पैसा बोल्छ यहाँ, मान्छे बोल्दैन
ढुंगाले बरु बुझ्दछ पीडा, मान्छेले बुझ्दैन।
गीताको कसम खाएर यहाँ, सत्य कोही बोल्दैन
सत्य निराश हुँदा पनि, मुटु कसैको पोल्दैन।
घृणा छ एकअर्कामा यहाँ, खुट्टा तान्ने बानी छ
जति नै राम्रो काम गरे पनि, भ्रष्टाचारीकै मनमानी छ।
बग्दछ पानी आँखाबाट, भित्री मन कालो छ
आजको दिनमा मान्छेलाई किन दानवता प्यारो छ?
आफन्त भन्ने मान्छे पनि, पराई भइदियो
रगत एउटै भएकाले पनि, आफन्त ठगिदियो।
पैसा कमाएर मान्छे आफूलाई, सर्वोपरी सोच्दछ
पापी र कलंकित भएपछि, मन्दिर गएर ढोग्दछ।
निष्ठुरी भएर मान्छे, आज मानवता हरायो
रामको देशमा आज, घर घर रावण करायो।
स्त्री जातिको इज्जत, आज किन भेटिँदैन
बलात्कारीको दानवता, आज किन मेटिँदैन?