डाक्टर र नर्सको स्याहारको इसारामा
जीवनको उकाली, ओराली
पाप, पुण्य अनि अभिमान
आइसोलेसनको बेडमा स्मरण गर्दै
केवल एक्लो महशुस र अनुभूतिमा पौडिएर
कोभिडलाई जित्न युद्धको मैदानमा उत्रिएकी म।
जीवन र मरणको परीक्षामा
नतिजाका सकारात्मक घण्टीको पर्खाइमा
सुन्दर कल्पनाका आशाहरु सजाउँदै
कोभिडले झरेका निर्दोश कोपिलाहरु
फुल्ने या ओइलने गन्तव्य नभएका
माहोल र भिडमा हराएकी म।
आफन्त, इष्टमित्र, बा-आमा भएपनि
विवशताले टाढा भएका थिए।
जीवनको अनमोलता र मृत्युको सत्यता
नजिकबाट दृष्टिगत गर्दै
रोगको पिँजडामा बाधिएकी चरी
खुला पंख फिजाइ उड्ने रहर भरेर
अधुरो सपना पूरा गर्ने अठोट लिएर
आशाका सुन्दर किरणहरु रोप्दै
जीवनको भरोसा चिकित्सकमा सुम्पिएर
विशाल कोभिड युद्धमा उभिएकी म।
कहिल्यै महशुस र अनुभूति नगरेको
देहका सीमातित पीडामा छट्पटिएर
फेरि निभेको दियो बल्नु थियो
जीवनको खुल्ला पानामा
सफलताका शब्दहरु कोर्न
आँट ,हौसला, साहस अनि
अस्पतालका जिउँदा भगवानको
आशीर्वाद र कृपाले
आज कोभिडको
विशाल युद्ध जितेको दिन।