शब्दकोशमा भएको लाखौँ शब्दहरू मध्ये मलाई सबैभन्दा भारी र प्रिय लाग्ने शब्द हो, 'आमा'। मलाई लाग्छ यो शब्द हैन, संसार हो।
शब्दकोशहरूमा यसको परिभाषा एउटै छ। एउटै परिभाषा भएको आमाका खै किन हो हजारौँ प्रकार रहेछन्! आउनुस् आज यिनै थरीथरी आमाहरुको कुरा गरौँ।
म हजुरहरूलाई मेरो पोहोर सालको काल्पनिक तर यथार्थ यात्राको अनुभव सुनाउँछु, जहाँ मैले नेपालका हरेक ठाउँमा भएका आमाहरूलाई एउटै जिल्लामा एकै दिन भेटेको थिएँ अनि भेटिएका आमाहरूको कथा आफ्नो नोट बुकमा समेटेको थिएँ।
विदेशबाट आएर म पोहोर साल ठ्याक्कै आमा खुवाउने औँसीको दिन दोलखाबाट आमालाई भेट्न गाउँ गएँ। सदरमुकाम चरिकोटबाट म तल तामाकोशी तिर झरेँ।
आँखा नजिकै देखिने गौरीशंकर हिमालबाट चिसो हावा चलिरहेको थियो। म वर्षौंपछि फर्केको भएर चारै तिर हेर्दै बाइक कुदाइरहेको थिएँ। केही वर्षमा नै कति धेरै परिवर्तन भैसकेका थिए, ती ठाउँहरू।
मलाई हुर्काएको चरिकोट त झन् मभन्दा चाँडै हुर्किएछ। म स्कुल जाँदा हिँड्ने बाटोमा अचेल स्कुल बस गुड्न थालेछन्। म त्यही स्कुल बस पछ्याउँदै चरिकोटबाट तल झरेँ।
सानो छँदा देखिने त्यो घुम्तीको पुरानो घरमा घाँस पलाएछ। सायद त्यो घरका मान्छेहरू सहर तिर सरे होला। त्यो घरबाट अलि तल चिसो हावामा पनि खलखल पसिना बगाउँदै एउटा आमा मरी मरी बाँझो बारी खन्दै थिइन्।
खनिरहेको बारी नजिकै एउटा कोक्रोमा सानो बच्चा रोइरहेको थियो। रोएको सुनेर उनले पसिना पुछिन् र खुइय्या गरेर थाकेको सास फेर्दै बच्चालाई गएर दूध खुवाइन्।
टाउकोमा रुमाल र कम्मरमा कसेर बाँधिएको पटुकी देखेँ अनि त्यो सानो बच्चालाई हेरेँ। मलाई लाग्छ उनी हालसालै आमा बनेकी थिइन्। उनलाई हेरेर मलाई यस्तो लाग्यो, उनी त्यो बारीमा त्यो रोइरहेको आफ्नो बच्चाको भविष्य खोजिरहेकी थिइन्।
उनको पसिनाको हरेक थोपोले त्यो कोक्रोमा रोइरहेको बच्चालाई छिट्टै ठूलो बनाओस् अनि खनिरहेको बारीमा खुसीहरू उम्रिउन्। मैले मेरो झोलाबाट नोट बुक निकालेँ र लेखेँ- 'बारी खन्दा थाकेकी आमा।'
म पिपल बोट भन्ने ठाउँबाट अझ तल झरेँ। बाटोमा केटाकेटीहरू पाइपको पाङ्ग्रा बनाएर गुडाइरहेका थिए। त्यो गुडिरहेको पाङ्ग्राले मलाई मेरो सानो बेलाको याद दिलाइदियो। मेरो गुडिरहेको बाइक र उनीहरूको गुडिरहेको पाङ्ग्राले दिने खुसीमा आकाश पातालको फरक थियो।
बाइक रोकेँ अनि उनीहरूलाई सोधेँ 'यसरी गाडी गुड्ने रोडमा खेल्दा आमाले कराउँदैनन्, तिमरुलाई?'
एउटा सानो फुच्चेले भन्यो 'हाम्रो ममी त विदेशमा छन्।'
मैले फेरि सोधेँ 'बुबाले नि?'
त्यो सानो फुच्चेले फेरि त्यसरी नै जवाफ दियो 'हाम्रो बाउ त विदेश गएका थिए रे अनि म सानै छँदा मरिसके अरे।'
ऊ सानै थियो, साथीसँग खेल्दा आमालाई एकछिनलाई भुल्दो हो। भरे फेरि साँझ परेपछि ऊ आमालाई सम्झेर धेरै रुन्थ्यो होला। उता मरी मरी काम गरेकी आमा यता आफ्नो सन्तानलाई सम्झेर हरेक रात सिरानी भिजाउँछिन् होली।
उसलाई सुखसँग राख्न विदेश गएकी आमालाई उसले बुबालाई जस्तै रुँदै रुँदै कहिल्यै पनि एयरपोर्टमा लिन जान नपरोस्। मलाई मेरै प्रश्नले थकथक बनायो। म केही पनि बोल्न सकिनँ अनि आफ्नै प्रश्नबाट भागेर म अलि तल गएँ। र नोट बुक निकालेर लेखेँ- 'विदेशमा दुख गरिरहेकी आमा।'
नागबेली जस्तै घुमाउरो बाटोलाई पछ्याउँदै अन्ततः म तामाकोशीको काखमा पुगेँ। सानोमा मलाई बस लाग्थ्यो, अनि ठ्याक्कै यहीँ आइपुगेपछि नाकले अम्बा, सुन्तला, आपँको बास्ना थाहा पाउँथ्यो। मुख रसाउँथ्यो तर खान सक्दैनथिएँ।
म मेरो सानोको यादहरु सम्झदै टाउकोमा नाङ्लो बोकेर दौडिरहेका मान्छेहरूलाई हेर्दै थिएँ। म नजिकै एउटा बुढी आमा आइन् र मलाई काँक्रो लिन आग्रह गरिन्। उनलाई मैले तलदेखि माथिसम्म हेरेँ। कुप्रो परिसकेको ढाड, दाँत नभएर निस्किएको अलि तोते बोली, चाउरिएको अनुहार।
मलाई त्यति बुढो भएर पनि काम गरेको देखेर अचम्म लाग्यो। मैले ती बुढी आमालाई सोधेँ 'यति बुढो उमेरमा पनि यसरी काम गर्दा गाह्रो हुन्न आमा तपाईलाई?'
उनले भनिन्- 'काम नगरी के खानु त बाबु, छोराहरू सहरमा छन्। यही नाङ्लो टाउकोमा राखेर जसो तसो हुर्काए। हुर्किसकेपछि नहेर्दा रहेछन्। अनि आफैले गर्नु परिगो नि बाबु।'
सानो हुँदा पढेको डोको र हजुरबाको कथा कति चाडै भुल्छन् है सन्तानले। हरेक सन्तानले आफू पनि बुढो हुन्छु सोचून्। मैले केवल टाउको हल्लाउन सकेँ र कुरा छल्न भए पनि काँक्रो किनेँ।
काँक्रो मुखमा हाल्नै आँट्दा नजिकैको पसलमा ठूलो भिड जम्मा भयो। केही पुलिसहरू आए। म त्यही भिडको नजिकै गएँ। पुलिसले एउटा केटालाई समातिरहेका थिए। छेउमै एउटी केटी रोइरहेकी थिई। उसको शरीरमा निलडाम थिए।
मैले त्यही अघि काँक्रो बेच्ने आमालाई सोधेर थाहा पाएँ, स्कुल पढ्दा पढ्दै भागेर बिहे गरेका रहेछन्। जति कोसिस गरे नि सन्तान नभएको ३ वर्ष भएछ। माइती उहिल्यै पराई भएकाले घर न घाटमा पुर्याएछन्।
मायाको लागि माया गर्नेहरूलाई छोडेर आएकी उनलाई मायाले नै धोका दिएछ। मैले फेरि नोट बुक निकालेँ र लेखेँ- 'सन्तानको आशमा रहेकी आमा, आफ्नै लोग्नेबाट कुटिएकी आमा, आफ्नै सन्तानबाट छुटिएकी आमा।'
मलाई फेरि कोशी छोडेर उकालो लाग्नु थियो। घामले तातेर उडेको यही कोशीको बाफसँगै। म तामाकोशी पुल नतरी वारिपट्टिकै बाटोबाट उकालो लागेँ।
उकालो लाग्नु अघि चरंगे खोलामा नयाँ पुल बनिरहेको रहेछ। त्यसैले गाडीहरू हल्का जाम भयो। जाममा बसिरहेको मलाई कसैले पछाडिबाट कोट्याउँदै बोलायो। फर्केर हेर्दा हातमा बच्चा झुन्ड्याएर एउटा केटी मान्छेले एउटा कागज पढ्न लगाई।
कागजमा बाढी पीडित भएर खान लाउन केही पनि नभएको भनेर लेखिएको थियो। म यस्ता मान्छे आउँदा खासै वास्ता गर्दैनथेँ तर त्यो दिन मैले गोजीबाट ५० रुपैयाँ निकालेर दिएँ। ढाडको बच्चा म तिर हेरेर मुसुक्क हाँस्यो।
पुलको बाटो बन्नलाई अलि टाइम लाग्ने भएर खोलैबाट बाइक लानु पर्ने भयो। बगिरहेको खोला तर्दा म लुथ्रुक्कै भएँ। करिब १ घण्टा उकालो लागेपछि पवोटी भन्ने ठाउँमा पुगेँ। म धुलै धुलोले भरिएको बाटो हुँदै उकालो लागिरहेको थिएँ।
अलि माथि पुगेपछि बाटोमा एउटा बच्चा मरी मरी रोइरहेको देखेँ। आमाले बाटोमा नै लुगा लगाइदिँदै जबर्जस्ती स्कुल लान आटेको हुनुपर्छ। मेरो बाइकले उडाएको धुलोबाट जोगाउन आमाले त्यो बच्चालाई आफ्नो पछ्यौरीले छोपिन्। मैले बाइक रोकेँ।
मेरो बाइक रोकिन साथ उनले बच्चालाई भनिन्- 'ज्ञानी भएर लुगा लगाऊ, फेरि म त यो अंकललाई तिमीलाई लग्नु भन्दिन्छु नि।'
त्यति भनेसी रुँदै भए नि त्यो सानो बाबुले लुगा लगायो। म आफूलाई अंकल भनेको सुनेर मनमनै हाँस्दै त्यहाँबाट हिँडे अनि माथि एउटा बरको रुख मुनि गएर बसेँ।
ठूलो भएपछि त्यो मागेर पाल्ने आमालाई केही नमागी पनि छोरोले आफै बुझेर सबै इच्छा पूरा गरिदियोस्। धुलोबाट हरेक दिन जोगाउँदै स्कुल लाने आमालाई त्यो छोराले बुढी हुँदा आफूसँगै खुसीसँग राखोस्, जोगाएर।
म कोशी छोडेर निकै माथि पुगिसकेको थिएँ। तल हेर्दा लाग्थ्यो तामाकोशी बगेको छैन, एकनास बसिरहेको छ। म जस्तै ऊ पनि थकाई मार्दै छ। मेरो त एक दिनको केही घण्टाको यात्रा मात्र थियो। उसको त अविरल यात्रा हुन्छ।
बगिरहँदा कति धेरै कथा भेट्छ होला अनि नदीमा गएर मिसिएपछि त्यही कथाहरू कल्पिँदै बस्छ होला। म एकछिन त्यही रुखमुनि बसेँ र फेरि नोट बुकमा अर्को लाइन थपेँ- 'छोरोलाई पढाउन दौडी रहेकी आमा, एक छाक खुवाउन भौँतारी रहेकी आमा।'
२-३ घण्टाको मेरो त्यो आमा खुवाउने औँसीको दिनको यात्रामा मैले ४-५ थरिका आमाहरूलाई भेटिसकेको थिएँ बेग्लाबेग्लै कथाहरू बोकेका। अब लगभग १ घण्टाको यात्रापछि मैले मेरो आमालाई भेट्न पाउने भएर म सकेसम्म बाइकलाई बटार्दै अघि बढाइरहेको थिएँ।
अलि पर पुगेपछि उताबाट बिहेको गाडी आयो। साँघुरो बाटो भएर म अलि ओरै त्यो गाडीलाई बाटो छोड्न कुरेर बसेँ। ठूलो गाडी पछि पछि थियो, सायद जन्तीको होला। सानो गाडी अघि अघि जहाँ बेहुला र बेहुली बसिरहेका थिए।
त्यो दिन एउटा घरको आमाले आफ्नो छोरी टाढा बनाएकी थिइन्। अनि मैले फेरि अघि तल कोशीमा कुटिएको त्यो केटीलाई सम्झिएँ। मनमनै कामना गरेँ। एउटा घरको आमाबाट छुटाएर ल्याएकी छोरीलाई अर्को घरमा आफ्नै छोरी जस्तै गरेर राखून्, सासूले आफू पनि बुहारी भएर आएको नबिर्सून्।
यति सोचेर म फेरि अघि बढेँ। म भैसेडाँडा भन्ने ठाउँमा पुगेँ। त्यहाँबाट मेरो पारि रहेको गाउँ देखिन्थ्यो जहाँ मेरी आमा कुरिरहेकी थिइन्। मैले पारि मेरै गाउँबाट बग्दै आएको हावामा लामो सास फेरेँ। मैले त्यो हावामा धेरै वर्षपछि सास फेरेको थिएँ।
यता मैले लामो सास फेरि रहँदा सायद कतै कसैको सास गएछ, क्यारे। भैँसे बजारमा एउटा लासको बाकस बोकेर गाडी आइपुग्यो। म गाडीको नजिकै गएँ। लास बुझ्नलाई उसको श्रीमती आएकी रहिछ। ऊ भुइँमा पछारिँदै रोइरहेकी थिई, चिच्याइरहेकी थिई।
एउटा हातले लासको बाकस, अर्को हातले पेट भित्रको बच्चा छामिरहेकी उसलाई देखेर छेउमा भएका हामीले आँसु थाम्न सकेनौँ। उनको सिउँदो सायद अब नारंगिएला तर त्यो पेट भित्रको बच्चाले उनको जीवन रंगिन बनाइदियोस्।
म टिलपिल भरिएको आँखा पुछ्दै त्यहाँबाट गएँ। मेरो नोट बुकमा अर्को आमाको कथा थपियो, अर्को हरफ थपियो,- 'बच्चा पेटमा पालिरहेकी आमा।'
यति धेरै आमाहरूको कथा हेर्दै, सुन्दै अखिरमा म मेरी आफ्नै आमासँग पुगेँ। औँसीको रात बाहिर धेरै अँध्यारो थियो। तर मेरो घरमा मेरी आमा मलाई देखेर पूर्णिमाको जुनभन्दा उज्याली भएकी थिइन्।
उनको अनुहार एक छिन नियालेर हेरेँ। मलाई कुर्दा कुर्दा उनको निधारको छाला गलेर चाउरिन थालिसकेछन्। जिन्दगीको त्यो घडीमा आइपुग्दासम्म उनले धेरै कुरेकी थिइन्। सानोमा पढ्नलाई गाउँबाट सदरमुकाम जानु पर्यो। उनले कुरिन्। पछि सदरमुकाम छोडेर काठमाडौँ जानु पर्यो।
उनले कुरेरै बासिन। हुँदा हुँदा पछि त देश नै छोडेर परदेश जानु पर्यो। अझै उनी कुरेरै बसेकी थिइन्। त्यो दिन मेरी आमा खुसी थिइन्। तर मलाई फेरि फर्किनु पर्थ्यो। म फर्केपछि फेरि आमाले कुर्नु पर्थ्यो।
बाध्यता भन्ने चिज नै सबैभन्दा ठूलो बैरी भएको छ। जसले मलाई र मेरी आमालाई टाढा बनाएको छ।
हामी सबै जान त्यो दिन निकै अबेरसम्म कुरा गरेर बस्यौँ। आमालाई खुवाउने दिन मेरी आमाले मलाई नै मिठो खान खुवाइन्। आमा खुवाउने औँसी सकियो। बेडमा पल्टिनु अघि नोट बुक निकालेर हेरेँ।
नोट बुकमा ती आमाहरूको कथा जोड्दा लेखिएछ -
बारी खन्दा थाकेकी आमा
विदेशको दुख सहेकी आमा
सन्तानको आसमा रहेकी आमा
आफ्नै लोग्नेबाट कुटिएकी आमा
आफ्नै सन्तानबाट छुटिएकी आमा
छोरोलाई पढाउन दौडी रहेकी आमा
एक छाक खुवाउन भौँतारी रहेकी आमा
बच्चा पेटमा पालिरहेकी आमा
सन्तान विदेश पठाएर एक्लै दाउरा बालिरहेकी आमा...
नभेटिएका त्यस्तै अझै कति आमा थिए होला। जो कतै कुनामा यस्तै केही भोगिरहेका हुँदा हुन्, आफ्नै कथाहरू बोकेर। मैले आमा हुनलाई यस्तै भोग्नु पर्छ भनेको हैन।
आमाको ममता त एउटै हुन्छ चाहे ठूलो महलमा बसेकी आमा हुन् या सडकमै दिन रात बिताउने। एउटी आमा सन्तानको लागि ठेलामा म:म बेचिरहेकी हुन्छिन् त अर्की आमा आफ्नो सन्तानको लागि त्यही ठेलाबाट किनिरहेकी। त्यसैले आमाको ममताको मापन नै गर्न मिल्दैन।
तर पनि जानी नजानी हामी सबैले आमालाई कति चित्त दुखाएको होला! औंसीमा आमालाई पुज्नभन्दा पनि बुझ्न सक्यौँ भने आमा धेरै खुसी हुनुहुन्छ होला। औँसी पोहोर पनि आएको थियो, यसपालि नि आएको छ,आगौँ पनि आउँछ, समयलाई डोर्याएर।
हामी त समय सँगसँगै जान नसकौंला वा नरहौंला, तर आज त छौँ नि। त्यसैले सकेसम्म आमाको चित्त नदुखाऊ।
यो मेरो सानो लेखमा समेटिएका, नसमेटिएका, बुवा नै आमा बनेर सन्तान हुर्काइरहेका सबै आमाहरूलाई ‘ह्याप्पी मदर्स डे!’