कसरी सक्छस् कान नसुन्न, चित्कार सबैको सुन्दा पनि
तेरै कारण मृत शरीरको, खातमा खात बन्दा पनि
साँच्चै चेत छैन कि तँलाई, कात्रोमा खल्ती हुँदैन भनेर
कि सोच्छस ए भ्रष्टाचारी! जाँदिनँ कहिल्यै आफू मरेर
मानवको अपवाद त हैनस्, मर्न त अवश्य मर्छस्
के लिएर जान्छन् र कसले? बेकारमा कालो धन थुपार्छस्
देशमा कति होनहार योद्धा, अभावै अभावमा लडिराछन्
चसक्क पनि छुन्न है तँलाई, जो तेरै कारण मरिराछन्।
कत्रो पापी दुस्साहस तेरो, कोभिड भ्याक्सिनमा ठग्न खोज्ने
पूरा गरिस् कि नाइँ कुन्नि? सपना ठूलै गाँठ बोक्ने
आफ्ना जस्तै हुन सन्तान जनताका भन्ने फिटिक्कै लाग्दैन है?
मान्छे नमर्ने सहर हुँदैन भन्ने मनमा जाग्दैन है?
कस्तो घिनलाग्दो हर्कत तेरो, सत्तामा जान कुर्सी तानातान
मौका हेर्ने दिनरात अनि भ्रष्टाचारमा चौका हानाहान
चरमचुलीमा तेरो अत्याचार जता हेर्यो उतैतिर
बिरामी ट्याक्टरमै मर्दा, हेलिकप्टरमा नेता उम्मेदवारी भनेर
भोक माथि रोग थपिइ, दिनरात मर्दै गर्दा जनता
उदेकलाग्दो छ हर्कत तेरो, भ्रष्टाचारमा व्यस्तता
आमाको पाउमा ठेस लाग्दा, तेरो दिलमा घाउ लागेन?
थुइक्क तँलाई! एकरत्ति पनि मर्छु भन्ने लागेन?
साँच्चै बुझ्दैनस् कि, बुझेर नि बुझपचाउँछस तैंले
ए भ्रष्टाचारी! तेरो घैँटोमा घाम लाग्छ कैले
धिक्कार छ तेरो यस्तो जन्म अनि कर्मलाई
आफ्नै आमाका सन्तान रुवाई, कुल्चिने तिनको मर्मलाई
खै! के भनौं तँलाई, दानवरुपी हर्कत देखाइस्
कहिल्यै क्षम्य नहुने पाप गरी, नर्कबासमै नाम लेखाइस्
आशा छ तेरो जस्तै, कुबुद्धि सन्ततिमा सर्दैन
अब त भन्न ए भ्रष्टाचारी! तँलाई मर्न पर्दैन?