आमा, आज तिम्रो गीत गाउन मन लाग्यो,
तिम्रो अघिपछि गर्दै फेरि तिम्रो पछ्यौरी
समाउन मनलाग्यो
मायारुपी तिमी, ममताकी खानी आमा
आमा, तिम्रै न्यानो छहारीमा
मलाई स्वप्न लिन मनलाग्यो।
आफ्नो दुख बिर्सी तिमी मेरै लागि हाँसिदिने
दुःखपीडा मनमा लुकाई मेरै लागि बाँचिदिने,
ओहो! कति कठोर मुटु बनाएर हिँड्यौ नि तिमी,
मेरै लागि नै दिनरात नभनी भिड्यौ नि तिमी
त्यसैले त आमा आज तिम्रो गीत गाउन मन लाग्यो,
लुटुपुटु गर्दै त्यही न्यानो काखमा
रमाउन मन लाग्यो।
आमा तिम्रो सुन्दर प्यारो मुहार
संसारकै राम्रो लाग्छ,
नरिसाई सम्झाई बुझाउँछौ बोझ मनको सबै भाग्छ
सबै कुराकी धनी तिमी सबै थोक दिने,
आँच आउन कहिल्यै नदिई आँसुमै नाचिदिने
फेरि त्यसैले त आमा,
आज तिम्रो गीत गाउन मन लाग्यो
फुर्फुराई उफ्री मिठो धुनमा
तिम्रै आँगनीमा नाच्न गाउन मन लाग्यो ।
मन डढेर जलेपनि, सपना खरानी भै बलेपनि,
दुःखमा तिम्रो संसारै हाँसिदिए पनि,
वेदनारुपि गीत गाइ टेको मुटुको भाँचिदिए पनि
मलाई थाहा छ आमा,
तिमी फेरि पनि मेरै लागि उठ्नेछौ
मेरो मुहारमा तिमीलाई हाँसो जो देख्नुछ,
सिङ्गो पृथ्वी भई सारा विश्व खेप्नुछ
त्यसैले त आमा आज तिम्रो गीत गाउन मन लाग्यो,
त्यो निलो गगनमा चरी झैँ पङ्ख फिज्याई उड्न मनलाग्यो।
ए आमा! सारा संसारले
यसै नै कहाँ हो र तिम्रो महिमा गाउने,
तिमीमै रहेछ शक्ति, आफू हराई सन्तानलाई सजाउने
आशा दिन्छ मलाई तिम्रो मुहारको त्यो उज्यालो,
आत्माको मेल हाम्रो छ संसारकै कसिलो
म कहाँ लायक छु र आमा तिम्रो गीत गाउने,
त्यही नि आमा आज तिम्रो गीत गाउन मन लाग्यो,
तिम्रो तपष्यामा सँगै मिली लय छाउन मन लाग्यो।
आमा, कति चोखो अनि कति निश्चल तिम्रो माया
वर्णन गर्न नसकिने कति शितल तिम्रो छाया
व्यथा आफ्नो मनमै राखी,बनाई सन्तान राजारानी
तिम्रो नयनमा राखे नि नबिझाउने,
तिमी हौ मायाकी खानी।
त्यसैले त आमा आज तिम्रो गीत गाउन मन लाग्यो,
छुनुमुनु गर्दै नाच्दै गाउँदै तिम्रै पछि-पछि आउन मन लाग्यो,
छुनुमुनु गर्दै नाच्दै गाउँदै तिम्रै पछि-पछि आउन मन लाग्यो।