कम्तीमा आज त मुख हेर्दिए हुन्थ्यो
कम्तीमा आज त माया गर्दिए हुन्थ्यो
कम्तीमा आज त उपहार दिए हुन्थ्यो
अर्काका छोराछोरीले के-के दिन्छन् तर
आफ्नो भने...
सुन कमरेडहरु, सुन
गहिरिएर सुन ती एक-एक शब्दहरु
त्यहाँ हरेक शब्दमा माया कम अनि मोह ज्यादा छ
त्यहाँ बोध कम अनि अज्ञानता बढी छ ।
मायाको परिभाषा अब त्यो सडे गडेको बस्तुले ओगटिसक्यो
मायाको परिभाषा अब त्यो भस्म खरानी अनुहारले ओगटिसक्यो
माया त फगत् एक दिनको कर्मकान्डी हुन लागिसक्यो
उपहार दिए माया रे
उपहार नदिए घृणा रे
अनुहार हेरे माया रे
अनुहार नहेरे घृणा रे
यो कस्तो माया हो आमा!
यो कस्तो स्नेह हो आमा!
तिमी बेहोस छौ आमा!
तिमी बेहोस छौ
तिमी मोहरुपि सागरमा चुर्लुम्मै डुबेकी छौ
तिम्रो मगजमा यो समाजले नशा दौडाएको छ
तिम्रो मगजमा यो पुँजीवादले जरा गडाएको छ
हो आमा, हो!
तिमीले गलत छोरा जन्मायौ हिजो आफ्नै बेहोसीमा
तिम्रै मोहमै रमाइराख्ने
तिम्रै अहंकारमा भुलिराख्ने
त्यो अर्काको जस्तै छोरा जन्माउन सकिनौ आमा
यो छोरा तिम्रो बेहोसीलाई होस्टेमा हैँसे मिलाउन सक्दैन
यो छोरा त्यो अहंकार माथि अहंकार थप्न कदापि चाहन्न।
हो आमा, हो!
तिमीलाइ नशा मुक्त गराउनुनै यो छोराको उपहार हुनेछ
तिम्रो होस खुलाउनु नै तिम्रो छोराले दिने ठूलफ कोसेली हुनेछ
तिम्रो अहंकार मेटाउनु नै यो अहंकारीको एक सानदार कर्तव्य हुनेछ।
कमरेड अहंकारी।