जेठ मासको गर्मी। आकाश हेर्दा लाग्छ आकाश र बादलबीच नराम्रो शत्रुता भएको छ। नत्र किन बदाल आकाशको भूभागमा देखिनै नचाहेको होला!
घरमाथि घर गाभिएका छन्। मूल ढोकाबाट बाहिर पाइला राख्ना साथ पैतला कि सरकारी बाटोमा पर्छ कि त छिमेकीको घरमा। घरहरु केही दूरीमा भैदिएको भएपनि सायद हावालाई बहन सजिलो हुन्थ्यो होला र बहदै गएर 'सामना' को कोठासम्म पुगेर उसको गुम्सिएको मनमा शितलता छर्न सक्थ्यो होला।
हुन त उसले पनि कहाँ बाटो बाँकी छाडेकी छ र, हावालाई उसको कोठा भित्र छिर्न। प्यानमा अण्डा राखेर छोड्ने हो भने अमलेट बन्ने तामक्रम छ बाहिर। सामनाको कोठाको झ्यालमा भने डम्म पर्दा झारिएको छ। त्यसै त लामखुट्टे छिर्न नदिन जाली लगाइएको छ झन् त्यहीमाथि उसले सिसावला झ्याल पनि लगाएकी छे।
झन् ढोका खुल्लै गर्ने त कुरै भएन। धन्न माथिपट्टि रहेको भ्यान्टिलेसन कसो खुल्लै रैछ र हावाले थोरै भएपनि भित्र आउने गतिलो बाटो पाएको थियो।
कपडाहरु यसै छरिएका छन्। छरिए मात्र त हुन्थ्यो, केही त अमिलो गनाउन पनि थालिसकेका थिए। उसको खाटको तन्नाले आफ्नो वास्तविक रंग बर्सिसकेको छ। त्यो चार भित्ते कुनो उसको कोठा कम माकुराको अड्डा जस्तो ज्यादा देखिन थालेको छ।
दुई दिन अघि खाना खाएका थाल, कटौरा खाटमुनि त्यसै कोचिएका छन्। कोठामा रहेको ठूलो मेकअफ ऐनामा धुलोको साम्राज्य विस्तार हुँदै छ। लाग्छ उसले ऐना नहेरेको सदियौँ भैसक्यो। हुन त जसलाई खाना नरुचेको दुई दिन भैसक्यो, उसमा ऐना हेर्ने रूचि के बाँकी हुन्थ्यो र!
तर यी सबै बीच उसको सानो गमलाको बिरूवा जुन झ्याल नेरीको टेबुलमा उसले राखेकी छे, त्यसको पात भने हरियै थियो। त्यो कोठामा त्यो एउटा बिरूवा र उसको सानो बिरालो जसलाई उसले 'मिमि' भन्थी, यी दुई बाहेक सब निर्जीव जस्तै भएका थिए।
हुन त खाट, दराज, किताब, बोतल सबै निर्जीव नै हुन् र उनीहरु त आफ्नो निर्जीव हुनुको कर्तव्य निभाइरहेका थिए। तर सामना ऊ त प्राणधरी हो। त्यहीमाथि मान्छे, आखिर ऊ किन ती दराजहरु सित अर्थहीन प्रतिस्पर्धा गर्दै थिई? किन सजिव हुनुको कर्तव्यबाट भाग्दै थिई ऊ?
कर्तव्यबाट भाग्दासम्म त ठिकै हो तर होइन, ऊ त जीवनबाट पनि भाग्दै थिई।
ऊ पनि किन निराश नहोस्? उसका अवोध मन जहाँ-जहाँबाट उसले ममताको आश गरी, जिन्दगीको रस खोजि, त्याहाँबाट उसले केही थान सुझाव, केही दर्जन माया (त्यो पनि क्षणभरमै सकिने) र केही ग्राम आश्वासन र ढडास बाहेक केही पाइन।
होइन होइन, धेरै पाई। जब जब उसले मनको कुरा राख्न खोजि बुवाको पकेटबाट पैसाको राम्रो मात्रा पाई। जसलाई बोकेर ऊ बजारका हरेक पसल छिरी अनि दुई हातमा नअट्ने सामान किनी तर बेलुका जब कोठामा आउँथी ऊसँग उही शून्यता, एक्लोपना र छटपटाहट टाँसिन आइपुग्थे। र, छोड्दैन थिए कहिले त बिहान हुँदासम्म पनि।
हो, ऊ आफ्नाहरूको भिडमा पनि एक्लिएकी छ। आमाले माया नगर्ने होइन। नगर्ने भए बिहानै कोठामा उठाउन आउनु हुन्थिएन होला। तर ऊ चाहान्थी आमाले उठाएर कपाल मुसार्दै टेबुलमा बाफ उडिरहेको चिया राख्दै भनून्, 'ल ल, उठ हाल चिया सेलाइसक्यो।'
अनि जब रात पर्छ आमाले काखमा सुताउँदै सुख-दुखका कुरा गरून्। उसलाई उसका गल्तीमा गाली गरून अनि उसका सफलतामा गर्व गरून्।
तर जब जब उसले बुवालाई खुसी हुँदै मेडल देखाई तब 'वेल डन् बेटा' बाहेक केही खास प्रतिकृया र चासो पाइन बुवाको अनुहारमा।
सानो छँदा पनि एक-दुई पटक बाहेक बुवाको काखमा बसेर घुम्न गएको याद छैन उसलाई। घुम्न त जान्थी तर सहयोगी दिदी सित मात्र।
सानो हुँदासम्म त उसलाई खासै ध्यान गएन यस्तो कुरामा तर जति उमेर बढ्न थाल्यो, उति मन चाउरिँदै जान थाल्यो उसको।
उसलाई बुवाआमाले आफूसँग समय नबिताएकोमा उति गुनासो थिएन। गुनासो थियो त बुवाआमा एकअर्कासँग नबोल्नुको।
त्यहीँमाथि दिनदिनैको गनगन गुनगुन। कहिले आमा रिसाउनु हुन्थ्यो बुवासँग र कहिले बुवा झर्किनुहुन्थ्यो आमासँग। कहिले काहीँ त कुरो हात हालाहालसम्म पनि पुग्थ्यो।
बुवाआमाले एकअर्कालाई लगाएका लाञ्छना ऊ सुन्थी अनि ढोका लाएर रून्थी। अरू त के नै गर्न सक्थी र ऊ! बुवाआमाको झगडा छुट्याउन नगएकी होइन तर उल्टै गाली अनि एकअर्कालाई पोख्न नसकेका रिसहरू पोख्न थाल्थे ऊमाथि।
'तँ आफ्नो कोठामा जा, नत्र छोडेर हिँडिदिन्छु। झन् उसकै लागि सहेर बस्यो' सम्म भनेर आमा रिसाएकी छिन् ऊमाथि।
अब झगडा हुँदा बाहिर निस्किदिन ऊ। बिहान त ऊ क्याम्पस जाने हुँदा, केही समय बिर्सन्छे सबथोक। तर विगत केही दिनदेखि उसलाई कक्षा कोठामा एकछिन बस्न पनि निकै गाह्रो भैरहेको छ।
घरमा के भयो होला आज? बुवा रिसले कतै आज पनि आफ्नो हात सिसामा त हान्नु भएन! कतै आमाले वर्षौ पहिलेको गुनासो पोख्दै घर उचाल्नु त भाछैन?
यस्तै यस्तै के-के हो के-के आउँथ्यो उसको मस्तिष्कमा। न ऊ शिक्षकको कुरा सुनिरहेकी हुन्थी न बुझिरहेकी हुन्थी। शिक्षकले केही प्रश्न सोधे भने उसलाई आफ्नो मस्तिष्कको दुनियाँबाट निस्कनै समय लाग्थ्यो। न केही मेसो पाउँथी न त चासो नै दिन्थी।
दिनभरि कोठामा चुक्कुल लाएर बस्न नै उसलाई सजिलो लाग्थ्यो।
तर मस्तिष्कको चुक्कुल लाउन कति कोसिस गरी सकिन उसले। जति गर्दा पनि अनेक कुरा दिमागमा छिरिहाल्ने। साँझ पनि बुवा र आमा आउने समयमा अन्तर हुने। र राति एकछिन किचकिच, तँ-तँ र म-म नभएको रातै हुन्न।
ऊ आत्तिन्छे, कान बन्द गर्छे, हातखुट्टा एक ठाउँमा राखेर घुँडामा टाउको राखी ऊ रुन्छे, कराउँछे र कहिले काहीँ कुयल्छे आफ्नै कपाल।
टाउको दुखेर फुट्ला जस्तो हुन्छ उसको। आँखा राता भैसकेका हुन्छन्। छट्पटी भैरहन्छ। जे चिज देख्दा पनि रिस उठ्न थाल्छ उसलाई।
गमलाको बिरुवा हेर्छे, एकछिन एकोहोरिन्छे अनि सोच्छे 'कमसे कम म त छु तेरो लागि तर मेरो लागि त यतिको बुझ्दिने पनि त कोही छैन। यत्रा मानिस छन् तर म गुम्सिएको, म निसासिएको कुरा सुनाउने कोही देख्दिनँ।'
उसले सहन सक्ने एक्लोपन सहेकी छे। भुल्नै नसक्ने कुरामा आफूलाई भुलाएकी छे। तर आज उसको मन अलि बढी नै विक्षिप्त भएको देख्दै छे। माथि पंखा घुमिरहेको छ, सामनको आँखा त्यतै जान्छन्। त्यतिकैमा मिमि ले 'मिआउउउउ, मिआउउउउ' गर्छ।
रूबि झल्यास्स हुन्छे, चारैतिर हेर्छे। कराउने कोही सामनाको मिमि होइन छिमेकबाट दूध चोर्न आएको ढाडे हुन्छ त्यो। रूबिले लामो सास तान्छे। र एकछिन कस्तो नमिठो सपना भनेर दिक्क मान्छे।
तर उसलाई अचानक आफ्नी एउटी साथीको याद आउँछ जो केही दिनदेखि तनावमा देखिन्थी। रूबिले उसलाई कारण सोध्न भ्याएकी हुन्न। सँगै घुम्न जान, रमाउन, भ्याउने तर साथीलाई आफ्नो वास्तविक आवश्यकता भएका बेला नभ्याएको आफ्नो बानी सम्झेर उसलाई रिस उठ्छ र ऊ दौडदै साथीकोमा जान्छे।
ऊसँग मायाले कुरा गर्छे। उसलाई सजिलो महशुस गराएर उसको समस्या बुझ्ने कोसिस गर्छे। उसको समस्या उसको परिवार माझ राख्न मद्धत गर्छे।
कक्षा कोठामा एउटा साथीले नजान्दा पुरै जमात विद्यार्थी गलगल हाँसेर उसलाई हेर्नु, कुनै गल्ती हुँदा शिक्षकले सबैको सामु बेइज्जतपूर्ण टिप्पणी गर्नु, साथीभाइबीच कसैको उचाइ र शारीरिक बनावटको बारेमा लगातार मजाक बनाउनु,
घरमा पटक-पटक उसको जागिर, कमाइ आदिकै आधारमा दिनहुँ किचकिच गर्नु, बा-आमाले पूरा कोसिस गर्दागर्दै केही नगरेको जस्तो भान गराउनु, अनेक कारण देखाई मन लागेको विषय पढ्नबाट रोक्नु, आदि व्यवहार हामी दिनहुँ गरिरहेका हुन्छौँ जसको परिणामको हामीलाई अलिकति पनि अन्दाजा हुँदैन।
हामीलाई सामान्य लाग्ने कुराले अर्को व्यक्ति माथि गहिरो प्रभाव पारिरहेको हुनसक्छ। हाम्रो कुनै व्यवहारले दोस्रो व्यक्तिलाई तनावको चरम उत्कर्षमा पुर्याइदिनसक्छ,जसले पछि उसले आफ्नो ज्यानसम्म लिनसक्छ।
आफ्नो स्वार्थपूर्तिका लागि अरूलाई दबाब दिनु, आफ्ना रहर अरू माथि थोपर्नु कतिसम्म को ठिक हो? यदि तपाईंको यहीँ व्यवहारले कसैले जीवन त्याग्ने स्थितिमा पुग्यो भने तपाईं नैतिक रूपमा मात्र नभई कानुनी रूपमा पनि दोषी हुनुहुनेछ।
झन् अहिलेको समयमा त झन् आफ्ना नजिकका मान्छेको मनस्थिति बुझ्न जरूरी छ। विचार साटासाट गर्न जरुरी छ। दुःख जति साट्यो उति घट्छ। जति अरूको कुरामा वास्ता नगरौं भन्ने सिद्धान्त रटे पनि पार्छ, पार्,छ पार्छ, हाम्रो व्यवहारले अर्को व्यक्तिलाई ठूलै असर पार्छ।
कोसिस गरौं त्यो असर सकारात्मक होस्। जीवन जिउने टिकट पटक पटक पाइँदैन। त्यसकारण आफू पनि खुसी साथ बाचौँ, अरूलाई पनि बाँच्ने वातावरणको सिर्जना गरौँ।