलेको मझेरीमा कतै
न भोक लाग्छ आमालाई कसैकी
न निदाउन सक्छन् बाबा कसैका!
तर कुनै दिन एउटा मात्रै गोली सिटामोलको
किनेर ल्याउनुपर्दा आफ्नै बाबा-आमाका लागि
खिचेरै देखाउनुपर्छ र फोटो?
आफ्नै छोराछोरीले दुनियाँलाई!
कति पटक बिरामी परेर तङ्ग्रिए होला छोरो सानोमा
कति पटक निकालिए होलान् काँडा खुट्टाबाट छोरीका
कति रातहरू बिते होलान् ननिदाएर आमा
कति पटक भोकै सुते होलान् बाबा
तर एकचोटि मात्रै जाँच गराउनु पर्दा आमालाई
फिजियोथेरापी गराउनु पर्दा बाबालाई
खिचेरै देखाउनु पर्छ र फोटो
आफ्नै छोराछोरीले दुनियाँलाई!
कतिपटक रित्तै भएको थियो होला कसौँडी
भुराहरू अघाएपछि पालोमा आमाको
कति वर्ष नफेरेरै बितेको थियो भोटो बाबाको
आङ ढाकिदिनु पर्दा छोराछोरीको
तर किनिदिनु परेमा एउटा रुमाल आमालाई
बुढ्यौलीमा बगेका आँसु पुस्न
अनि किनिदिनु परेमा टेक्ने लठ्ठी बाबालाई
अलि परसम्म हिँडेर आँखा बिसाउन
खिचेरै देखाउनुपर्छ र फोटो
रुमाल अनि जाबो लट्ठीको
आफ्नै छोराछोरीले दुनियाँलाई!
कति पटक नगएरै बसिन् होला माइतीघर
रुँदै तिजमा आमा सन्तानकै लागि
कति पटक नगएरै बसे होलान् जन्ती कसैको
मन मारेरै बाबा सन्तानकै हेरचाहमा
तर जान नपाउँदा सन्तान कतै घुम्न
बाबा अशक्त भई ओछ्यानमा रहेपछि
तर नपाएमा निस्कन सन्तान टहलिन कतै
कुर्नु परेर आफ्नै आमालाई घरमा कुनै दिन
खिचेरै देखाउनुपर्छ र फोटो विवशता झैँ?
यति गरेँ भनेर दुनियाँलाई!
हिजो आफैलाई तातेताते डोर्याएका
वृद्ध बाबाका ती हात समात्दा
हिजो आफैलाई जन्माएर हुर्काएकी
साक्षात् देवीसमानकी आमाको नजिकमा मात्रै बस्दा
बिर्सिन्छन् गुनहरू ती हिजोका
निस्वार्थ मातृत्व आमाको अनि प्रेरणा बाबाका
एकाएक निकालिन्छन् क्यामेरा खल्तीबाट
खिचिन्छन् फोटोहरू तरह तरहका
बाआमाका लागि यति गरेँ भनेर
देखाउनकै लागि यो दुनियाँलाई!
महान् चाडपर्वमा बाआमाका हातबाट
टीका थाप्न पनि नभ्याउनेहरू
ढलेर तिनै बा-आमा ओछ्यानमा
थला पर्दा समेत घिन मान्नेहरू
सकिँदा खर्चको बाटो विचराहरूको
विकल्पको हात नथाम्नेहरू
केवल एक दिन भेट्न पुग्दा खिचेर सुन्दर फोटो
केवल मृत्युको खबरमा चुहाएर दुई थोपा आँसु
मुख हेर्ने दिन आज बाआमाको भन्दै उनीहरू
केवल दुनियाँलाई भ्रममा पार्न यहाँ
कतै चुहाएर आँसु आँखाबाट
कतै टाँसेर फोटो भित्तामा
देखाउनै पर्छ र?