खुला आकाश मुनी यही धर्तीको कुनामा कयौं दुःख कष्ट र पीडा झेल्दै जन्म दियौं होला है आमा मलाई ?
भलै तिम्रो लागि अस्पताल थिएन औषधि थिएन र नर्स पनि
तर आमा यी सबै अभावको बाबजुद तिमी स्वयम् थियौं, भलै म जन्मँदा एक टुक्रा नयाँ कपडा थिएन होला तिमीसँग
तर आफैंले लगाएको फरियाको छेउ च्याती मलाई पुग्ने टोपी र घाँघर सिलाएर लगाईदिने तिमी नै त थियौं, मेरी आमा ।
म कहाँ, मलाई सन्चो नहुँदा म दुःखी हुँदा सहन नसकेर
कती रूदै लुकेर रोयौ होला है आमा तिमी ?
भलै तिमीसँग ठूलो महल थिएन तर तिम्रै न्यानो काखको गगनचुम्बीमा थमथमाउँदै कतिबेर निदाए होला ?
तिम्रै काखमा मैले जानी जानी कति आचि अनी सु-सु गरेँ होला?
कति फोहोर पारिदिएँ होला तर पनि तिमीले कहिल्यै गाह्रो मानिनौं, कहिल्यै झिझो मानिनौं त्यसैले त आमा तिमी जस्तै एउटा आमा बन्ने सौभाग्य पाएको छु।
मलाई याद छ, बाबा परदेश हुँदा घरमा धेरै अभाव खड्केको थियो, दिनभर मेलापात गरेर बेलुका तिम्रो पोल्टाको खाजामा झगडा गर्न तिम्रो सन्तान मध्येको म पनि थिएँ।
भलै धनीको जस्तो मिठो खुवाउन सकिनौं होला
तर आमा भोकै बस्नै कहिल्यै दिएको थिएनौं तिमीले ।
लाखौं पीडाहरू झेलेर पनि सुखको महसुश दिलाउँथ्यौं तिमी ।
आफू भोको हुँदा टन्न अघाएको अभाष गराउथ्यौं, तिमी मेरी आमा ।
भलै हात समाएर क खरा लेख्न पढ्न सिकाइनौं तिमीले
तर असल संस्कार सिकाउनबाट तिमी कहिल्यै पछि परिनौं ,मेरी आमा ।
थाहा छ तिमीलाई पटक्कै म रोएको, दुःखी भएको मन नपर्ने
तर मेरै जीवनको अथाह पीडामा विच्छट्ट हुँदै रुने तिमी नै हौं मेरी आमा ।
उमेर बढ्दै गयो दुःख कष्ट र विगतका अभावहरूले तिमी चाहुरिँदै गयौ होला
रोगले च्याप्दै गयो होला तर पनि सन्तानको चिन्ता गर्न नछोड्ने तिमी नै त हो नी मेरी आमा ।
कति प्यारो छ यो आमा भन्ने शब्द पनी शरीरमा चोट लाग्दा, बिरामी पर्दा ठेस लाग्दा होस् या नराम्रो सपनाबाट बिउँझिदा घरी घरी तिमीलाई नै पहिला सम्झिन्छु आमा ।
भौतिक शरीर तिमीबाट धेरै टाढा छ तर पनि यो मन खै किन तिमै्र काखमा पोल्टोमा लुटुपुटीन खोजिरहन्छ । तिमीसँगै भएर बात गरिरहन खोज्छ। अथाह प्रेमकी धनी मेरी आमा सधै तिम्रो माया र आशिर्वादको वर्षादमा भिज्न पाइरहुँ।