ए आमा,
तिमी महान छौ
मलाई आशङ्का छैन तिम्रो महानतामा
तर, अफसोच
आज म तिम्रो महिमाको
बखान गाउने पक्षमा छैन
हेर न!
सदियौंदेखि यो धूर्त समाज
तिमी कमजोर हुनुलाई
तिम्रो महिमा भनी जयजयकार गरिरहेछ
र तिमीलाई अझै कमजोर हुन थप प्रेरित गरिरहेछ।
तिमीले किन बुझिनौं
यो समाजको कूटनीतिक मनोविज्ञान?
तिमीले किन बुझिनौ यो सत्ताको रणनीति ?
कसरी सदियौंदेखि कमजोरीलाई प्रशंसा गरी
तिम्रो चेतनासँग खेलिरहेछ यो पितृसत्तात्मक समाज
बडो होसियारपूर्वक कूटनीतिक खेल।
ऊ जसो-जसो भन्दै गर्छ
तिमी त्यसै-त्यसै गर्दै गर्यौ
तिमी त यो पितृसत्तात्मक समाजकी
फगत मोहरा बन्यौ आमा।
ऊ चाल चलिरह्यो तिमी फस्दै गयौ।
ऊ तिमीलाई धर्तीको उपमा दियो
तिमी धर्ती बनेर उसलाई
आफ्नो छातीमा जथाभावी कुल्चेर उफ्रने अनुमति दियौ।
ऊ आँखा देखाइह्यो तिमी आँखा झुकाइरह्यौ।
उसले तिमीलाई सहनशील भन्यो
तिमी फुरुङ्ग बन्यौ र सहनुको हद कुल्चेर सह्यौ
असह्य पीडामा पनि उफ्फसम्म नगरी
चुकाउनु पर्ने थियो के तिमीले आमा हुनुको मूल्य?।
जसरी सदियौं पहिले चुकाएकी थिइन् सीताले
कठोर बनावास सहेर एक नारी हुनुको मूल्य।
ए आमा !
तिमी पनि त मान्छे थियौ
तिम्रो पनि त मस्तिष्क थियो, हृदय थियो
भावुकता थियो, संवेदना थियो
दुखाइमा दुख्यो भनी
पीडामा आँशु बगाउने तिम्रो पनि त अधिकार थियो
ज्यादतीमा प्रतिकार गर्ने तिम्रो पनि त अधिकार थियो
क्रोधित हुने अधिकार थियो।
तर,
तिमी किन लडिनौ आफ्नो अधिकारको निम्ति?।
आमा !
तिम्रा सपनाहरू कत्लेआम गर्दै
आज म तिम्रो संस्कारको विरुद्ध जाँदैछु।
औंला उठाउँदैछु तिम्रो परवरिस माथि
सधै भृकुटी सीता बन्नु भन्ने तिम्रो उपदेश ललकार्दैछु।
रामायण पढ्दा पढ्दै
म अघाइसके सीताको विवशता देखेर
म विचलित छु द्रौपदीको चित्कार सुनेर
म अवाक छु सतिको पति प्रेमको दासत्व सम्झेर
मलाई विवश नारी बन्नु छैन आमा।
मैले पढेकी छु
पारिजात, योगमाया, र सावित्रीबाइको इतिहास
क्लारा जेटकिन, रोजा लक्जेम्बर्ग हुन् मेरा सहयात्री
मैले देखेकी छु
मनिकर्निकाको अवतरित शक्ति
मलाई माफ गर यदि म यस्तो गरिन भने
पुन: चल्नेछ यही सिलसिला।
आशक्त जीवन बाँच्नु पर्नेछ नारीहरू
दासता अंगालेर।
कतै पत्नीको नाममा, कतै छोरीको त
कतै आमाको नाममा चलिरहनेछ ज्यादती।
निरन्तर प्रतिकारविहीन बलात्कार स्वीकार्नु पर्नेछ
आफ्नो अस्मिताको रक्षा गर्न असमर्थ भएर।
पुन: धिक्कार्नेछ मलाई नयाँ पुस्ताले
माफ गर आमा!
आज म तिम्री छोरी हुनुको उत्तरदायित्वबाट विमुख छु
किनकि
म माथि भावी पुस्ताको ठूलो अभिभारा छ आमा
म माथि भावी पुस्ताको ठूलो अभिभारा छ ...।