आदरणीय आमा, हजुरको जेठो छोराको सेवाढोग।
म यहाँ आराम छु र सोही कामना गर्दछु।
विशेष लेखनीय खबर त केही छैन, तर यादले अन्य दिनहरुभन्दा आज अलि बढी नै पछ्यारहेकोले हजुरलाई समर्पण गर्दै केही शब्दहरु ओकल्न लागिरहेको छु।
आमा हजुरको आशीर्वाद र आफ्नो सपनालाई शिरोपर गर्दै धेरै मानवहरु भएको तर मानवता बिल्कुलै नभएको यो सहरमा त्यस्तै आरोपबाट मुछिनका लागि आएको पनि लगभग ७ वर्ष हुन लागेछ।
आमा! समय, परिवेश, परिस्थिति, कर्म र संघर्षले सँगैका सहयात्रीहरु कोही जागिरे छन्, कोही विदेशिएका छन्, कोही व्यापार व्यवसाय चलाएर राम्रै व्यवस्था गरेका छन्। यो देख्दादेख्दै आफ्नो छोरो अझैसम्म बेरोजगार भएर बसिरहेको सम्झदा मेरी आमाको मुटु कति अमिलिन्छ होला कठै!
खाँचो त छैन आमालाई तर अरुका छोराहरुले आमालाई भनेर ल्याइदिएको सारी-चोलो, गरगहना, कोसेली अझ भनौँ मेरो छोराको पौरख भनेर कसैले देखाइरहँदा पक्कै हजुरको छोरालाई सम्झनुहुन्छ होला र मनमनै 'हे प्रभु! मेरा छोरालाई पनि केही पौरख गर्ने बनाइदेऊ, मलाई त कोसेली चाहिन्नथ्यो उनीहरुको भविष्य राम्रो भए हुन्थ्यो' भनेर पुकार गर्नुहुन्छ होला।
अब पनि घर आउँदा ‘गर्दैछु आमा, हुन्छ विस्तारै’ भनेको सुनेर चित्त बुझाउन नपरोस् भनेर मनमनै गुनगुनाउँदै हिँड्नु हुन्छ होला।
घाँस काट्दै गर्दा, भकारो सोहोर्दै गर्दा, बस्तु चराउँदै गर्दा र कोदालो चलाउँदै गर्दा थकित भएर पसिना काढ्दै खुइय्य गरेर लामो श्वास फाल्दै गर्दा कल्पना गर्नुहुन्छ होला- अब मेरो छोराले इलम गरेपछि यस्ता दिनहरु भोग्नु पर्दैन। अलि दिनमा त केही गर्छ होला नि भन्दै त्यही आडमा जोस्सीएर आफ्नो मेलो टुङ्ग्याउनु हुन्छ होला र यसरी नै हजुरको दिनचर्या बितिरहेका होलान्।
आमा! हजुरको छोरो पनि हजुरले गरेका जस्तै कल्पनाको सागरमा हरपल पौडिँदै हजुरको कल्पनालाई साकार पार्नका लागि संघर्षरत नै छ। यहाँ थोरै स्वार्थी बनेँ होला तर आमा मैले मेरै उज्ज्वल भविष्यको लागि संघर्ष गर्दै गरेपनि यो हजुरको कल्पनासँग शतप्रतिशत मिल्छ।
आमा! हजुरको छोराले सधैं दिनेजस्तो आश्वासन फेरि पनि दिइरहने छ। आमा, हजुर जसरी आफ्नो मनमा छोराको बारेमा गफ गर्नुहुन्छ एक्लै, त्यसैगरी मैले पनि कयौंपटक संवाद गरिरहेको हुन्छु। आमा ढुक्क हुनुस्, हजुरको छोराले आफ्नो जिम्मेवारी भुलेर मर्यादा बिर्सिएर बाटो बिराएको छैन।
आफ्नो छोराको बारेमा मनोवाद गर्ने आम आमाहरू प्रायःजसो एक्लै हुन्छन् र आफ्नो बह न आफ्नो छोरासँग पोख्छन् न छिमेकी! यो छोराको मन नदुखोस, हरेस नखावस् र अरुको नजरमा कमजोर नहोस् भन्नका खातिर हो आमा मैले बुझेको छु।
म हजुरकै शिक्षा-दीक्षा र हजुरकै निर्मल र निष्कलंक छायामा हुर्केको छोरा हुँ। त्यसैले हजुरको आत्मबललाई सधैं घमण्डका साथ बढाएर राख्नुभए हुन्छ। यसमा आँच आउने किसिमको अनैतिक कार्य मबाट हुनेछैन।
आमा! हजुर भोकै हुनुहुन्छ कि केही खानु भएको छ? हजुरको छोरालाई भनेर जोगाउँदै भोको नबस्नु होला। हजुरको छोरो कहिल्यै भोको छैन, यहाँहरुको आशीर्वाद लागिरहेको छ। त्यसैले आफ्नो स्वास्थ्यको विचार गरेर खाना खानुहोला।
भेडा भेडाकै संगत र बाख्रा बाख्राकै संगत भनेझैं हजुर जस्तै आमाका हजुरको छोरा जस्तै छोराहरुसँग सामिप्यता छ, र ती सबै छोराहरु हजुरजस्तै आमाहरूको कल्पनालाई साकार पार्न संघर्षरत छन्।
छोराले सान्त्वना दिने नयाँ हतियार बनाएछ भनेर नबुझिदिनु होला। मलाई विश्वास छ, त्यसरी बुझ्नुहुने छैन। आमा हजुरले जस्तै कष्ट बेहोर्दै आफ्नो छोरालाई यहाँ पठाउने हरेक आमाले यो धैर्यतालाई सधैं कायम राख्नुपर्छ भन्न चाहान्छु।
संघर्ष गर्दै गर्दा म र मेरा सहयात्री साथीहरू कहिलेकाहीँ छलफल गर्छौं आमाको बारेमा। त्यसैले हामीलाई मन बुझाउन, नयाँ योजना बनाउन र आमालाई आश्वासन दिन अलि सजिलो पनि छ।
यसलाई सकारात्मक आँखाले हेरिदिनु होला र हजुर र हजुरजस्ता आमाले बुझिदिनु होला म जस्ता धेरै आमाहरु र मेरा जस्ता धेरै छोराहरु मेरै जस्तो धैर्य र मेरो छोराको जस्तै संघर्ष गर्न कायम राख्न आवश्यक छ। यदि यो हुन सकेमा कुनै आमाले दुख्नु पर्दैन र कुनै छोराले झुक्नु पर्दैन।
एकदिन हजुरको छोराले हजुरको आँखामा हर्षका आँसु बगाइदिनेछ, र छोरो सम्झेर घमण्ड गर्नसक्ने वातावरण सिर्जना गर्ने छ।
आमा! मेरो कुरालाई यहीँ बिट मार्न चाहान्छु। पुनः सेवाढोग गर्दै बिदा हुन्छु, हवस् त आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।
उही तपाईंको मुटुको धड्कन!
ठूलो भाइ।