आमा!
हजुर भन्नुहुन्थ्यो नि
भाग्य बलियो छ भने
फुटेका यी पैतालाले कतै
हिरा कुल्चने मौका पाउँछ भनेर
बा! हजुर भन्नु हुन्थ्यो नि
छोरा तँ नै होस् हाम्रो मायाको चिनो
बुढेसकालको सहारा।
म हजुरसँगै नभए के भो
हजुरहरूको हर सासमा छु
हर रगतको कण-कणमा छु
भौतिक शरीर मात्रै हो टाढा
मेरो याद माया साथमा छ
आमा! गर्व गर्नुहोस्
जो,
म जस्तो छोरा पाउनु भएको छ
बा! खुसीको उत्सव मनाउनुहोस्
जसलाई जन्म दिएर
यो देशको रक्षार्थ
पुत्रलाई राष्ट्रका निम्ती
खुसीका साथ सुम्पिनु भयो
एक सहयोद्धालाइ हुर्काउनु भयो
पवित्र देशको माटोलाई रक्षा गर्न
बलियो खम्बा स्वरुप
एक छोरा उपहार दिनु भयो
म गर्व गर्छु
कारण धेरै छन्
जसमा एक हो
म सिपाही बन्नु।
होला सिपाहीको
तलब कम
काम बढी
सुख कम
दुःख बढी
एकै पोजिसनमा
अठार घण्टा ड्युटी
तैपनि मैले सिंगो माटोलाई
सुरक्षाको आभाष दिलाएको छु।
म सन्तुष्ट छु
मेरो कर्मप्रति
म ढुक्क छु मेरो लगावप्रति
कसैप्रति कुनै गुनासो छैन
बरु, अरुलाई सहयोग गर्दा
स्वर्गीय आनन्द प्राप्त हुन्छ
अनि,
बुढेसकालका आमा-बाको
प्रतिबिम्बित मुहार
नाच्न थाल्छन् यी नयनमा
लाग्छ मैले मेरै आमाबालाई
स्याहारी रहेको छु
सुम्सुम्याइरहेको छु।
विवादित आफ्नै माटोको
सिमानामा खट्न पाउँदा
कोरोनाको कहरका बीचमै
दीनदुःखीलाई सहयोग गर्न पाउँदा
लाग्छ धेरै ठूलो पुण्य कमाएँ
भोक,रोग,तिर्खा र थकाइ त
सिपाहीका सहयात्री बनिसके
बालापनका प्यारा साथी झैं
राइफल आमा-बा
बुलेट र गोलीगठ्ठा खेलौना
झोला नै आफन्त
क्याम्प नै आफ्नो घर।
आमा! हजुरले भने जस्तै
हजुरका ती फुटेका पैतलाले
वास्तविक हिरा कुल्चिसकेको छ
बा! हजुरको बुढेुकालको सहाराले
हजारौंका तमाम खुसी फर्काएको छ
पुण्य त कति कमायो कमायो
पिर नगर्नु है छोरो घर छैन भनेर।
हजुरको आर्शीवाद शिरमा रहुन्जेल
केही हुने छैन यो सिपाहीलाई
कोरोना जताततै
मार्चपास ठोक्दै छ
जोगिएर बस्नू
आफ्नो सुरक्षा गर्नू
मास्कको सही प्रयोग गर्नू
बेलाबेला साबुन-पानीले हात धुनू
तातोपानी सेवन गर्नू
जडिबुटी त हजुरको साथी नै।