मलाई फूल टिपिदिँदा तिम्ले काँडा बिझाएको
मेरै पेट भर्न तिम्ले आफ्नो ख्वामित रिझाएको
अटल राख्यौ स्वाभिमानलाई झुकाइनौ कहिल्यै शिर
चुलो चिसै भएपनि देखाइनौ मलाई पिर।
बुझेर नि मनका व्यथा सकिनँ म बन्न मलम
तिम्रो पाउमा खिल देख्दा हुन्छ मेरो मनमा जलन
मेरै खुसी बचाउन आफ्नो इच्छा मारिदियौ
मैलाई शितल देओस् भनी अटल वृक्ष सारिदियौ।
आफू बस्यौ अँध्यारोमा जलाइदियौ मलाई दीप
संसारसँग लड्न पर्दा सिकाइदियौ बच्ने सीप
घाउ पनि हुन्छ निको तिम्लाई सम्झे चोट पर्दा
कति रमाउथ्यौ तिमी मैले आफ्नो पोल्टो भर्दा।
असंख्य ती गुनका भारा कसोगरी तिरुँला खै
श्रम र पसिनाको मूल्य के गरी पो भरुँला खै
कहिल्यै पनि नहराओस् तिम्रो मुहारको कान्ति
जीवनभरि वात्सल्यको पाइरहुँ अपार शान्ति।