आज बत्तिएर पानी परिरहेको छ। बतास र पानी दुवैले एकसाथ एकअर्कालाई प्रेम गरेका छन्। उसो त मलाई मनपर्ने मौसम त पानी बिसाइसकेपछिको हो तर आज यही समय प्यारो लागिरहेछ।
आखिर मेरै जीवन पनि यसैगरी हुत्तिएर अघि बढ्यो, एक्कासी धेरै माथि। न सोचेको न सम्झेको। घाम लाग्दा लाग्दै अनायसै आएको हावाहुरीसहितको जोड-तोडको पानी झ्यालबाट हेर्दै राम्रो चल्दाचल्दै अप्रत्याशित मोडिएको मेरो जीन्दगीलाई विगततिर फर्केर नियाल्दैछु।
म सबेरै पाँच बजे उठ्थेँ, छ बजेदेखि १२ बजेसम्म कलेजमा पढाउथेँ। त्यसपछि दिउँसो केही पुस्तक पढ्थेँ। साँझ यसो बाहिर निस्कन्थेँ। मान्छेको दोडधुप नियाल्थेँ, मान्छेलाई के-के को हतार हुँदो हो।
हुन त आफै पनि कुदिरहने नै हो। रात्रिकालीन समय लेखनमा बित्थ्यो। शनिबार म कामको नाममा केही गर्दिनथेँ। कहिले घुम्न निस्कनथेँ त कहिले मस्त निदाउथेँ। केही गुनासा थिएनन्, असन्तुष्टी थिएनन्। साँच्चै सोचेजस्तै थियो जीवन।
परिवारको जिम्मेवारी बोध अनि बहन गर्नुपर्ने बाध्यताले मैले सत्र वर्षदेखि नै काम गर्न थालेँ। म काम र पढाइले यति व्यस्त भएकी मलाई प्रेमको अनुभव नै भएन। किशोरावस्था हुँदा केही प्रस्ताव नआएका त होइनन् तर सपना देखिरहने मेरा आँखा र काँधको जिम्मेवारीले बेवास्ता गर्न कर लगाए।
पछि पछि कहिले तिम्रो लेख मन पर्छ त कहिले व्यक्तित्व त भने तर कसैले तिमी मन पर्छ भनेनन्। सोचेजस्तो पात्र भेटिनँ या समय अनुकूल भएन, मेरो कसैसँग प्रेम बसेन। सायद सुन्दर हुने चक्करमा रूपवान हुन भुलेँ केरे।
खै किन किन मलाई केटीको जीन्दगी विवाह पछि सकिन्छ जस्तो लाग्थ्यो। स्वतन्त्र भएर बाच्न मन पराउने मलाई एउटा बन्धनजस्तो लाग्ने भएर पनि होला म विवाहदेखि पनि टाढै बस्ने कोसिस गरेँ।
अब भने परिवारबाट पनि दबाब आइरहेको थियो। आमा हामीलाई धेरै दुख नदे,अब त मान्दे बाबै भनेर अनेक हर्कद गर्नुहुन्थ्यो। यो पटक भने बाबा आफैले भन्नुभयो- ‘छोरी, अब तैले विहे गर्नुपर्छ।’
एक मनले भन्यो उमेर पनि त...अहो! कति छिटो समय घर्केछ। म यो जन्मदिनमा २९ पूरा हुँदैछु। सकारात्मक प्रतिकृया जनाएपछि बाबाले भन्नुभयो- ‘मैले एक ठाउँमा कुरा गरेको थिएँ। हामीलाई यता चित्त बुझ्यो तँ उतै भेट्नू। केटो इन्जिनियर हो, काठमाडौँ नै कामकाज रैछ’ भन्दै नम्बर दिएर फोन राख्नुभयो।
भोलिपल्टको भेटपछि यस्तै लाग्यो ऊ मलाई- साधारण, कम बोल्ने, कामप्रति लगाव, अन्य कुरामा खासै चासो नराख्ने। एकहिसाबले उसको जीवन लिनियर थियो जुन मलाई मन पर्दैनथ्यो।
एक भेटमै त कति पो चिनिन्छ र मान्छेलाई! वर्षौंदेखि आफैलाई त चिनेको छैन। खै! के सोचेर हुन्छ भने विवाहको लागि कुन्नि, जबकि उसमा मेरो सपनाको राजकुमारमा हुने कुनै गुण थिएनन्। विवाह माथिबाटै लेखेको मान्छेसँग हुन्छ भन्थे हो रैछ भनेर मैले मन बुझाएँ।
केही समयमै हाम्रो विवाह भयो। विवाहपछिको समय म जीवनदेखि अझ सन्तोष मानिरहेकी थिएँ। शारीरिक, मानसिक, मनोवैज्ञानिक, संवेगात्मक र सामाजिक हिसाबले पनि।
ऊ कति समझदार थियो ताकि मैले सोचेकोजस्तो बन्धन हुँदै भएन। हामी एकअर्कासँग खुल्दै थियौँ। मेरा लेखमा, मेरा विचारमा ऊ खुलेर प्रशंसा गर्थ्यो। हाम्रो प्रेम झागिँदै थियो। हामी प्रेमको सुगन्धमा चुर्लुम्म डुबेका थियौँ।
तर समय सधैँ कहाँ एकनास रह्यो र! दुख मान्छेलाई खबर गर्दै त नआउने रैछ। सबै सबै फेरियो जब म एक्कासी बिरामी परेँ। त्यो समयसम्म मलाई कहिल्यै कमजोरी,आलस्य या बिरामी भएको अनुभव थिएन।
तर सानोमा भने ‘आशै मारेका थियौँ, तैनि बचिस् ठूलै विमार लागेको थियो नि तँलाई’ आमा बेलाबेला भन्नु हुन्थ्यो।।
महिना दिन के भएको हो नै थाहा पाउन लाग्यो। त्यसपछि अर्को महिना उपचारमा। केही डाक्टरले क्यान्सरको शंका गरेपछि मलाई बाँच्छुजस्तो लागेको थिएन। अहो! कति छोटो जीवन।
विचरा ऊ कति प्रेमपूर्वक मेरो स्याहार सुसारमा खटेका थिए। दिनभरि अफिसको काम, रातभरि हस्पिटलको बसाइ। मेरै कारणले उनले पाएको सास्ती देख्दा मेरो मुटु भक्कानिएर आउँथ्यो। आफ्नो रोगभन्दा उनको घट्दै गएको शरीरले दुख्थ्यो।
मतिर फर्किदा ठिक हुन्छको ढाडस त दिन्थे तर उनी कति विचलित थिए म बुझ्दथेँ। सन्चो भएपछि मेरो सारा जीवन उनको ख्याल र रेखदेखमा बिताउँछु भन्ने लागेको थियो। अहो! प्रेममा कति ठूलो शक्ति हुने रैछ। जीवनभरिको सपना क्षणभरमै तोडिदिएकी थिएँ। हुन त जीवन नै नरहेसी सपनाको के अर्थ?
म भन्थेँ ‘आमाबाबालाई बोलाऊ न, केही सजिलो हुन्छ नि।’ तर उनी यही भन्थे, ‘बुढाबुढी मान्छेलाई के दुख दिनू। भाइबैनी भन्न नपाउँदै उनीहरूको पढाइ किन बिगार्नु, म छँदै छु त।’
यति सुनेसी म मौन हुन्थेँ। यतै भएका साथीको आश त लागेको थियो तर मैले कोही असल मित्र पनि कमाएको रहेनछु। कसैलाई एक रात हस्पिटलमा कुर्न आऊ भन्न सकिनँ। अलि आफ्ना लागेकाले फोनबाटै हालखबर सोधे, भेट्न आएनन्। आखिर सम्बन्ध त चाहिँदा बन्ने, नचाहिँदा भत्कने रैछ।
सायदै पनि उनले यत्ति धेरै ख्याल गरेकै कारण मैले फेरी जीवन पाएँ। अस्पतालबाट घरसम्म पुगेपछि म यिनै कुरा मनन गर्दै दिन काटिरहेछु। सायदै अबको धेरै समय आराममै बिताउनुछ। जीवनको यो दौडबाट यसरी विश्राम लिनुपर्ला भन्ने लागेको थिएन। विश्रामले मेरा धेरै विचार फेरिएका छन्।
सबैभन्दा धेरै भने विवाहप्रतिको। विवाह त एउटा बन्धनभन्दा पनि जिम्मेवारीसहितको सुन्दर प्रेम रैछ। बाबाले कति असल केटा खोज्नदिनु भएको रैछ। मैले प्रेम गरेर विवाह गरेको भएपनि यो केटीले दुख दिई सोच्थ्यो होला, आजकालको प्रेम यस्तै त देखिरहेकी छु। कस्तो कपटी र स्वार्थले ओत-प्रोत।
अस्तिभर्खर त हो रंजितालाई दुई-दुई चोटि फेल भयौ, मलाई अलि मेहनती र ट्यालेन्ट केटी मन पर्छ’ भनेर आशिरले ब्रेकअप दिएको।
सायदै कसैसँग प्रेममा हुँदा मलाई यस्तै भएको भए सम्बन्ध बच्दैनथ्यो होला। सोच्छु, मेरै जीवन पनि कसरी रहन्थ्यो होला! न परिवारसँग उपचारको लागि यतिका पैसा थियो न कसो गरेर हुन्छ, कसलाई देखाएर र कहाँ लगेर हुन्छ भनेर दोडधुप गर्ने मान्छे।
उनको मायाले मन भरिएर आयो। पटक पटक उनीप्रतिको प्रेम फराकिलो बनेको छ, सिँगारिएको छ, फिँजारिएको छ।